ad ad

कारोबार


विद्युत् बक्यौता ६० किस्तासम्म तिर्न पाउने, पहिलो किस्ता तिरेपछि हिमाल आइरनको लाइन जोडियो

विद्युत् बक्यौता ६० किस्तासम्म तिर्न पाउने, पहिलो किस्ता तिरेपछि हिमाल आइरनको लाइन जोडियो

नेपालखबर
पुस १६, २०८० सोमबार २२:३९, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्नेलाई छूट बिलिङ गरिएको विद्युत् खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई चचिलो बनाएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छूट बिल जारी गरिएको हो, त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए। 

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति  हुने डेडिकेटेड फिडर र ट्रंकलाइन (एक सबस्टेसनबाट अर्को सबस्टेसन जोड्ने लाइन) बाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत् महशुल भुक्तानीका लागि पटकपटक ताकेता गरिएको थियो। सार्वजनिक सूचनामार्फत् पनि अनुरोध गरिएको थियो। 

उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि प्राधिकरणले विद्युत्  वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम पुस ६ गतेबाट विद्युत् लाइन विच्छेद गर्न सुरु गरेको थियो। 

आम उपभोक्ताले विगतमा दैनिक रुपमा १८ घण्टासम्मको लोडसेडिङ बेहोरिरहेका बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत् २० घण्टाभन्दा बढी उपभोग गरेका थिए।

२३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंकलाइन वापतको प्रिमियमसहितको विद्युत् महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।

डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत्् उपभोग गरेको कुल ६१ उपभोक्ताको गत मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ छ। यसमध्ये ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत्् लाइन काटिएको छ। बक्यौता रहेका अन्य उद्योगको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको छ। 

हिमाल आइरनले तिरेपछि जोडियो जोडियो
बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेवापत् गरिएको छूट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ।

८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमबार पहिलो किस्तावापत् २७ लाख १० हजार रुपैयाँ बुझाएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार राति सवा ९ बजे विद्युत्् लाइन जोडिएको बताए। प्राधिकरणले उद्योगको लाइन शुक्रबार काटेको थियो। उद्योगले ३६ किस्तामा बक्यौता तिर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .