काठमाडौंबाहिर मुख्य सहरमा छुट्ने बसको टिकट अनलाइनबाट काट्न सकिने भए पनि बसपार्कमा भीड लागेको छ। विभिन्न वेबसाइट तथा एपबाट टिकट काट्न सकिने भए पनि यात्रुहरु लामो लाइन लाग्न बसपार्क पुगेका हुन्।
सोमबारबाट खुलेको अग्रिम टिकटका लागि काठमाडौंको नयाँ बसपार्कमा लामो लाइन लागेको छ। यात्रुहरुलाई हवाई यातायातमा जस्तो सबै गन्तव्यमा बसको टिकट अनलाइनबाट सहज रुपमा काट्न नमिल्ने हुनाले यात्रु बसपार्क पुगेका छन्।
यातायात व्यवसायीले मुख्य सहरमा जान अनलाइनबाटै टिकट काट्न सकिने बताएका छन्। देशकै सबैभन्दा ठूलो कम्पनी पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्ना अधिकांश बसमा अनलाइनबाटै काट्न सकिने व्यवस्था रहेको बताए। उनले ईसेवा सहित आफूहरुकै वेबसाइटबाट समेत टिकट काट्न सकिने उनको भनाइ छ।
‘काठमाडौंबाट गुल्मी, पाल्पा र अर्घाखाँची सिधै जाने टिकट पाउन मुस्किल होला,’ खरेलले भने, ‘बुटवललाई ट्रान्जिट बनाएर जान अनलाइनमा जतिपनि टिकट पाइन्छ।’
खरेलले पश्चिम नेपालका पहाडी जिल्लाबाट खाली गाडी काठमाडौं पठाउँदा ३० हजार घाटा लाग्ने बताउँदै बुटवललाई ट्रान्जिट बनाउँदा सहज हुने बताए। उनले बुटवलसम्म विभिन्न माध्यमबाट अनलाइन टिकट नै काट्न सकिने बताए।
काठमाडौंबाट मुख्य सहरमा जाने बसको टिकट अनलाइनमा पाइए पनि पहाडका सदरमुकाम र अन्य गन्तव्यमा पाउन अप्ठेरो छ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीले अनलाइन टिकटिङ पनि लिइरहेको बताए। उनले यात्रुलाई सकेसम्म अनलाइनबाट टिकट लिन आग्रह गरेका छन्।
‘२१ औँ शताब्दीमा लामो लाइन लागेर टिकट काट्नु पर्ने अवस्था लज्जाको विषय नै हो,’ सिटौलाले भने, ‘सरकारको कुनै नियम र मापदण्ड नहुँदा कुनबाट अनलाइन टिकट काट्ने, यात्रुमा अन्यौल छ।’
ईसेवा र बससेवाबाट लामो दुरीका बसको टिकट काट्न सहज छ। बस सेवाले केही हप्ताअघि भाइबरबाटै टिकट काट्न सकिने व्यवस्था गरेको थियो। बससेवा र राकुटेन भाइबरबीच भाइबरको च्याटबक्स मार्फत नेपालका कुनै पनि गन्तव्यमा बस टिकट काट्न सकिने सम्झौता भएको छ।
बस सेवाले पनि अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरेको छ। यात्रुले टिकट काट्न मोबाइल एप वा वेबसाइटमा गएर कहाँसम्म जाने र कहिले जाने अप्सन भर्नुपर्छ। बसको फोटो, सिट र मूल्य हेर्न सकिन्छ।
यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिएका छन्।
खनाल भन्छन्, ‘विगतका वर्षहरूको तुलनामा यस वर्ष सिट संख्या धेरै छ। बससेवामार्फत् अहिले दैनिक ४० हजारभन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ।’
बससेवासँग ३०० भन्दा बढी यातायात व्यवसायीका टिकट उपलब्ध छन्।
अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला गरेको छ। दसैँमा गएका यात्रुहरुले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बस सेवाले जनाएको छ।
ईसेवा र बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले इसेवा बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट बुकिङ गर्न सक्नेछन्।
यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले अहिले पूर्णरुपमा अनलाइनबाट टिकट काट्न सकिने अवस्था नरहेको बताए।
‘केही व्यवसायीले अनलाइनबाट पनि टिकट काटिरहनु भएको छ,’ पनेरुले भने, ‘हामीले अनलाइनबाटै टिकट काट्न आग्रह गरेका थियौं। तर सबैले काट्न सक्ने सिस्टम नभएको जवाफ आयो।’
सरकारले सहजीकरण मात्रै गर्ने भएकाले अनलाइन टिकटको व्यवस्था व्यवसायीले नै गर्नुपर्ने उनले बताए।
पहिलो दिन बसपार्कमा थेगिनसक्नु भीड
अग्रिम टिकट खुलेको पहिलो दिन बसपार्कमा बिहान ५ बजेदेखि नै यात्रुको भीड लागेको छ। देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका नागरिकलाई चाडपर्व मनाउन घर जाने गर्छन्।
घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुहरुको भीडभाड बढेको व्यवसायीले बताएका छन्।
‘पहिलो दिन भएर होला बसपार्कमा धेरै नै भीड छ,’ बस व्यवसायी सिटौलाले भने, ‘दोस्रो, तेस्रो दिनपछि कम हुँदै जाला।’
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीड बढी छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुलाई सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना हुने बताए।
‘अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यात्रु सहायता कक्षमार्फत यात्रु समस्या सम्बोधन गरिने छ।’
ल्होसे बहुउदेश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउन्टर थपगरी टिकट काटिरहेको छ।
Shares
प्रतिक्रिया