ad ad

कारोबार


लय समात्दै सेयरबजार, सातामा पौने २५ अर्बको कारोबार

मुक्तिनाथ कृषिसहित ७ कम्पनीको सेयरमा लगानीकर्ताको चाख
लय समात्दै सेयरबजार, सातामा पौने २५ अर्बको कारोबार

नेपालखबर
पुस २८, २०८० शनिबार ७:४६, काठमाडौँ

यस साता नेप्से परिसूचकमा ३९.७१ अंकको वृद्धि भएको छ। गत साता २०४९.२८ विन्दुमा बन्द भएको बजार यो साता ३९.७१ अंकले बढेर २०८८.९९ विन्दुमा पुगेको हो। यो साता पाँच दिन नै कारोबार भयो।

पाँच दिन खुलेको बजारमा ३ दिन बढ्यो भने २ दुई घट्न पुग्यो। नेप्से परिसूचक बढेसँगै कारोबार पनि उल्लेख्य बढेको छ। यो साता बजारमा २४ अर्ब ७४ करोडको कारोबार भयो। गत साता नेप्से परिसूचक १९.६१ अंकले घटेको थियो भने कारोबार १७ अर्ब ८५ करोडको कारोबार भएको थियो। गत साता ३ कारोबार दिन घटेको बजार साढे २ हजार विन्दुमा अडिएको थियो।

साढे २ हजार विन्दु तलबाट पुनः उकालो बजार २१ सय विन्दुको नजिक पुगेको छ। योसँगै बजार समग्रमा १.९४ प्रतिशतले बढेको छ। नेप्से परिसूचकसँगै कारोबारमा आएको बढोत्तरीले बजार लय समातेको जानकार बताउँछन्। करेक्सन हुँदै बढ्न थालेकाले बजार दिगो र दीर्घकालीन हुने उनीहरुको भनाइ छ। प्रणालीमा बढ्दो तरलतासँगै घट्दो ब्याजदरले बजारलाई थप मद्दत पुग्ने उनीहरुको तर्क छ। 

यतिबेला बैंकिङ प्रणालीमा ६ खर्ब लगानी योग्य रकम (तरलता) देखिएको छ। बैंकमा तरलता थपिँदै जादा सोहीअनुरुप कर्जा प्रवाह बढ्न सकेको छैन। अन्य कर्जाको माग नदेखिँदा बैंकहरु सेयर धितो केन्द्रित देखिएका छन्। केही बैंकहरुले सेयर धितो कर्जाको स्किम नै चलाएका छन्।

पछिल्लो समय बढेको सेयरधितो कर्जाले पनि यसलाई पुष्टि गर्छ। पछिल्लो पाँच महिना अर्थात मंसिर मसान्तसम्म सेयरधितो कर्जा ६.४ प्रतिशत अर्थात् ४ अर्ब ८८ करोड थपिएको छ। जोखिम भार उच्च भएको कर्जा पनि बढ्न थालेसँगै लगानीकर्ताको मनोबल बढ्न गई कर्जा लिएर लगानी बढाउन थालेको बुझिन्छ। 

त्यसैगरी, बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सेयरमा गर्ने लगानीको सीमा बढाएको छ। जसले बजारमा संस्थागत लगानीकर्ता थपिने र बजार थप सकारात्मक हुने उनीहरुको आकलन छ। बजारमा संस्थागत लगानीकर्ता नआएसम्म बजार दिगो नहुने उनीहरुको तर्क छ। संस्थागत लगानीकर्ता बजार प्रवेश गरेसँगै ट्रेडर हाबी नहुँने उनीहरको भनाइ छ। 

बजार साढे २ हजार विन्दुबाट पुनः बाउन्स व्याक हुँदा २२ सयबाट सजिलै माथि उक्लिने उनीहरू बताउँछन। साथै, पुस मसान्तमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा सावाँ–किस्ता तिर्नुपर्ने बेला समेत हो। अन्तिम सातामा आइपुग्दा पुसको दबाब घट्दै गएको उनीहरुको भनाइ छ। 

पुस तेस्रो सातासम्म लगानीकर्ता सेयर बेचेर किस्ता तिर्ने हुँदा सेलिङ प्रेसर समेत हुने देखिन्छ। तर, अब विस्तारै दबाब कम हुँदै जाने उनीहरको भनाई छ।  योसँगै साताभरमा नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब पुगेको छ।

१३ मध्ये १० उपसूचकमा बढोत्तरी 
यस साता १३ वटा उपसूचक मध्ये ३ घट्दा १० बढेका छन। यस साता डेभलपमेन्ट बैंकको उपसूचक सर्वाधिक बढेको छ। डेभलपमेन्ट बैंकको उपसूचक १८९.११ अंकले बढेको छ। 

यस साता निर्जीवन उपसूचक ३५.३४ अंकले घटेको छ। त्यसैगरी, लाइफ इन्स्योरेन्स उपसूचक ९०.६६ अंक, उत्पादन तथा प्रशोधन २७.४६ अंकले घटेको छ। यो साता होटल ६१.६३ अंकले बढेको छ। डेभलपमेन्ट बैंकको १८९.११ अंक, माइक्रोफाइनान्स १३५.८ अंक, ट्रेडिङ ४.९९ अंक, हाइड्रोपावर १०९.३३ अंक, फाइनान्स ६६.३२ अंक, अन्य उपसूचक ७७.१७ अंक, बैंकिङ उपसूचक ५.३३ अंक, इन्भेष्टमेन्ट ०.२७ अंक र म्युचुअल फण्ड उपसूचक ०.११ अंकले बढेको छ। 

सर्वाधिक कमाउने र गुमाउने कम्पनी
यो साता सर्वाधिक कमाउनेमा बोटलर्स नेपाल (बालाजु) कम्पनीका लगानीकर्ता छन्। त्यसैगरी, समाज लघुवित्त, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मौलुङ हाइड्रोपावर र नेपाल इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट कम्पनीकाका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका छन्। 

यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा चन्द्रागिरि हिल्सको लगानीकर्ता रहेको छन्। यो साता यस कम्पनीको सेयरमूल्य १४.४४ प्रतिशतले घटेको छ। त्यसैगरी, यो साता गुमाउनेमा शुभम् पावर कम्पनी, सीवाईसी नेपाल लघुवित्त, अपर तामाकोशी हाइड्रोपावर, एनएमबि बैंक र नबिल बैंकका लगानीकर्ता छन्। 

सर्वाधिक कारोबार गर्ने कम्पनी
यो साता सोनापुर मिनरल्स आयल र शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ। पछिल्लो एक महिनायता सोनापुर मिनरल्स आयल र शिवम् सिमेन्ट कम्पनीको सेयर कारोबार उच्च देखिएको छ। 

त्यसैगरी, यो साता हाथवे इन्भेष्टमेन्ट कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ।

सर्वाधिक माग भएको कम्पनी
फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्षस्थानमा मुक्तिनाथ कृषि कम्पनी रहेको छ। 

त्यसैगरी, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्टको सेयर माग उच्च देखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .