भारतको उत्तराखण्ड राज्यबाट काठमाडौंमा सिधा उडान हुने भएको छ।
उत्तराखण्ड सरकारले देहरादुन विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको प्रस्ताव आह्वान गरेको हो।
उत्तरखण्डको सरकारले यसका लागि सहुलियत समेत दिने भएको छ। सोसँगै जोली ग्रान्ट एयरपोर्टबाट त्रिभुवन विमानस्थलमा सिधा उडान हुनेछ। कोभिड महामारीपछि पर्यटन क्षेत्र पहिलेकै जस्तो चलायमान भइसकेको छ।
देहरादुन विमानस्थललाई अन्तर्राष्ट्रिय विमास्थल बनाउने योजनामा रहेको भारतीय राज्यले अन्तर्राष्ट्रिय कनेक्टिभिटी र पर्यटक बढाउन काठमाडौंमा सिधा उडान गर्नलागेको हो।
ठेक्का पाउने कम्पनीले खाली रहने प्रतिसिटमा निश्चित रकम राज्य सरकारबाट पाउनेछ। भाडा बजारले नै तय गर्ने प्रस्तावमा उल्लेख छ। उत्तराखण्ड सरकारले १ वर्षसम्म सहुलियत दिनेछ।
कम्तीमा ७० सिट क्षमता भएको जहाज हुनुपर्नेछ। अर्थात् एयरबस ३२० वा नेपालमा उड्ने एटीआर ७२ र न्यरोबडी जहाजले उडान गर्न सक्नेछन्। अप्रिल २५ सम्म एयरलाइन्स कम्पनीले आवेदन दिन सक्नेछन्।
अहिले काठमाडौंबाट देहरादुन पुग्न दिल्ली गएर अर्को जहाज चढ्नुपर्ने बाध्यता छ। नेपाल र देहरादुनको दूरी लामो नभए पनि सिधा उडान नहुँदा धेरै घुम्नुपर्ने बाध्यता छ। देहरादुनबाट सडकमार्ग हुँदै नेपालको सुदूरपश्चिम सडकमार्ग आउन घण्टौँ लाग्ने गरेको छ।
देहरादुनमा नेपाली विद्यार्थी समेत छन्। उत्तराखण्डका खर्च गर्ने पर्यटक कैलाश मानव सरोवर जान देहरादुनबाट दिल्ली, दिल्लीबाट काठमाडौं, काठमाडौंबाट नेपालगञ्ज र हुम्लाको सिमकोट हुँदै हेलिकप्टरमा जाने गरेका छन्।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले उत्तराखण्डका पर्यटनमन्त्रीले नेपालमा उडान गर्नको लागि चासो राख्दै आएको बताए।
नेपालबाट बुद्ध एयरले भारतको कलकत्ता र बनारस उडान गरिसकेकाले देहरादुनमा नियमित उडान गर्न सक्नेबारे छलफल भएको निर्देशक लामिछानेले बताए।
‘हामीसँग छलफल भइरहेको थियो। काठमाडौं देहरादुन उडान गर्नेलाई सहुलियत दिने गरी प्रस्ताव नै माग गरेको छ,’ उनले भने, ‘यो हाम्रो लागि महत्त्वपूर्ण विषय हो। भारतीय पर्यटक बढाउन सहयोग पुग्छ।’
उत्तराखण्डमा धेरै नेपाली बस्दै आएका छन्। केदारनाथ धाम रहेको उत्तराखण्डबासी हिन्दु धर्मावलम्बीहरु पशुपतिनाथ दर्शनका लागि आउने गरेका छन्।
बुद्ध एयरले पोखराबाट देहरादुन उडानको लागि छलफल गरेको थियो। बुद्ध एयरले उत्तरखण्डका सरकारी अधिकारीसँग कुरा गर्दा भारतीय वायुसेवा प्रदायकलाई मात्रै सुविधा दिने कुरा गरेको बताए।
‘हामीले पोखराबाट देहरादुन सिधा उडान गर्न खोजेका थियौँ। तर भारत सरकारबाट अनुमति पाएनौँ’, बुद्ध एयरका सेल्स एन्ड ग्राउन्ड ह्यान्डलिङ प्रमुख रुपेश जोशीले भने, ‘अहिले यसको प्रस्ताव भारतीय सेवा प्रदायकले मात्र हाल्न सक्ने भनेका छन्। हामीले प्रस्ताव हाल्न पाए इच्छुक नै छौँ।’
उनले देहरादुन उडान गर्नको लागि महेन्द्रनगरको रुट भारतले दिनुपर्ने बताए। अहिले दिल्ली हुँदै जाने अन्तर्राष्ट्रिय रुटबाट एयरलाइन्स कम्पनीलाई फाइदा नहुने बताए।
Shares
प्रतिक्रिया