चौथो पुस्ताको निसान एक्स–ट्रेल नेपाली अटोबजारमा भर्खरै प्रवेश गरेको छ।
कम्पनीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ल्याएको एक्स–ट्रेल हाइब्रिड गाडीमध्ये उन्नत संस्करण हो। त्यसो त कम्पनीले नै यसको ब्रान्डिङ ‘इ–पावर’ले गरेको छ।
एक्स–ट्रेल इ–पावर प्रविधिमा बनाइएको गाडी हो। यसका पांग्राहरु इलेक्ट्रिक मोटरबाट नै गुड्छन्। अर्थात् एक्स–ट्रेल इपावरयुक्त इन्जिन भएको इ–फोर्स फोरह्विलर हो। यसमा लिथियम आयन ब्याट्री छ। जसको चार्ज गाडी गुड्दा आफैँ हुन्छ।
यसमा १.५ लिटरको टर्बो इन्जिन छ भने ३ वटा सिलिन्डर छन्। पेट्रोल इन्जिनले गाडीमा रहेको ब्याट्री चार्ज गर्न मद्दत पु¥याउँछ। यसका लागि प्लग इन गर्नुपर्दैन अर्थात् तार जोड्नुपर्दैैन। गाडीको इन्धन ट्यांकी ५५ लिटर क्षमताको छ।
अरु हाइब्रिडभन्दा फरक, १८ किमि माइलेज
बजारमा उपलब्ध अधिकांश हाइब्रिड गाडीमा निश्चित किमि र गतिसम्म मात्र ब्याट्रीबाट चल्छ भने त्यसपछि पेट्रोलबाट चल्छन्।
निसानको एक्स–ट्रेल पूर्णरुपमै ब्याट्रीबाट चल्छ। यसलाई एसी वा डीसी चार्ज पनि गर्नुपर्दैन। गुड्दा पेट्रोल खर्चेर आफैँ चार्ज हुन्छ।
सामान्य अवस्थाको एक्स–ट्रेल एक लिटर पेट्रोलले ७–८ किलोमिटर माइलेज दिनेमा १८ किमिसम्म माइलेज दिन्छ। ईपावर एक्स–ट्रेल चौथो जेनेरेसनको मोडल हो। यसलाई भविष्यको हाइब्रिड टेक्नोलोजीको रुपमा हेरिएको छ।
‘नयाँ एक्स–ट्रेल ईपावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ गाडी हो’, पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीप सारडा भन्छन्, ‘एक्स–ट्रेल ईपावर भएको ठूलो, आरामदायी र बहुउपयोगी एसयूभी चाहनेका लागि उत्कृष्ट मोडल हो।’
एक्स–ट्रेल सुरुमा सन् २००१ मा बजारमा आएको थियो। हाल यो विश्वभर ७० लाखभन्दा बढी बिक्री भइसकेको छ। पहिलेको एक्स–ट्रेल पेट्रोलबाट चल्थ्यो भने त्यसमा २ हजार सीसीको इन्जिन हुन्थ्यो। अहिले बजारमा आएको एक्स–ट्रेल भने चौथो पुस्ताको हो।
७.२ सेकेन्डमै सय किमिको गति
चौथो पुस्ताको एक्स–ट्रेलले शून्यबाट ७.२ सेकेन्डमै १०० किलोमिटरको गति दिने कम्पनीको दाबी छ।
गाडीले १५७ किलोवाट अधिकतम पावर र २५० एनएमसम्म टर्क जेनेरेट गर्छ। गाडीमा सात जनाको सिट क्षमता रहेको छ। ८ इन्च टचस्क्रिन डिस्प्ले भएको एप्पल कारप्ले र एन्ड्रोइड अटोले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिन्छ।
निसान एक्स–ट्रेलमा आकर्षक एक्सटेरियर (बाहिरी) र इन्टेरियर (भित्री) डिजाइन, परिष्कृत सुरक्षा सुविधायुक्त फिचर छन्। गाडीमा सन रुफ÷मुन रुफ छ।
‘इन्टेलिजेन्ट फोरह्विल ड्राइभ’, स्वचालित प्रणाली
गाडीमा इन्टेलिजेन्ट फोरह्विल ड्राइभ छ। पहिलेका एक्स–ट्रेलमा अफरोडमा आफैँले फोरह्विल लगाउनुपर्नेमा नयाँ मोडलमा बाटोको अवस्थाअनुसार गाडी स्वतः फोरह्विल ड्राइभमा जाने सुविधा छ।
एक्स–ट्रेलमा फ्रन्ट (अगाडि) र ब्याक (पछाडि) ह्विलमा मोटर राखिएको छ। अगाडिका चक्का गुडाउन अगाडिकै र पछाडिको लागि पछाडिकै मोटरले काम गर्छ। गाडीमा स्वचालित ड्राइभ प्रणाली छ।
२ हजार ७०५ एमएम ह्विलबेस भएको गाडीको लम्बाइ ४ हजार ६८० एमएम, चौडाइ १ हजार ८४० एमएम र उचाइ १ हजार ७२५ एमएम छ।
गाडीको कुल तौल २ हजार ३ सय ८० किलो छ भने कर्ब वेट म्याक्स १७९२–१८१३ तथा १८७०–१९५४ किलो छ। यसको माथिको लोड क्षमता १०० किलो छ।
२२० एमएमको ग्राउन्ड क्लियरेन्स, भरपर्दो सुरक्षा
कम्पनीका अनुसार यसमा २२० एमएमको ग्राउन्ड क्लियरन्स छ। पुरानो एक्स–ट्रेलमा टायरको आकार बढ्दा ग्राउन्ड क्लियरेन्स पनि बढेको छ।
गाडीमा ड्राइभिङ कम्फर्टको लागि नयाँ प्रविधिको रुपमा ई फोर्स टेक्नोलोजी छ। गाडीको ब्रेक लगाउँदा चारवटै चक्कामा बराबर बाँडिन्छ। जसले ब्रेक लगाउँदा मानिस हुत्तिने सम्भावना कम हुन्छ।
एक्स–ट्रेलको सेफ्टी फिचर्समा ६ एयर ब्याग, भीडीसी कन्ट्रोल, हिल्स असिस्ट, डाइनामिक कन्ट्रोल सिस्टम लगायत छन्। नेपालमा १ करोड ८७ लाख रुपैयाँ सुरुवाती मूल्य तोकिएको गाडी ह्वाइट, ग्रे र सिल्भर रंगमा उपलब्ध छन्।
भिडिओ/ तस्बिर: सरोज बैजू
प्रतिक्रिया