पृथ्वी राजमार्गको मलेखुनजिकै बेनिघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलले त्रिशूली नदीपारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा ल्याएका छन्।
१५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले जानकारी दिए।
उनका अनुसार त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितका १२ वटा आकर्षक भिल्लाहरू छन्। त्यसमा ३७ वटा कोठा बनाइएको छ।
२२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने उनले बताए।
भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ। यसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ।
‘वेलनेस’ रुचाउने पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ।
यसबाहेक आवश्यकताअनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन्।
भिल्लामा न्यूनतम ४ हजार रुपैयाँदेखिको प्याकेज बुक गर्न सकिनेछ। भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेजअन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउँछन्। भिल्लामा पुगेका पाहुनाहरूलाई यी सबै किसिमका लक्जरी सुविधाहरू उपलब्ध छन्।
भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ। रुमको बालकोनीबाट त्रिशूली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण हो। साथै जंगल छेउमा भएकाले सुन्दर तथा शान्त वातावरणसहितको प्रकृतिमा लीन हुन सकिनेछ।
कर्पोरेट ग्राहकमात्र नभएर कुनै विशेष पार्टीको मज्जा लिन तथा विवाह गर्न समेत भिल्ला उत्तम गन्तव्य बन्ने सञ्चालक कँडेल बताउँछन्।
रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ। त्रिशूली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक ¥याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन्।
कसरी पुग्ने?
भिल्ला पुग्न पृथ्वीराजमार्गको मालिङ्गा झरेपछि त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ।
एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन्। सवारी साधन लिएर जानेका लागि नदीवारि नै पार्किङको सुविधा छ। बाइकमा भने झोलुङ्गे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ।
Shares
प्रतिक्रिया