ad ad

कारोबार


पशुपतिमा ७ रोपनी जग्गा हडपेर बनाएका घरमा बालेनले डोजर लगाउने

पशुपतिमा ७ रोपनी जग्गा हडपेर बनाएका घरमा बालेनले डोजर लगाउने

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८० मंगलबार १३:१०, काठमाडौँ

पशुपति क्षेत्रका जग्गा हडपेर व्यक्तिगत घर बनाएका संरचना हट्ने भएका छन्। पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले घर हटाउने निर्णय गरेको हो। 

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन महानगरलाई निर्देशन दिएका छन्। 

बैठकमा मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन्।

बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्राविधिक मूल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन्।  

तत्काल कानुनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका  घर खाली गराउने भएको छ। 

पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका ८ गाँचा पोखरीमा ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर  घर बनाएर भोगचलन गर्दै आएका छन् ।

त्यस्तै वडा नं ३ भगवानस्थानमा  ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएका छन्।  सिफलस्थित लामा पोखरीमा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको कोषले जनाएको छ। 

 यी जग्गामा रहेको संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ। प्राविधिक मूल्यांकन आएको दिन नै महानगरले संरचना भत्काउन सक्ने मेयर शाहले बताए। 

२९ रोपनी जग्गा खोज्न समिति गठन
गोठाटारस्थित पशुपतिको क्षेत्र विकास कोषको नाममा रहेको ५ सय ३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोज्नका लागि मन्त्रालयले समिति गठन गर्ने समेत बोर्ड बैठकमा निर्णय भएको छ ।

हराएको जग्गा खोजीका लागि पूर्वसचिवस्तरीय उच्च समिति गठन गरिने मन्त्री किराँतीले बताए। 

यो प्रकरण अर्को ललिता निवास प्रकरणजस्तै हुनसक्ने उनले बताए। कुनै शक्ति केन्द्रको दबाब आफूलाई सह्य नहुने बताउँदै मन्त्री किराँतीले पशुपतिको बेथिति निर्मूलका लागि एक्सन प्लानका आधारमा आफूलाई कामको नतिजा ल्याउन कोषका पदाधिकारीलाई निर्देशन दिए। 

यससँगै विवादित पशुपति आर्यघाटको आरतीको विषयमा सत्यतथ्य छानबिन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ।

कोषका सदस्यसचिव राजु खत्रीका अनुसार वर्षौँबाट कोषको जग्गा व्यक्तिले शक्ति केन्द्रको प्रभावमा हडपेर व्यावसायिक तथा निजी प्रयोजनका लागि भोगचलन गर्दै आएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .