ad ad

कारोबार


यस वर्ष नेपालमा फल्यो इतिहासकै सबैभन्दा धेरै धान, यस्तो छ तथ्यांक

यस वर्ष नेपालमा फल्यो इतिहासकै सबैभन्दा धेरै धान, यस्तो छ तथ्यांक

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८० सोमबार ९:३२, काठमाडौँ

नेपालमा यो वर्ष हालसम्मकै धेरै धान उत्पादन भएको छ। 

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै धान फलेको हो।

यस वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ।

यसअघि २०७७/७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो। 

यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम हुँदा पनि उत्पादन भने बढेकाे मन्त्रालयले जनाएको छ। कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टरले घटेपनि उत्पादन भने ४ दशमलव ९७ प्रतिशतले बढेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए। 

‘गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धानको कुल उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ,’ रेग्मीले भने, ‘यसपालिको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो।’

तथ्यांकअनुसार यस वर्ष सबभन्दा धेरै धान कोशी प्रदेशमा उत्पादन भएको छ। त्यस्तै सबभन्दा कम कर्णालीमा भएको मन्त्रालयले जनाएको छ।  कोशीपछि मधेस प्रदेशमा धेरै धान फलेको छ। 

कोशीमा सय वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन हुँदा मधेशमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ। सबैभन्दा कम धान फलेको कर्णालीमा यस वर्ष एक लाख ४५ हजार ६३ मेट्रिक टन मात्रै उत्पादन भएको छ।

त्यसैगरी बागमती प्रदेशमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ धान उत्पादन भएको छ। 

उत्पादकत्वको दृष्टिले यो वर्ष कोशी प्रदेश सबभन्दा अगाडि छ। कोशीमा यसपालि एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको छ।  सबभन्दा कम उत्पादकत्व भने मधेस प्रदेशमा देखिएको छ। मधेशमा एक हेक्टर जग्गामा औसत ३.४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ।

मन्त्रालयका अनुसार चालु वर्षमा धानको उत्पादन र उत्पादकत्व बढ्नुमा उन्नत जातको बिउको प्रयोग प्रमुख कारण भएको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

उन्नत बिउको उपलब्धता, रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा कम नोक्सानी, मलखाद र कृषि औजारको सहज उपब्धतालगायतका कारणले धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .