एक घण्टामै काठमाडौंबाट मधेश पुग्न सकिने नेपालकै ‘मेगा प्रोजेक्ट’ काठमाडौं–तराई द्रुतमार्ग निर्माणाधीन छ। हालसम्म उक्त राजमार्गको करिब ३१ प्रतिशत काम सकिएको छ।
अहिले काठमाडौंबाट निजगढ पुग्न गाडीलाई कम्तीमा ५ घण्टा लाग्छ। हेटौँडा हुँदै जाने कान्तिपथ लोकपथ वा कुलेखानी राजमार्ग हुँदै जाँदा उक्त समय खर्च हुन्छ। तर द्रुतमार्ग तयार हुँदा गाडी १ घण्टामै मधेश पुग्न सक्छ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्मको ‘एक्सप्रेस वे’ ७१ किलोमिटर लामो छ। मन्त्रिपरिषद्ले २०७४ मा नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएपछि यसको काम धमाधम भइरहेको छ।
भिडिओ (सरोज बैजु)
सेनाले कुल सडकलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ।
यसअनुसार कुलमध्ये ५० किलोमिटरको ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी छ जसमा २१ किमि सडक पर्छ।
ठेक्का लागेका आयोजनाको काम तीव्रगतिमा भइरहेको छ। अहिलेकै गतिमा काम भए २ वर्षमा सकिने नेपाली सेनाले जनाएको छ।
काठमाडौंबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्नसकेको छैन।
आयोजनामा ५ हजार १७२ रोपनी व्यक्तिगत जग्गामध्ये ४ हजार ७७७ रोपनी अधिग्रहण हुँदा ३९५ रोपनी बाँकी छ। जुन ललितपुरको खोकना बुङमती क्षेत्रमा पर्छ।
नेपाली सेनाका अनुसार प्याकेज नम्बर ८ र ९ लाई ४ वटा प्याकेज बनाई टेन्डर प्रक्रियामा गएको छ। ८ ‘क’, ८ ‘ख’, ९ ‘क’ र ९ ‘ख’ खरिद प्रक्रियामा छन्।
८ ‘ख’को बोलपत्र आह्वान भई आर्थिक प्रस्ताव मूल्यांकन भइरहँदा बाँकी प्याकेज खरिद प्रक्रियाको क्रममा उच्च अदालत पाटनले अन्तरिम आदेशका कारण रोकिन पुगेका छन्।
नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दीबर गुरुङले तयारीको चरण सकेर द्रुतमार्ग निर्माणको चरणमा रहेकाले अब धेरै समय नलाग्ने बताए।
खोकनामा द्रुतमार्गको विन्दु र सवारी आवागमन व्यवस्थापनको पुनरवलोकन गर्न विस्तृत सम्भाव्यता अध्ययनका लागि पुलचोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता भई काम भइरहेको छ।
‘अदालतले रोकेका ठेक्का प्रक्रिया र खोकनाको जग्गा विवाद छिटो टुंग्याउन सके निर्माणमा विलम्ब हुँदैन’, महासेनानी गुरुङले भने, ‘धेरै तयारीका काम सकिएर हामी कार्यान्वयनको चरणमा छौँ।’
उनका अनुसार तयारीका अधिकांश काम सकिएकाले अब देखिने गरी काम हुनेछ।
काठमाडौंबाट–लेनडाँडासम्म ६ सुरुङ, दशैँसम्म ३ वटा छेडिने
द्रुतमार्गमा कुल ६ सुरुङमार्ग छन्। सेनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ती सुरुङको लम्बाइ १० किलोमिटर छ।
नेपालमा अहिले काठमाडौंभित्र प्रवेश वा बाहिर जान नागढुंगामा सुरुङमार्ग निर्माण भइरहेको छ। यो सुरुङ फागुन महिनाभित्र छिचोलिने आयोजनाले जनाइसकेको छ। त्यसबाहेक अहिलेसम्म नेपालको सडक यातायातमा सुरुङमार्ग छैनन्।
निर्माणपछि द्रुतमार्ग प्रयोग गर्नेले ६ वटा सुरुङमार्ग प्रयोग गर्न पाउनेछन्। यीमध्ये ३ वटा सुरुङमार्ग आगामी दशैँसम्म छेडिनेछ। बाँकी ३ सुरुङमार्गको भने ठेक्का नै लाग्नसकेको छैन।
काठमाडौंतर्फका १ किमिको देवीचौर, ०.३९ किमिको सिसौटार र २.२५ किमिको चन्द्राम भीर सुरुङको ठेक्का प्रक्रिया अदालतको आदेशले रोकिएको छ।
तीव्रगतिमा निर्माण भइरहेकामध्ये महादेवडाँडा सुरुङ (३.३५ किमि) दशैँसम्म सक्ने लक्ष्य छ। अहिलेसम्म यसको करिब २ किलोमिटर सुरुङ खनिसकिएको छ। अर्को १.६३ किलोमिटरको धेद्रे सुरुङमार्गको हालसम्म १.१७ किमिको छेडिसकिएको छ। यसको जेठसम्म ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ।
मधेसतर्फको अन्तिम सुरुङ १.४३ किलोमिटर लम्बाइको लेनडाँडामा १.२३ किमि सकिएर ‘ब्रेक थ्रु’ हुने अवस्थामा छ। यो सुरुङ चैतसम्म ‘ब्रेक थ्रु’ हुनेछ।
सुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौंतर्फ आउँदा छुट्टाछुट्टै सुरुङ प्रयोग गर्नुपर्छ। त्यसैले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिँदै छ।
३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएका छन्।
दुई पहाड जोड्न अग्ला पुल, ४२५ मिटर लामो ‘सिग्नेचर ब्रिज’
