ad ad

कारोबार


उच्च प्रतिफल दिने छवि बनाएको नबिल बैंक, यसकारण अझै अग्रस्थानमा

उच्च प्रतिफल दिने छवि बनाएको नबिल बैंक, यसकारण अझै अग्रस्थानमा

नेपालखबर
पुस १३, २०८० शुक्रबार १८:१३, काठमाडौँ

नबिल बैंकको बिहीबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्यो। 

अन्य केही बैंकहरुको तुलनामा थोरैजस्तो देखिए पनि औसतमा भने नबिल बैंकको लाभांश दर अन्य वाणिज्य बैंकसरहमै पर्न आउँछ। 

त्यसो त यसपटक बैंकले उक्त लाभांश प्रस्ताव गर्दा नै ‘नबिल बैंकको नै ११ प्रतिशत मात्रै प्रतिफल’ नभनेका होइनन्। नबिले अहिले दिन लागेको ११ प्रतिशत नगद लाभांश हो। 

गत आव २०७९/०८० मा बैंकले ६ अर्ब ४० करोड मुनाफा गरेकोमा त्यसमा निस्किएको वितरणयोग्य नाफाबाट लाभांश बाँड्न लागिएको हो। 
लाभांश भनेको आफूले कमाएको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई निश्चित प्रतिशत सेयर र निश्चित रकम नगदै बाँड्ने हो। 

धेरै लाभांश बाँड्नलाई बैंकले सोहीअनुसार व्यावसायिक सफलता हासिल गरेको हुनुपर्छ। त्यही सफलतालाई धेरै लाभांश वितरणमा देखिन्छ।

यो वर्षबाहेकलाई हेर्ने हो भने नबिलले वाणिज्य बैंकहरुमा सबैभन्दा उच्च प्रतिफल दिने बैंकको छवि बनाएको छ। 

साढे २७ अर्ब पुग्यो चुक्ता पुँजी  
आर्थिक वर्ष २०७७/०७८ मा बैंकको साधारणसभाले एक्विजिसन र मर्जरलाई खुल्ला गर्यो। नत्रभने एक्विजिसन र मर्जरको कुरा कहिल्यै पनि वार्षिक साधारणसभामा उठेको थिएन। 

एक्विजिसन र मर्जर खुल्ला भएसँगै युनाइटेड फाइनान्सलाई बैंकले एक्विजिसन गरेको थियो। त्यसका साथै एक वणिज्य बैंकलाई समेत गाभ्यो। नेपाल बंगलादेश बैंकलाई गत वर्षको असारमा गाभ्ने निर्णय गर्यो। त्यो काम अघिल्लो आर्थिक वर्षमा नै सम्पन्न गरेको थियो। यसरी बैंकको अहिले चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ। 

बैंकको क्षमता अब निकै ठूलो भइसकेको छ। सुरुदेखि नै सबै भन्दा ठूलो र राम्रो बैंकको उपमा पाएको बैंक अहिले पनि त्यही पहिचान राख्न सफल भएको छ।

राष्ट्र बैंकले चिरञ्जीवी नेपाल गभर्नर हुँदा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब हुनुपर्ने नीति ल्याएको थियो। सोहीअनुसार सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजी बढाए तर नबिल बैंकले राइट सेयर नै जारी नगरी अधिक चुक्ता पुँजी पुर्‍याएको थियो। त्यो अहिले पनि कायम छ। यसमा बैंकले निरन्तर पस्किएको उत्कृष्ट प्रस्तुतिलाई श्रेय जान्छ। 

उच्च प्रतिफल दिने छवि 
आव २०७३/०७४ मा भने बैंकले ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी कुल ४८ प्रतिशत लाभांश बाँडेको थियो। आव २०७४/०७५ मा पनि बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत नै लाभांश दिएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश समावेश थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा आर्जन गरेको नाफाबाट ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो। २०७७/०७८ मा बैंकले गत ३३ दशमलव ६० प्रतिशत बोनस सेयर तथा ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७८/०७९ बाट नबिल बैंकले ३० प्रतिशत लाभांश दिएको थियो। सेयरधनीलाई चुक्ता पुँजीको १८ दशमलव ५ प्रतिशत बोनस सेयर र ११ दशमलव ५ प्रतिशत नगद दिएको थियो भने गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो। 

७ वर्षको प्रतिफल वितरणलाई हेर्दा नबिल बैंक नम्बर एक बैंक नै हो। यति  प्रतिफल दिने बैंक तथा वित्तीय संस्था नेपालमा अहिलेसम्म छैन। 
यो वर्षको पनि लाभांश वितरण हेर्ने हो भने नबिल बैंकको अन्य बैंकको तुलनामा मध्यम प्रतिफल हो। 

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल विगतका वर्षहरूमा बाँडफाँट गरेको नगद लाभांशका साथै बजार पुँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापनाकालको चुक्ता पुँजी हालसम्म आउँदा ९६० गुणाले वृद्धि भएको बताउँछन्।

हुन पनि विगत ७ वर्षको तुलना गर्ने हो भने त नबिल बैंकको दाँजोमा कुनै पनि बैंक आउन नसक्ने तथ्याङ्क आफैँले प्रस्ट्याएको छ। 

अर्थतन्त्र हेरेर अघि बढ्दै छौँ : अध्यक्ष पौड्याल 
वाणिज्य बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको यस बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिँदै आएको छ। बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताए।  

उनले भने, ‘देशको अर्थतन्त्रको पछिल्लो परिदृश्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ।’

बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै अघि बढिरहेको छ। नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।

बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .