ad ad

कारोबार


चीनबाट नेपाल ल्याएर यसरी गरिन्छ भारतमा लाइटरको तस्करी

तस्करले कमजोर नेपाली संयन्त्रको फाइदा उठाए : भन्सार विभाग
चीनबाट नेपाल ल्याएर यसरी गरिन्छ भारतमा लाइटरको तस्करी

नेपालखबर
माघ ७, २०८० आइतबार १८:४४, काठमाडौँ

नेपालमा सुन तस्करी नौलो नभए पनि लाइटर समेत विदेशबाट ल्याएर फेरि विदेशमा तस्करी हुने गरेको पाइएको छ।

५ महिनाअघि भारतले ग्यास लाइटर आयात रोकेपछि चीनबाट नेपाल ल्याएर भारतमा तस्करी भएको देखिएको हो।  

भन्सार विभागका अनुसार गत भदौयता चीनबाट ग्यास लाइटरको आयात अप्रत्याशित रूपमा बढेको छ। चालू आर्थिक वर्षको अहिलेसम्म स्थलमार्ग हुँदै १०० कन्टेनर ग्यास लाइटर आइसकेका छन्। 

नेपालमा एक त भन्सार नतिरी (अवैधानिक बाटोबाट) आयात गर्ने र अर्को भारत लगायत छिमेकी देशमा भएको बन्देजलाई अवसरको रुपमा लिएर अधिक आयात हुने गरेको देखिएको छ। त्यसरी आयातित लाइटर चोरबाटोबाट भारतमा जाने गरेको हो। 

समुद्री बन्दरगाहबाट समेत चिनियाँ लाइटर नेपाल आएको विभागले जनाएको छ। त्यसरी आएका लाइटर वीरगन्ज सुख्खा बन्दरगाह हुँदै छुट्ने गरेका छन्। 

व्यापारीहरुका अनुसार चीनबाट आएका लाइटर भारतमा तस्करी हुने गरेका छन्। 

‘चीनबाट नेपालमा आएको लाइटरको बजार भारत नै हो’, एक व्यापारीले नेपालखबरसँग भने, ‘५ महिना अघिदेखि भारतमा ग्यास लाइटर आयात गर्न बन्देज छ।’

भारतले पुनः प्रयोग गर्न नसकिने वस्तुको रूपमा गणना गरेर ग्यास लाइटरको आयात नै रोकेपछि नेपाल हुँदै तस्करीमार्फत भारतीय बजार पुग्ने गरेका छन्। 

वैदेशिक व्यापारको तथ्यांक राख्ने भन्सार विभागले नेपालमा लाइटर आयात भएको तथ्यांक राखे पनि निर्यातको विवरण नै नभएको बताएको छ। 

यसले पनि लाइटर तस्करीको पोल खुलेको हो। अनधिकृत बाटो हुँदै लाइटर निर्यात भइरहेको विभागको बुझाइ छ। 

तस्करी भइरहेको सुइँको पाएको विभागले पछिल्लो समय लाइटरको भन्सार दर नै बढाइदिएको छ। यसअनुसार पुनः प्रयोग गर्न नमिल्ने लाइटरको शुल्क चार अमेरिकी सेन्ट (पाँच रूपैयाँ ३४ पैसा) बाट बढाएर छ सेन्ट (सात रूपैयाँ) बनाएको छ। 

यस्तै, रिफिल गरी पुनः प्रयोग गर्न मिल्ने लाइटरको भन्सार महशुल पाँच सेन्ट (छ रूपैयाँ ६५ पैसा) बाट सात सेन्ट (नौ रूपैयाँ ३१ पैसा) पुर्‍याइएको छ।

योसँगै अब लाइटर बोकेको एक कन्टेनरले तिर्नुपर्ने भन्सार महशुल १९ लाख तिर्नुपर्ने भएको छ। यसअघि १२ लाख भन्सार महशुल तिरे पुग्थ्यो। महशुल बढेसँगै चीनबाट अहिले लाइटर आयात नै रोकिएको विभागको भनाइ छ। 

नेपाललाई तस्करीको बाटो प्रयोग गर्नुमा हाम्रो संयन्त्र नै प्रमुख रहेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल बताउँछन्। 

‘भन्सार मात्रै नभई नेपालको माथिल्लो तहदेखि नै हामी कमजोर छौँ। विकासमा पछि परेको देश छ, त्यसकारण हामी कामजोर छौँ, त्यसको फाइदा तस्करहरुले लिएका छन्’, महानिर्देशक पौडेलले भने। 

उनले भन्सार विभागमात्र नभई अन्य संयन्त्र हुँदाहुँदै समेत त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करीको उदाहरण दिए। सबै तह कमजोर हुँदा तस्करी बढिरहेको उनको भनाइ छ। 

पछिल्लो समय नेपालमा सुन तस्करी बढिरहेको तथ्यांकले नै देखाउँछ। आइतबारमात्रै त्रिभुवन विमानस्थलबाट करिब आधा किलो अवैध आयात गरिएको सुनसहित एक जनालाई पक्राउ गरेको थियो। 

नेपाल प्रहरी, भन्सार विभाग, राजस्व अनुसन्धान विभागले पटक पटक तस्करी भएको सुन बरामद गर्नुले पनि नेपाल हुँदै भइरहेको तस्करी बढेको देखिन्छ।

सुन मात्रै नभई अन्य वस्तु पनि नेपालको बाटो हुँदै विदेश निर्यात हुने गरेका   छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .