नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल र भारतका द्रुत भुक्तानी प्रणालीलाई एकीकृत गर्नेसम्बन्धी "टर्म अफ रिफरेन्स" पत्रमा हस्ताक्षर भएको छ।
दुई देशका केन्द्रीय बैंकहरुले भारतको एकीकृत भुक्तानी विन्दु (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी विन्दु (एनपीआई)लाई एकीकरण गर्नेसम्बन्धी शर्तनामा सन्दर्भ (टीओआर) पत्रमा हस्ताक्षर र सो पत्र आदानप्रदान गरेका हुन्।
दुवै देशका उक्त प्रणाली प्रयोगकर्तालाई तुरुन्तै, कम लागतमा फन्ड ट्रान्सफर गर्नसक्ने सुविधामार्फत नेपाल र भारतबीच अन्तर्सीमा विप्रेषण (रेमिट्यान्स) प्रवर्द्धनको लक्ष्यसहित दुई प्रणाली एकीकरण गरिनलागेको बैंकहरुले बताएका छन्।
यूपीआई-एनपीआई एकीकृत गर्न भएको सहकार्यले नेपाल र भारतबीच वित्तीय सञ्जाललाई थप प्रगाढ बनाउने र दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिएको छ।
टीओआरअनुसार दुवै बैंकले दुई देशका भुक्तानी प्रणालीलाई अन्तर्सम्बन्धित गर्न आवश्यक प्रणालीहरु राखिने उल्लेख छ। यसको औपचारिक सुरुवातको घोषणा केही समयमै हुने बैंकहरुले जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत जुनमा नेपाल-भारत अन्तर्सीमा भुक्तानीबारे छलफल भएको थियो। सोहीअनुसार दुई केन्द्रीय बैंकले सम्झौता गरेका हुन्।
हस्ताक्षर कार्यक्रममा दुवै देशका गभर्नरद्वय महाप्रसाद अधिकारी र शक्तिकान्त दास उपस्थित थिए।
Shares
प्रतिक्रिया