लघुवित्तका ऋणीले बढीमा तीन संस्थाबाट कर्जा (ऋण) लिन पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले हालको एक व्यक्तिले एक लघुवित्त संस्थाबाट ऋण लिन पाउने व्यवस्था संशोधन गर्नलागेको हो।
हाल लघुवित्तका ऋणीले एउटा संस्थाबाट मात्रै ऋण लिन पाउँछन्।
एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिएको देखिएपछि गत फागुनमा राष्ट्र बैंकले बहुकर्जा कारोबार रोकेको थियो।
तर त्यसको असर लघुवित्तमा देखिन थाल्यो। लगानी खुम्चियो। धेरै संस्थाबाट कर्जा लिएर व्यवसाय मिलान गरिरहेका ऋणीले दोस्रो संस्थाबाट ऋण लिन नपाउँदा ‘रिकभरी’को समस्या देखियो। अन्ततः यसले ती संस्थाहरुमा प्रोभिजन थपिँदै गयो।
चालू आवको असोज मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ३४ अर्ब लगानी गरेका छन्। गत वर्ष सोही अवधिमा लघुवित्तहरुले ४ खर्ब ५७ अर्ब रुपैयाँ लगानी गरेका थिए।
गत वर्षको तुलनामा लघुवित्तको लगानी २३ अर्बले खुम्चिएको छ।
२०७९ फागुनअघि एउटै व्यक्तिलाई धेरै संस्थाबाट प्रवाह भएको कर्जाको हकमा साबिकबमोजिमको भुक्तानी तालिकाअनुसार कर्जा चुक्ता गर्न राष्ट्र बैंकले छुट दिएको थियो।
तर साबिकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमाभन्दा बढी प्रवाह भएको कर्जा रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।
यसले कर्जा उठौतीमा समस्या पर्न गई लघुवित्तको खराब कर्जा उच्च देखिँदा अधिकांश लघुवित्त नोक्सानीमा देखिएका छन्।
लघुवित्तको व्यावहारिक समस्या टार्न बहुकर्जा : राष्ट्र बैंक
एक व्यक्ति एक संस्थाको नीतिले लघुवित्तको सम्रग लगानी खुम्चिँदै जाँदा अब तीन वटासम्म संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिन लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।
धेरै वटा संस्थाबाट ऋण लिएर व्यवहार मिलाइरहेका ऋणीलाई एक व्यक्ति एक संस्थाको नीतिले अप्ठ्यारो पारेको महसुस गरेको उनको भनाइ छ।
‘एक ग्राहक एक संस्थाको नीतिले एकातिर रिकभरी समस्या बढायो। अर्काे लगानी समेत खुम्चिरहेको छ’, ती अधिकारीले नेपालखबरसँग भने, ‘ऋणीलाई विकल्प समेत भएन। जसले गर्दा केही व्यावहारिक समस्या देखिए।’
कुनै संस्थाले राम्रो सेवा सुविधा दिएन भने पनि ऋणीले त्यसमै निर्भर रहनुपर्ने बाध्यतात्मक अवस्था व्यावहारिक समस्या देखिएपछि बहुकर्जाको व्यवस्था आवश्यक देखिएको उनको भनाइ छ।
तर, पहिलेजस्तो एकै व्यक्तिले २०÷२२ संस्थाबाट ऋण लिन भने नपाउने ती अधिकारीको भनाइ छ।
‘एक व्यक्तिलाई बढीमा दुई वा तीन संस्थाबाट मात्रै कर्जा लिन पाउने व्यवस्था गरिनेछ’, उनले भने, ‘एकल ग्राहक कर्जाको सीमा ७ लाख हो। एक व्यक्तिले एक संस्थाबाट २ लाख ऋण लिएको छ। उसले अर्को संस्थाबाट ४ लाख गरी ७ लाखसम्मको सीमासम्म कर्जा लिन सक्नेछ।’
सीमा नाघ्ने गरी भने ऋण दिन नपाउने व्यवस्था गरिने ती अधिकारीले बताए।
हाल विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिसमूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा पाउँछन्।
त्यसैगरी, विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यले भने ७ लाखसम्म कर्जा पाउँछन्।
माग भए पनि कर्जा दिन सकिएन : सीईओ यादव
ऋणीले एकभन्दा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्थाले माग भए पनि कर्जा दिन नसकिएको नेसनल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामबहादुर यादव बताउँछन्।
एकातिर रिकभरीको समस्या हुँदा अर्कोतिर प्रोभिजन बढेर अधिकांश लघुवित्त नोक्सानीमा रहेको यादव बताउँछन्।
‘एनपीएल (निष्क्रिय कर्जा) दोहोरो अंकमा पुग्ने अवस्था छ। ऋणीले एकभन्दा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्थाले केही समस्या बढेको हो’, उनले भने, ‘ऋणीले ७ लाखसम्म ऋण लिन पाउँछ। तर, कुनै ऋणीले एक संस्था १ लाख कर्जा लिएको छ भने उसले अर्को संस्थाबाट ऋण पाउँदैन। सोही लघुवित्तले उसलाई कर्जा दिएन भने ऊ मर्कामा पर्छ।’
ग्राहकलाई उसको सीमासम्म दुई वा तीन संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिए कर्जा माग बढ्न गई ऋणीलाई विकल्प समेत हुने यादव बताउँछन्।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल एउटा संस्था एउटा ग्राहकको नीतिमा केही व्यावहारिक समस्या रहेको हुँदा यसलाई केही खुकुलो बनाइने बताउँछन्।
‘एउटा संस्था एउटा ग्राहकको नीतिले ऋणीलाई अप्ठ्यारो परेको महसुस गरेका छौँ’, उनले भने, ‘ग्राहकलाई ऋण लिने विकल्प होस् र संस्थाहरुले मनोपलि नगरुन भन्नेर केही आउँछ।’
Shares
प्रतिक्रिया