काठमाडौं महानगरपालिकाले आफूले आफैलाई ७८.५ अंक दिएको छ।
‘संस्थागत स्वमूल्याङ्कन’ मा आर्थिक वर्ष २०७९/०८० मा काठमाडौं महानगरपालिकाले ७८.५ अंक पाएको महानगरले जनाएको छ।
पुस २९ गते बसेको नगर कार्यपालिका बैठकमा लिजा समितिकातर्फबाट प्रशासन विभागका प्रमुख दिपक अधिकारीले मूल्याङ्कका सूचक, सूचकहरुको पूर्णाङ्क र प्राप्त अंक सम्बन्धी विवरण पेश गरेका थिए। यो प्राप्ताङ्कलाई बैठकले अनुमोदन गरेको हो।
आर्थिक वर्ष २०७७/०७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८/०७९ मा ५७.२५ मा पुगेको थियो। विगतको अवस्थामा सुधार गर्दै गएको वर्ष (२०७९/०८०) मा ७८.५ अंक प्राप्त गरेको हो।
०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्याङ्कन हुन्छ।
यी सूचकहरुमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अंक भार राखिएको छ। यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ। यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अंक प्राप्त गरेको छ।
यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ५.७५, ११ अंकको वार्षिक बजेट तथा योजना व्यवस्थापन ७.५, ११ अंकको वित्तीय एवम आर्थिक व्यवस्थापन, १० अंकको सामाजिक समावेशीकरणमा ८ प्राप्त गरेको छ। १६ अंकको सेवा प्रवाहमा १२.५, ७ अंकको न्यायिक कार्य सम्पादनमा ६ र १३ अंकको भौतिक पूर्वाधारमा ९.७५ अंक पाएको छ।
९ अंकको वातावरण संरक्षण तथा विपद व्यवस्थापन ५.५, ६ अंकको समन्वय सहकार्यमा ६ अंक प्राप्त गरेको छ।
गएको वर्ष (२०७८/०७९) मा ५७.२५ अंक प्राप्त गर्दा ९ अंकको शासकीय प्रबन्धमा ७ अंक, ८ अंकको संगठन र प्रशासनमा ४ अंक, ११ अंकको वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अंक प्राप्त गरेको थियो।
यस्तै ११ अंकको वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ अंक, १६ अंकको सेवा प्रवाहमा ९.७५ अंक, ७ अंकको न्यायिक कार्यमा ४ अंक, १३ अंकको भौतिक पूर्वाधारमा ४.५ अंक, १० अंकको सामाजिक समावेशीकरणमा ४.५ अंक, ९ अंकको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ४.५ अंक र ६ अंकको सहकार्य र समन्वयमा ३ अंक प्राप्त गरेको थियो।
संस्थागत सवल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्वल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो। आफैँले गरेको मूल्याङ्कनबाट आफूलाई कहाँ सच्याउनु पर्छ भन्ने ठाउँ थाहा हुन्छ।
स्वमूल्याङ्कन प्रणालीमा स्वभाविक अंक मात्र दावी गरिन्छ। माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अंक नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिन्छ।
आ. व. २०७९/०८० को मूल्याङ्कनका लागि उपनिर्देशक गंगाधर गौत्तमको संयोजकत्वमा लिजा संयोजन समिति गठन गरिएको थियो। समितिको सदस्यहरुमा वरिष्ठ शाखा अधिकृत रामप्रसाद सापकोटा, वरिष्ठ शाखा अधिकृत प्रमोदकुमार पोखरेल, वरिष्ठ शाखा अधिकृत सोमबहादुर राना, सूचना प्रविधि अधिकृत विकास ओझा थिए। समितिको सदस्य सचिव तथ्याङ्क अधिकृत कृष्णराज तिवारी थिए।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन के हो?
यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो।
स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्वमूल्याङ्कनको प्रबन्ध गरिएको हो।
स्थानीय तहको तुलना योग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा गरिएको छ।
Shares
प्रतिक्रिया