ad ad

कारोबार


सरकारले उखुको समर्थन मूल्य तत्काल तोक्नुपर्छ : सांसद विनोद चौधरी

सरकारले उखुको समर्थन मूल्य तत्काल तोक्नुपर्छ : सांसद विनोद चौधरी

नेपालखबर
पुस १, २०८० आइतबार १२:२४, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। 

सरकारले मूल्य तोक्न ढिलाई गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन्। 

‘नवलपरासी पश्चिमको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ सांसद चौधरीले भने, ‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसान अन्योल र मर्कामा परेका छन्।’

चौधरीले उखुको समर्थन मूल्य तोक्न ढिलाई हुँदा उद्योगले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको चौधरीको पत्रमा उल्लेख छ।

कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री बेदुराम भुसालको ध्यानाकर्षण गराएका छन्। उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान वापतको रकम पनि समयमै भुक्तानी गर्न मन्त्रीसँग माग गरेका छन्। 

सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदान वापतको रकम पाइसकेका छन्। कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएको भन्दै आन्दोलन गरिरहेका छन्। 

सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६१० रुपैयाँ तोकेको थियो। जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानवापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .