नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन्।
काठमाडौंमा आज सुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन्।
अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ। यहाँ लगानीमार्फत उत्पादन भएका बस्तुहरुलाई विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ।’
आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिँड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गर्नुभयो। लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाइ छ।
नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आह्वान गरे।
विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए।
उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बहिर्गमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ।’
काठमाडौंमा भइरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए। लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आह्वान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिब १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ।
Shares
प्रतिक्रिया