नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट उद्योगहरुले प्रयोग गरेको बिजुलीको बक्यौता शुल्क उठाउन अडान लिएपछि उद्योगीले नयाँ जुक्ति निकाल्न थालेका छन्।
विवाद लम्बिँदै जाँदा प्राधिकरणले धमाधम उद्योगहरुको लाइन काट्न थालेपछि उनीहरुले प्राधिकरणविरुद्ध मजदुरलाई आन्दोलित बनाएका हुन्।
उदाहरणका लागि अहिले लाइन काटिएका धागो उद्योगका सबै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।
नेपाल धागो उत्पादक संघका अनुसार अहिलेसम्म त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज र रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन प्राधिकरणले काटेको छ।
प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म रिलायन्सको बक्यौता १ अर्ब ९४ करोड र त्रिवेणी सिन्थेटिककको १५ करोड ६५ लाख रुपैयाँ बक्यौता छ।
यी दुई उद्योगका सबै उद्योगीहरु अहिले आन्दोलनमा गएको संघले दाबी गरेको छ।
संघका अनुसार नेपालका स्पिनिङ्ग मिलमध्ये दुई स्पिनिङ मिल्सको विद्युतको लाइन काट्दा उद्योगमा कार्यरत मजदुरहरूको दैनिक रोजीरोटी खोसिएको छ।
आफू कार्यरत उद्योगमा सरकारले बिजुलीको लाइन काटिदिएर उद्योग बन्द हुँदा अहिले आन्दोलन भइरहेको संघको भनाइ छ।
‘रोजगारदाता र नेपाल विद्युत् प्राधिकरणको द्वन्द्वका कारण श्रमिकको रोजगारीलाई असर गर्न पाइँदैन भन्दै तत्काल श्रमिकको रोजगारीको ग्यारेन्टी गर्न मजदुरहरुले माग गरेका छन्’, संघले विज्ञप्तिमा भनेको छ, ‘उद्योग बन्द हुँदा उद्योगमा कार्यरत श्रमिक आन्दोलनमा उत्रिन सरकारले बाध्य बनाएको भन्दै तत्काल उद्योग सञ्चालन गर्ने बैठक तथा छलफलमा जुट्न नेपाल धागो उत्पादक संघ जोडदार माग गर्दछ।’
धागो उत्पादक संघ उद्योगीहरुको छाता संस्था हो।
Shares
प्रतिक्रिया