उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ।
यशोदा फुड्सले ट्रेडमार्क नक्कल गरेको भन्दै वाईवाई उत्पादक कम्पनी सीजी फुड्स उक्त कार्य तत्काल रोक्न माग गर्दै अदालत गएको थियो।
उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो।
करेन्ट चाउचाउले लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाई जस्तै देखिने र्यापर प्रयोग गरि उपभोक्तालाई भ्रममा पार्ने काम गरेको सीजी फुड्सको आरोप छ।
चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको आरोप लगाएको छ।
यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको जनाएको छ। अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ।
अदालतको यस आदेशले वाईवाईको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ। यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ।
Shares
प्रतिक्रिया