चालू आर्थिक वर्षमा आन्तरिकतर्फको राजस्व संकलनमा लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा भने सुधार भएको छ।
आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा गत आर्थिक वर्षमा सरकारको आम्दानीमा गिरावट भएको थियो। तर चालू आर्थिक वर्षमा भने गत वर्षको तुलनामा राजस्व संकलन सुधारोन्मुख देखिएको छ।
आन्तरिक राजस्व विभागका अनुसार देशभरको आन्तरिक राजस्वको तथ्याङ्क एकीकृत गर्दा विगतभन्दा केही सुधार आएको हो।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३ खर्ब ६७ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यही अवधिमा ३ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै संकलन गरिएको थियो।
विभागका महानिर्देशक शिवलाल तिवारीले चालू आवको अन्त्यसम्म अझ सुधार हुने अवस्था रहेको बताए।
‘चालू आर्थिक वर्षमा राखिएको लक्ष्यअनुसार त संकलन हुन कठिन छ तर गत वर्षको तुलनामा राम्रो वृद्धि देखिनेछ’, उनले नेपालखबरसँग भने।
चालू आवको चैत मसान्तसम्ममा ४ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। त्यसको तुलनामा करिब १ खर्ब रुपैयाँ कम संकलन भएको छ।
उक्त अवधिमा आयकर १ खर्ब ७० अर्ब ७९ करोड रुपैयाँ सकंलन भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा २० अर्ब रुपैयाँ बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा आयकर संकलन १ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ मात्रै थियो।
आन्तरिक भ्याट ८७ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ९ अर्ब रुपैयाँले वृद्धि हो। गत आर्थिक वर्षको सो अवधिमा ७८ अर्ब ९२ करोड रुपैयाँ भ्याट संकलन भएको थियो।
अन्तःशुल्क ७२ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ। गत वर्षको यही अवधिमा ७४ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ। अन्तःशुल्क भने गत वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ कम संकलन भएको छ।
त्यस्तै ब्याज करतर्फ २८ अर्ब ३७ करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षमा २५ अर्ब २२ करोड रुपैयाँ मात्रै संकलन भएको थियो।
घरबहाल शुल्क १ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ। गत वर्ष २ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको छ।
यो शीर्षकमा पनि गत वर्षको तुलनामा करिब ६६ करोड रुपैयाँ यो वर्ष कम संकलन भएको छ।
स्वास्थ्य सेवाशुल्क ४ अर्ब ९२ करोड रुपैयाँ संकलन भएको छ। गत वर्ष ५ अर्ब २५ करोड रुपैयाँ संकलन भएको थियो। यो शीर्षकमा समेत कमी आएको छ।
यता शिक्षाशुल्क २ अर्ब ३७ करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो। शिक्षाशुल्क भने १ अर्ब बढेको छ।
चैत महिनामा कति संकलन?
चैत महिनामा मात्रै संघीय सरकारको आन्तरिक राजस्व ५७ अर्ब रुपैयाँ संकलन भएको छ। यो महिनाको लक्ष्य ८५ अर्ब थियो। लक्ष्यको तुलनामा ६७ दशमलव ०४ प्रतिशत मात्रै संकलन भएको हो।
लक्ष्यभन्दा कम संकलन भएपछि गत वर्षको तुलनामा भने करिब २ अर्ब वृद्धि भएको छ। गत वर्ष आन्तरिक तर्फको राजस्व संकलन ५५ अर्ब रुपैयाँ थियो।
Shares
प्रतिक्रिया