नागढुंगा सुरुङमार्ग अन्ततः छेडिएको छ। पूर्वतर्फ चन्द्रागिरि नगरपालिका काठमाडौं र पश्चिमतर्फ धुनीबेसी नगरपालिका धादिङ जोड्ने गरी सुरुङ निर्माण गरिएको हो।
यसले समय र सञ्चालन खर्चमा बचत हुने र यात्रा सुरक्षित र भरपर्दो हुनाले देशको आर्थिक विकासमा मद्दत पुग्ने आयोजनाले जनाएको छ।
सडक विभागले सन् २०१३ को फेब्रुअरी (२०६९) देखि सन् २०१५ मार्च महिनासम्ममा विभिन्न चरणका सर्वेक्षणको आधारमा यो सुरुङको प्रस्ताव गरिएको थियो। अगस्ट २०१८ मा यसको टेन्डर आह्वान भएको थियो।
यसअनुसार जापानको ठेकेदार कम्पनी हाजमा एन्डो कर्पोरेसनसँग २०१९ सेप्टेम्बर २३ मा सम्झौता भएको थियो। यसको निर्माणअन्तर्गतका विस्तृत डिजाइन, ठेकेदार छनोट, निर्माण सुपरिवेक्षण, सञ्चालन आदि विविध कार्यको लागि नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबाट दातृसंस्था जाइकाको सहमतिमा परामर्शदाता नियुक्ति भएर एनके ईजेईसी एनसीसीले जीईओसीई एन्ड आईटीईसीओ नेपालसँगको संयुक्त भेन्चरको कार्यालय स्थापना गरी २०१७ मार्च २७ बाट विस्तृत डिजाइन र ठेक्का बन्दोबस्तीका कामको सुपरिवेक्षण भइरहेको छ।
आयोजनाको कुल लागत करिब २२ अर्बमध्ये जापानी सहयोग निकाय जाइकाले करिब १६.६ अर्ब ऋण दिएको छ। बाँकी रकम नेपाल आफैँले खर्च गरेको हो। जापानी ऋणको ब्याजदर ०.०१ प्रतिशत तोकिएको र सुरुको १० वर्ष मिनाहासहित चुक्ता समय ४० वर्ष रहेको छ।
यसको सम्झौता रकम नेपाली ५ अर्ब ६२ करोड २९ लाख ८१ हजार ६ सय ४२ रुपैयाँ, ६९ लाख ४४ हजार ४ सय ८२ अमेरिकी डलर र ७३ लाख ७६ हजार २०८ जापानी येन रहेको छ।
के–के संरचना छन् यस सुरुङमा?
यो सुरुङमार्ग २.६८८ किमि लामो छ। यसमा ३.५ मिटर फराकिला २ लेन छन्। जुन मध्यविन्दुमा १.५ मिटर लामो अन्तर छ। यसको कुल क्यारिएज वे ९.५ मिटरको छ।
यसमा इभ्याकुएसन टनेल पनि छ। यो २.५५७ मिटर लामो, ३.७ मिटर फराकिलो लेनयुक्त छ। पश्चिमतर्फ अडिट टनेल छ। यो १२६ मिटर लामो छ।
यसका पहुँच मार्ग पनि छन्। जसमा पूर्वतर्फ २.३०७ किमि र पश्चिमतर्फ ०.५६७ किमि छ। यसको सर्भिस रोड पूर्वतर्फ २.२ किमिको छ। त्यसैगरी यसमा क्रस प्यासेज टनेल पनि छ। ७ नं.को उक्त टनेल १२८ मिटर लामो छ।
सुरुङमार्ग योजनाभित्रै फ्लाइओभर पनि बनेका छन्। जुन १२८ मिटर लामो र ६०० मि. र्याम्पको छ।
यसमा पुल र अन्य संरचना पनि छन्। २ वटा कर संकलन सुविधा संरचना छन्। यसलाई नियन्त्रण तथा नियमनका लागि सातवटा भवन रहनेछन्। यसभित्र पानी आपूर्ति, डिस्पोजल एरिया डेभलपमेन्ट, ट्रान्समिसन लाइन (४.२३ किमि) पनि छ।
Shares
प्रतिक्रिया