विभिन्न तीनवटा कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने यात्रु जाँच पनि सशस्त्र प्रहरीमार्फत् हुनुपर्ने माग राखेका छन्।
शुक्रबार सुरक्षा जाँच गर्ने स्थानमा खटिएका प्रहरीबाट कार्यालयमा कार्यरत अध्यागमन अधिकृतमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तीन संगठनले विभिन्न ६ बुँदामा आफ्ना माग राखेका छन्।
शुक्रबार अपराह्न १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो।
त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि प्रहरीबाटै हातपात
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन गरी तीनवटा एकाई समितिले संयुक्त विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन्।
विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाट अध्यागमन कर्मचारीलाई जुनसुकै बखत आक्रमण हुन सक्ने जोखिम रहेको, सुरक्षाको प्रत्याभूति नभएर त्रासको अवस्था सिर्जना भएको हुँदा यस्तो अवस्थामा नियमित सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको भन्दै उनीहरूले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन् ।
संगठनहरूले सो घटनाबारे तुरुन्तै छानबिन गर्न समेत गृह मन्त्रालयसमक्ष माग राखेका छन्।
अहिले विमानस्थलको भन्सारमा मात्रै सशस्त्र प्रहरी तैनाथ छ। कर्मचारी युनियनहरूले भने अन्तर्राष्ट्रिय सीमा सुरक्षा हेर्ने निकायबाट यात्रु जाँच हुनुपर्ने माग राखेका हुन्।
विज्ञप्तिको बुँदा नम्बर ५ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रअन्तर्गत पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश गर्ने स्थान, यात्रुहरूको जाँच गर्ने स्थान तथा बाहिर निस्कने स्थानहरूमा जाँच गर्ने कार्य नेपाल प्रहरीबाट हुने गरेकोमा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सीमा सुरक्षा हेर्ने निकायमार्फत् गर्ने व्यवस्थाको तत्काल कार्यान्वयन गरियोस्।’
विज्ञप्तिमा सशस्त्र उल्लेख नगरिए पनि नेपालमा अन्तर्राष्ट्रिय सीमामा सशस्त्र प्रहरी तैनाथ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय नाका नै भएकाले सशस्त्र तैनाथ हुनुपर्ने कर्मचारी संगठनहरूको तर्क छ।
त्यस्तै, आफ्ना मागहरू पूरा नभएसम्मका लागि अध्यागनमनमा कार्यरत सबै कर्मचारीहरूले सांकेतिक विरोधस्वरूप कालो पट्टी बाँधेर सेवा प्रवाह गर्ने प्रतिबद्धता संगठनहरूले जाहेर गरेका छन्।
विमानस्थलभित्र प्रवेश गर्दा तथा बाहिर निस्कँदा सुरक्षा जाँच गर्ने स्थानहरूमा विमानस्थलभित्र कार्य गर्ने अन्य सबै कर्मचारी धातुरहित भई सम्पूर्ण जाँच गराएर प्रवेश गर्ने तथा निस्कने व्यवस्था भएको तर प्रहरी कर्मचारीबाट यो नियमको पालना हुने गरेको नदेखिएको पनि संगठनहरूले बताएका छन्।
विमानस्थलको आगमन तथा प्रस्थान विन्दुमा नेपाल प्रहरीबाट सम्पूर्ण जाँच भएपश्चात् मात्र प्रवेश गर्ने हुँदा विमानस्थलभित्र कार्यरत कर्मचारीले वाक थ्रु प्रयोग गर्दा बेलाबखत बदनियतपूर्ण मनशायले शरीर छामछुम गरी हतोत्साहित पार्ने गरेको गुनासो पनि संगठनहरूले गरेका छन्।
गृह मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई घटनास्थल र समग्र अध्यागमनको अवस्थाबारे तत्काल स्थलगत अवलोकन गरी प्रहरीलाई कुनकुन ठाउँमा राख्ने वा कुन ठाउँबाट झिक्ने हो? २४ घण्टाभित्र कार्यान्वयन गर्ने व्यवस्था मिलाउनसमेत उनीहरूले माग गरेका छन्।
हेर्नुहोस् विज्ञप्तिः
Shares
प्रतिक्रिया