द्रुतमार्गमा ८९ वटा निर्माण गरिँदै छ। घुमेका डाँडामा सडकलाई सिधा बनाउन र खोलामाथि पुल निर्माण भइरहेका छन्। आकर्षक देखाउन आर्क ब्रिज निर्माण गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि छ।
प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउन्डेसन राख्नुपर्ने हुन्छ। त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन्। ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन्। खोकना खण्डमा ४ वटा पुल छन्।
महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ। धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण गरिएको छ।
कोरियन कन्सल्टेन्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीको लागि २ वटा पुल बन्ने जानकारी दिए।
‘एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाइका पुल छन’, किमले भने, ‘जमिनमुनि हुने पाइलको लम्बाइ ३३ मिटर छ। ती काठमाडौंको धरहराभन्दा अग्ला छन्।’
ठाउँअनुसार पुल पनि फरक छन्। निजगढबाट काठमाडौं आउँदा सडक र काठमाडौंबाट निजगढ जाँदा पुल समेत निर्माण गरिएको छ।
नेपाली सेनाका सेनानी रवि भट्टले प्याकेज नम्बर ४ मा आइकोनिक पुलसहित बकैया खोलामा बढी पुल रहेको बताए। यसमा ४२५ मिटर लामो सिग्नेचर पुल निर्माण हुँदै छ। यो कर्णालीको चिसापानीमा रहेको पुलजस्तै हुनेछ। यसमा २ ठाउँमा केबल तानिनेछ। पुलमा २ वटा पिलर रहनेछन्।
यो प्याकेजमा मात्रै चिनियाँ र नेपाली गरी कुल ५०० कामदार छन्।
डाँडा नै कटान, पहिरो रोक्न ‘बायो इन्जिनियरिङ’
द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको छ। सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको छ। महासेनानी गुरुङले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको बताए।
‘ठाउँ–ठाउँमा डाँडा कटान गरी पहिरो रोक्न स्लोपमा कटान भइरहेको छ’, उनले भने, ‘स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपर्यो। भित्तामा स–साना रुख समेत लगाउँछौँ।’
अहिले कटान भइरहेका अग्ला ठाउँमा बुट्यान रहनेछन्। कम कटान गर्ने ठाउँमा जरा तलसम्म जाने कुशजस्तै घाँस लगाइनेछ।
‘नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम छ। त्यसलाई हेरेर द्रुतमार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएका छौँ’, गुरुङले भने।
द्रुतमार्गको बीचमा पर्ने स्थानीय आउजाउ गर्नको लागि दायाँ र बायाँ सर्भिस लेन हुनेछ। तराईमा २७ मिटर चौडाइको द्रुतमार्ग बनाउन माटो भरी उठान गरिएको छ।
‘स्थानीय र जनावर द्रुतमार्ग वारपार गर्न अन्डरपास निर्माण गरिएको छ’, उनले भने, ‘बाढीबाट क्षति नपुग्ने गरी जमिन सतहबाट माथि उठाइएको छ। छेउछाउमा कुश प्रजातिको घाँस रोपिएको छ।’
द्रुतमार्गमा चल्ने गाडीलाई पैसा लाग्ने
काठमाडौं–तराई द्रुतमार्गमा गुड्ने गाडीका लागि पैसा लाग्नेछ। डीपीआर बनाउँदा ३ सयदेखि २६ सयसम्म शुल्क लाग्ने प्रस्ताव गरिएको छ।
द्रुतमार्गले काठमाडौंबाट निजगढसँगै हेटौँडा बजार समेत जोड्छ। हेटौँडा उपमहानगरको बुदुनेमा फ्लाई ओभर बनाई मदन भण्डारी राजमार्ग रहेको फुर्के चौरमा जोडिनेछ। हेटौँडाबाट समेत द्रुतमार्ग हुँदै निजगढ र काठमाडौं आउन सकिनेछ।
द्रुतमार्गमा मोटरसाइकल र स्कुटर गुड्न पाउनेछैनन्। यहाँ न्यूनतम स्पिड ६० र अधिकतम १२० किमिसम्मको गतिमा कुदाउने प्रस्ताव गरिएको छ। डीपीआरअनुसार निजगढबाट काठमाडौं आउने कार, साना बस र ट्रकलाई ९०० रुपैयाँ, मिनी बस र ट्रकको १९ सय र ठूला बस र ट्रकको लागि २६ सय रुपैयाँ प्रस्ताव गरिएको छ।
खोकनाबाट हेटौँडा पुगेको साना गाडीलाई ६००, मिनी बस र ट्रकलाई १३ सय, ठूला बस र ट्रकलाई १८ सय रुपैयाँ शुल्क तोकिएको छ।
शुल्क उठाउनको लागि ३ वटा खोकना, बुदुने र निजगढमा पैसा उठाउने र गाडीको तौल जाँच्न टोल प्लाजा हुनेछन्।
प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ रानिसेरामा विश्रामस्थल रहने बताए। श्रेष्ठका अनुसार विश्राम स्थलमा रेष्टुरेन्ट, पेट्रोलपम्प र चार्जिङ स्टेसनसहितका पूर्वाधार हुनेछन्।
आयोजनाका इन्चार्ज गुरुङले डीपीआरमा रकम उल्लेख गरिए पनि कति रकम उठाउने सरकारले निर्णय गर्ने बताए।
(स्टोरीमा आएका सबै तस्बिर नेपालखबरका सरोज बैजुले खिचेका हुन्)
प्रतिक्रिया