ad ad

कारोबार


सवारी साधन ‘रिएक्सपोर्ट’ को व्यवस्था मिलाइदिन अर्थमन्त्रीसँग नाडाका प्रतिनिधिको आग्रह

सवारी साधन ‘रिएक्सपोर्ट’ को व्यवस्था मिलाइदिन अर्थमन्त्रीसँग नाडाका प्रतिनिधिको आग्रह

नेपालखबर
पुस १२, २०८० बिहिबार २०:२०, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ।

बिहीबार अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको टोलीले भन्सार विन्दुबाट सामान छुटाउन मिल्ने समयावधि थपका लागि आग्रह गरेको सचिव महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए।

छलफलमा अध्यक्ष थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरू भन्सार विन्दुबाट छुटाउने सम्बन्धमा भन्सार विभागले मंसिर १० मा सार्वजनिक सूचना जारी गर्दै सवारी तथा ढुवानीका साधनहरूसमेत छुटाउन समयावधी तोकेको स्मरण गराए।

उनले भन्सारमा रहेका सबै सामानहरू एकै प्रकृतिका नहुने भन्दै विशेषत सवारी तथा ढुवानीका साधनहरूको आयु अवधि लामो हुने हुँदा अन्य सामान सरह एकै प्रकारको व्यवहार गरिनु न्यायोचित नहुने धारणा राखे।
    
छलफलका क्रममा अध्यक्ष थापाले हालको विषम परिस्थितीमा सवारी साधनको बजार माग अति न्यून हुँदा हुँदै पनि सवारी साधन व्यवसायीहरूले क्रमिक रुपमा छुटाउँदै आएको र हालैको ६ महिना भित्रै पनि करीब १६०० सवारी तथा ढुवानीका साधनहरू भन्सार जाँचपास गराइ सकिएको जानकारी दिए।

हाल परिस्थिति जटिल रहेको अवस्थामा समेत व्यवसायीहरूले पार्किङ्ग शूल्क बापत करोडौं रकम तिरी नै रहेको, उत्पादक कम्पनी र आधिकारिक विक्रेताको सम्झौता बमोजिम सवारी साधनहरू उत्पादन गर्न कयौं महिना पुर्व आदेश दिनु पर्ने, सम्झौता बमोजिम सम्झौता अवधिभित्र लिन कबुल गरेको सँख्यामा सवारी साधनहरू लिनै पर्नेे अवस्था रहेको र सवारी साधनका आधिकारीक पैठारीकर्ताहरूले सवारी साधन आयात गर्नै पर्ने बाध्यतात्मक अवस्थामा रहेको बताए।

पैठारीकर्ताहरूले कार्य योजना बनाई क्रमिक रुपमा भन्सार जाँचपास गराउने कार्य गर्दै आइरहेका हुँदा कम्तीमा चालु आर्थिक वर्षको अन्त्यसम्मको लागि भन्सारमा आइसकेका सवारी तथा ढुवानीका साधनहरू भन्सार विन्दुबाट सामान छुटाउन मिल्ने गरी समयावधि थपका लागि आग्रह समेत गरे।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बिक्री हुन नसकी भन्सार विन्दुहरूमा रहेका ती सवारी तथा ढुवानीका साधनहरूलाई कुनै पनि मुलुकमा रिएक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनले पनि गरेको र सो सम्बन्धी प्रावधान समेत रहेको तर सो को कार्यान्वयन भने नभएको भन्दै ती सवारी तथा ढुवानीका साधनहरू रिएक्सपोर्ट गर्नका लागि विद्यमान कानूनी व्यवधानलाई सहजीकरण समेत गरिदिन आग्रह गरे।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपाल मै उत्पादन हुने सबै किसिमका व्याट्रीहरू निर्यात गर्दा अन्य निर्यात बस्तुहरूले पाउने सरहको छुट पाउने व्यवस्थाका लागि अनुरोध गर्दै नेपालमा उत्पादित ब्याट्रीहरूलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्थाका लागि समेत आग्रह गरे।

त्यस्तै नाडाका सचिव विक्रम सिंहानियाले पनि नेपालमा उत्पादित टायर निर्यात गर्दा पनि सोही किसिमको व्यवस्थाका लागि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .