नेपाल राष्ट्र बैंकले गत असोजमा एक व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने सीमा बढायो।
योसँगै व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म लिन पाउने भए। तर त्यसयता मार्जिन प्रकृतिको सेयर धितो कर्जा खुम्चिन थालेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्मको तथ्यांकले वाणिज्य बैंकहरुले मात्रै ५ अर्ब १ करोड सेयर धितो कर्जा प्रवाह गरेको देखाएको हो।
गत असारसम्म वाणिज्य बैंकहरुले कुल ५८ अर्ब ६६ करोड ८ लाख यस्तो कर्जा प्रवाह गरेका थिए। पछिल्लो पाँच महिनामा ५ अर्ब १ करोड बढेसँगै बैंकहरुले प्रवाह गरेको यस्तो कर्जाको आकार ६३ अर्ब ६७ करोड पुगेको छ।
चालू आवको पहिलो महिना साउनमा यस्तो कर्जा २३ करोडले बढेकामा भदौमा १ अर्ब ८ करोड, असोजमा २ अर्ब ७३ करोड, कात्तिकमा २७ करोड र मंसिरमा ७ करोडले थप भएको छ।
गत असोजमा सेयर धितो कर्जाको सीमा बढाए पनि कर्जा भने खुम्चिन थालेको केन्द्रीय बैंकको विवरणमा देखिन्छ। यसअनुसार भदौ र असोजमा वाणिज्य बैंकहरुले झण्डै ४ अर्ब कर्जा प्रवाह गरेका छन्।
त्यसपछिका दुई महिना (कात्तिक र मंसिर)मा वाणिज्य बैंकहरुले सेयर धितो कर्जाबापत ३४ करोड रुपैयाँ मात्रै दिएको देखिन्छ।
समग्रमा सेयर धितो कर्जा बढे पनि पछिल्लो समय सेयर धितो कर्जा खुम्चिएको छ।
घट्दो जोखिम भारले कर्जा बढाउने आशा
मंसिर अन्तिमतिर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्दै ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिम भार घटाएको छ।
५० लाखमाथिको कर्जाको १५० प्रतिशत रहेको जोखिम भार घटाएर १२५ कायम गरिएको छ। सेयर धितो कर्जाको सीमा बढाएको केही महिनामा घटाएको जोखिम भारले आगामी समयमा यस्तो कर्जा बढ्ने आकलन छ।
साथै, प्रणालीमा अधिक तरलता हुँदा समेत कर्जा माग बढ्न नसक्दा बैंकहरुले ब्याजदर घटाउन थालेका छन्। अन्य कर्जाको माग नभइरहेको अवस्थामा बैंकहरु सेयर धितो कर्जा दिन तयार छन्।
यसले गर्दा आगामी समयमा यस्तो बढ्नसक्ने देखिएको छ। हाल सेयरबजार २१ विन्दु वरिपरि छ। ३२ सय पुगेको बजार चार पटकसम्म १८ सय विन्दुबाट फर्किएको थियो।
यद्यपि, बजार तल्लो विन्दुमा हुँदा बैंकरहरुले सेयर धितो कर्जामा धेरै जोखिम नभएको बताउन थालेका छन्। तर, पनि यस्तो कर्जा खुम्चिन थालेको छ। पछिल्लो ५ महिनामा १० बैंकले यस्तो कर्जा बढाउँदा ९ को घटेको छ। त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले यस्तो कर्जा प्रवाह नै गरेको छैन।
एनआईसी ‘एग्रेसिभ’, कस–कसको बढ्यो?
एनआईसी एसिया बैंक सेयरधितो कर्जा प्रवाहमा ‘एग्रेसिभ’ देखिएको छ।
पछिल्लो पाँच महिनामा बैंकले ३ अर्ब ५७ करोड यस्तो कर्जा प्रवाह गरेको छ। जुन सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये धेरै हो। त्यसैगरी, दोस्रोमा नबिल र तेस्रोमा प्राइम कमर्सियल बैंक छन्।
नबिल बैंकले पछिल्लो पाँच महिनामा यस्तो कर्जा १ अर्ब ७७ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ३ करोडले बढाएको छ।
चालू आवको पाँच महिनामा १० वाणिज्य बैंकले सेयर धितो कर्जा बढाएका छन्।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र सिटिजन्स बैंकले सेयरधितो कर्जा बढाएका छन्।
पाँच महिनामा नेपाल बैंकले यस्तो कर्जा ५१ करोड २ लाख रुपैयाँले बढाएको छ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक ८ करोड, नबिल बैंकले १ अर्ब ७७ करोड, एभरेष्ट बैंकले ३० करोड, एनआईसी एसिया बैंकले ३ अर्ब ५७ करोड, सिद्धार्थ बैंकले ५ करोड ४ लाख, कृषि विकास बैंकले ३ करोड ४ लाख, ग्लोबल आइएमई बैंकले ८ करोड ९ लाख, सिटिजन्स बैंकले ४० करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ३ करोडले सेयर धितो कर्जा बढाएको छ।
आठ बैंकले घटाए
१० बैंकले यस्तो कर्जा प्रवाह बढाए पनि आठवटाले भने घटाएका छन्।
नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, प्रभु बैंक र सानिमा बैंकले यस्तो कर्जा घटाएका छन्।
मंसिर मसान्तसम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरधितो कर्जा ७६ करोड २ लाख, हिमालयन बैंकको ४० करोड २ लाख, नेपाल एसबिआई बैंकको १ लाखले घटेको छ।
त्यसैगरी माछापुच्छ्रे बैंकको ८ करोड ३ लाख, कुमारी बैंकको २९ करोड ६ लाख, लक्ष्मी सनराइज बैंकको ४६ करोड ८ लाख, एनएमबि बैंकको ३९ करोड ४ लाख, प्रभु बैंकको ३८ करोड २ लाख र सानिमा बैंकको सेयरधितो कर्जा ६ करोड २ लाखले घटेको छ।
Shares
प्रतिक्रिया