अर्थतन्त्र चलायमान हुन नसकको कारण गत वर्षदेखि नै व्यावसायिक क्षेत्रबाट उत्साह हराएको छ। उद्योगीहरूको छाता संगठनदेखि व्यापारीहरूका अन्य संघसंस्थाले समेत व्यावसायिक वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरिरहेकै छन्।
अर्थतन्त्र कमजोर भइरहेको छ भन्ने देखाउने अर्को सूचक भनेको बैंक तथा वित्तीय संस्थाको नाफा पनि हो।
बैंक तथा वित्तीय संस्थाको पछिल्लो तीन महिनाको आँकडाअनुसार, १२ वटा बैंकको नाफामा गिरावट आएको छ। ८ वटाको मात्रै गत वर्षको तुलनामा नाफा बढेको छ।
व्यापारिक र औद्योगिक क्षेत्रमा चहलपहल बढेको खण्डमा बैंकको नाफामा वृद्धि हुन्छ भने व्यापारिक र औद्यागिक क्षेत्र खुम्चिँदा बैंकको नाफा पनि स्वतः खुम्चिन्छ। यी सूचक र उद्योगी व्यवसायीहरूको भनाइले अर्थतन्त्र उकासिन नसकेको नै देखिन्छ।
तर, भन्सार विभाग र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समय आयात र रेमिट्यान्स वृद्धि भएको देखिएको छ।
नेपालको उत्पादन कमजोर बनिरहँदा वस्तु आयात बढ्नु राम्रो मानिँदैन। तर, अर्थमन्त्री प्रकाशशरण महत भने नेपालको अर्थतन्त्र फरक प्रकृतिको रहेकाले वस्तु आयात बढ्नु पनि सकारात्मक रहेको तर्क गर्छन्। व्यापार घाटा बढाउने गरी वैदेशिक व्यापार बढ्दा पनि अर्थतन्त्रमा राम्रै हुने उनको भनाइ छ।
गत हप्ता आर्थिक पत्रकारसँगको एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्र आयातमा निर्भर भएकाले आयात बढ्नु पनि सकारात्मक भन्ने तर्क गरेका थिए।
‘नेपालको अर्थतन्त्रमा वस्तु आयात नेपालको विकास निर्माण, आर्थिक गतिविधिसँग जोडिएको छ। आयात बढ्दा राजस्व संकलन बढाउन पनि सहयोग पुग्छ। यसरी आयातले अर्थतन्त्र चलायमान बनाउँछ,’ उनले भने, ‘तर, यो नै खुसी हुने विषय होइन। हामीले स्वदेशी उत्पादन बढाउन जोड दिनुपर्छ।’
गत साउददेखि असोजसम्मको तथ्यांक हेर्दा दुई सूचक आयात र रेमिट्यान्समा वृृद्धि देखाए पनि अब अर्थतन्त्र सबल भयो भनेर ढुक्क हुन नसकिने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्।
‘रेमिट्यान्स र आयात वृद्धि हुँदा किन्न खोज्नेले वस्तु किन्न पाएका छन् र वस्तु खपत बढेको भन्ने देखाउँछ,’ उनी भन्छन्, ‘यसले अस्थायी रुपमा अर्थतन्त्रलाई केही चालायमान बनाउला। तर अर्थतन्त्रको सूचक राम्रो भयो भन्न मिल्दैन।’
अर्थतन्त्रको सूचक राम्रो हुन त नेपालको वस्तु उत्पादन वृद्धि हुनुपर्ने उनको भनाइ छ।
‘सकेसम्म वस्तु निर्यात गराउनुपर्छ। त्यो पनि नसक्दा आयातीत वस्तुलाई प्रतिस्थापन गर्न सक्ने हुनुपर्छ। त्यसो गर्दा मात्रै अर्थतन्त्र राम्रो हुन थाल्यो भन्न मिल्छ,’ उनी भन्छन्।
अर्थतन्त्रको कुन सूचक कस्तो?
वैदेशिक व्यापार
गत वर्ष र चालू आर्थिक वर्षको तुलना गर्ने हो भने तीन महिनामा कुल वस्तु निर्यातमा २.३ प्रतिशतले कमी आएको छ। तीन महिनामा ४० अर्ब ८७ करोड मात्रै निर्यात भएको छ। तीन महिनामा कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई ४ खर्ब ७ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा १६.२ प्रतिशतले कमी आएको थियो।
रेमिट्यान्स
रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। चालू आवको तीन महिनासम्म आइपुग्दा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.८ प्रतिशतले बढेको थियो।
शोधनान्तर स्थिति
तीन महिनाको अवधिमा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति तीन महिना अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ।
विदेशी मुद्रा सञ्चिति
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ। यो विदेशी मुद्राले नेपालको वस्तु आयात अहिलेकै अनुपातमा हुने हो भने १ वर्षभन्दा बढीलाई धान्ने राष्ट्र बैंकको भनाइ छ।
मुद्रास्फीति
असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत छ। त्यसअघि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुद्रास्फीति ८.५० प्रतिशत थियो। असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ।
तीन महिनामा घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
Shares
प्रतिक्रिया