ad ad

कारोबार


साढे ४ प्रतिशतले बढ्यो निजी क्षेत्रमा जाने कर्जा, निर्माण क्षेत्रमा सबैभन्दा बढी

साढे ४ प्रतिशतले बढ्यो निजी क्षेत्रमा जाने कर्जा, निर्माण क्षेत्रमा सबैभन्दा बढी

नेपालखबर
पुस २६, २०८० बिहिबार १८:५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ४.५ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालू आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको हो। 

पछिल्लो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब १० अर्ब ६ करोड कर्जा निजी क्षेत्रमा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३० करोड (१.६ प्रतिशत) ले बढेको थियो। 

२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको ३६.९ प्रतिशत रहेको छ। 

मंसिरसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको २.२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.७ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

२०७९ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ।

तर चालू आवको पाँच महिनामा सम्रग क्षेत्रमा जाने कर्जा बढ्दा पनि कृषि क्षेत्रतर्फ जाने कर्जा घटेको छ। कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .