ad ad

कारोबार


मध्यपहाडी राजमार्गमा एमालेले देखेका समस्या, अझै ५० अर्ब लगानी गर्नुपर्ने

मध्यपहाडी राजमार्गमा एमालेले देखेका समस्या, अझै ५० अर्ब लगानी गर्नुपर्ने

वसन्त अर्याल
पुस ९, २०८० सोमबार ७:५, काठमाडौँ

नेकपा एमालेले पुष्पलाल (मध्यपहाडी) राजमार्गको सीमा अझैसम्म एकिन नभएको निष्कर्ष निकालेको छ। 

१८ दिने झुलाघाट–चिवाभञ्ज्याङ १८ सय ७९ किलोमिटर लामो समृद्धिका लागि संकल्प यात्रा (मंसिर १५ देखि पुस २) ले मध्यपहाडी राजमार्गको सिमाना स्पष्ट नभएको एमालेले जनाएको हो।

राजमार्गको ५ ठाउँमा अलाइन्मेन्ट विवाद रहेको एमालेले उल्लेख गरेको छ। प्रतिवेदनमा  किरिञ्चे–रातामाटा–मादी सडकको भोर्लेटार बजार १७०० मिटर ट्रयाक खुलाउन नसकिएको उल्लेख गरेको छ।

‘पौदिधिक–सुन्दरबजार–किरिञ्चे सडकको सुन्दरबजार २ किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण काम भएको छैन,’ एमालेको संक्षिप्त प्रतिवेदनमा भनिएको छ, ‘याम्दी–लामाचौर–कालीखोला पुल अम्लकोट–भैंसे सडकखण्ड ३८.५ किमिको सुरुमा याम्दी–लामाचौर २ किमिमा पनि विवाद छ। याम्दी–कालीखोला पुलसम्म ४ किमिमा जग्गा विवाद मिलेको छैन।’

सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी ०६४/६५ बाट आयोजना कार्यान्वयन थालिएको थियो। २०६५ चैतमा बसेको मन्त्रिपरिषद्को निर्णयबाट राजमार्गको रेखांकन स्वीकृत भएको थियो। तर त्यसले अझै पनि पूर्णता पाउन सकेको छैन।

सडक निर्माणको मुख्य समस्यामा जलाशययुक्त आयोजनाको प्रभाव, क्षतिपूर्ति र मुआब्जा विवाद, रुख कटान, युटीलिटी रिलोकेशन प्रक्रिया जटिल तथा झन्झटिलो हुनु रहेको प्रतिवेदनमा उल्लेख छ।

बागलुङ–बुर्तिबाङ सडकखण्ड १३ किमि, भेरी नदी पुलश्रोत सुनिश्चित नहुँदा ठेक्का व्यवस्थापन हुन नसक्ने, पंखु खोला पुलमा तोडिएका ठेक्काको पुन व्यवस्थापन हुनुपर्ने चुनौती रहेको एमालेले जनाएको छ। 

‘ठेक्का तोडिए पनि अदालतबाट यथास्थिमा राख्नु भन्ने आदेशका कारण स्थिति अन्योलपूर्ण छ,’ एमालेले भनेको छ, ‘तमोर– संक्रान्ति–म्यागलुङ सडकखण्ड ६६ किमिदेखि ८३ किमि ३ वटा प्याकेज, भोजपुर–दिक्तेल सडक ४० किमिदेखि ५० किमि १ वटा प्याकेजका काम रोकिएका छन्।’

त्यस्तै निबेल–नयाँ साँघु–पालुङ्टार सडकखण्डमा रुख कटानलाई कारण देखाएर निर्माण व्यवसायीले काम नगरेको एमालेले जनाएको छ।

लागत ३३ बाट ८४ अर्ब, भौतिक प्रगति ७२ प्रतिशत
मध्यपहाडमा २६ जिल्लाका २१५ बस्तीह जोड्दै निर्माण हुने राजमार्गले करिब १ करोड प्रत्यक्ष लाभान्वित हुने सरकारको विश्वास छ।  

आयोजनालाई आर्थिक वर्ष ०६७/६८ देखि २ खण्डमा विभाजन गरी मध्यपहाडी पूर्वखण्ड  करिब ७२१ किमि र पश्चिमखण्ड करिब ११५८ किमि गरी २ वटा आयोजनाबाट निर्माण भइरहेको छ।

आर्थिक वर्ष २०७५/७६ देखि मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत पाँचवटा योजना कार्यालयहरु (पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेख) बाट निर्माण भइरहेको छ। 

आयोजना सुरु हुँदा २०७३/७४ मा निर्माण सम्पन्न हुने लक्ष्य थियो। अहिले २०८४/८५ सम्म थप गर्ने प्रस्ताव गरिएको छ। सुरु लागत अनुमान ३३ अर्ब ३६ करोडबाट संशोधित अनुमान ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। 

अहिलेसम्म यो राजमार्गको भौतिक प्रगति ७२ प्रतिशत भएको छ। जसमा १४ सय २ किलोमिटर कालोपत्रे भएको छ। वित्तीय प्रगति ७६.८ छ। मोबिलाइजेशन पेश्कीसमेत हालसम्मको खर्च ६४ अर्ब ७६ करोड पुगेको छ। आयोजना सम्पन्न गर्न थप ५० अर्ब लाग्ने एमालेले उल्लेख गरेको छ। 

यस्तोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी राजमार्ग ‘बैंसमा दाँत फुक्लिएको’ जस्तो देखिएको टिप्पणी गरेका छन्। 

ओलीले मध्यपहाडी राजमार्गसँग जोडिएका पूर्वाधार राम्रो हुनुपर्ने बताए।

‘मध्यपाहाडी राजमार्ग निर्माणसँग जोडिएका सबै कुरा राम्रो हुनुपर्छ। मध्यपहाडी भेगको जीवन र जवानी अहिले बैंसमा दाँत फुक्लिएको जस्तो भएको छ,’ ओलीले भने, ‘त्यसलाई जोगाउने हो भने विकासका पूर्वाधार तयार गर्नेदेखि लिएर त्यहाँ हार्डवेयर बनाउने काम गर्नुपर्छ।’

एमालेले मध्यपाहाडी राजमार्ग तयार हुँदा पाहाडमा उत्पादित वस्तुको बजारीकरण भएर जनताको जीवनस्तर माथि उठ्ने, प्रमुख सहरसँग पहुँच बढेर शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पनि पुग्ने उल्लेख गरेको छ। 

यातायातको पहुँच र स्तर वृद्धि भएर पहाडी भेगमा जीवनयापन सहज हुने विश्वास एमालेको छ। यस्तो हुँदा पहाडी भेगबाट भइरहेको बसाइँसराइ घटेर तराई क्षेत्रको प्राकृतिक स्रोतमाथि परेको चापमा कम हुने, अव्यवस्थित सहरीकरण नियन्त्रण हुने र वातावरण संरक्षणमा योगदान पुग्ने निष्कर्ष एमालेले निकालेको छ। 

मध्यपहाडको विकासले भौगोलिक रुपमा जनसंख्याको वितरणमा समानता कायम हुने तथा अनियन्त्रित बसाइँसराइ पनि कम हुने निष्कर्ष एमालेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .