पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ४ दिनदेखि नियमित उडान हुनसकेको छैन। विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको हो।
नेपालभर आन्तरिक उडान हुनेमा सबैभन्दा बढी पोखरा हो। दैनिक करिब १०० बढी उडान हुन्छन्। केही दिनयता सबै उडान ठप्प भएका छन्। कुनै दिन २–३ वटा मात्रै उडान भएका छन्।
नेपाल भित्रिने सबैभन्दा बढी पर्यटक पुग्ने गन्तव्य पोखरामा हवाईमार्गको विकल्प सडक छ। तर सामान्य अवस्थामा काठमाडौँबाट ६ घण्टामा सजिलै पुगिने सडक अहिले १० घण्टामा पनि छिचोल्न मुस्किल पर्छ।
सडक विभागले मुग्लिनदेखि पोखराको सडक विस्तार गरिरहेको छ। उक्त सडकको काम पछिल्लो समय कालोपत्रे हुने चरणमा छ। तर काठमाडौंबाट पोखरा जाने नागढुंगा—मुग्लिनसम्मको सडक विस्तारको कामले यात्रा थप पट्यारलाग्दो बनिरहेको छ।
होटल संघ, नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्माले हवाई उडानमा बाधा पुगिरहेकै बेला सबै सडक एकैपटक खन्दा यात्रुलाई अप्ठ्यारो भएको बताए।
शर्माले प्रतिकूल वातावरणको कारण पोखरा क्षेत्रमा पर्यटकको यात्रासँगै बसाइ असहज भएको बताए। उनका अनुसार, पोखरा आसपासका क्षेत्रमा लागेको डढेलोले धुवाँयुक्त मौसम रहेको छ।
‘पोखरामा तुवाँलो लागेर ज्वरो, रुघाखोकी, भाइरलजस्तो देखिँदा आएका पर्यटक बस्न नमानेको अवस्था छ’, अध्यक्ष शर्माले भने, ‘काठमाडौंबाट पोखरा आउने पर्यटकले गन्तव्य परिवर्तन गरेका छन्। होटलका बुकिङ रद्द भएका छन्।’
वातावरणीय प्रतिकूलताका कारण पर्यटकीय राजधानी पोखरामा पर्यटक संख्यामा कमी आएको छ। बिहानदेखि साँझसम्मै आकाश नखुल्दा भएका पर्यटक पनि प्रकृतिमा रमाउन पाएका छैनन्।
नेपालको सबैभन्दा बढी वर्षात् पोखरा क्षेत्रमा हुने गर्छ। धेरैजसो साँझमा वर्षात् हुने गरेको थियो। तर अहिले पानी नपर्ने र तुवाँलोले धुम्म हुने गरेको छ।
शर्माले राज्यले जथाभावी वनमा डढेलो लगाउनेलाई कारबाही गर्नुपर्ने सुनाए। पोखरामा प्राकृतिकभन्दा पनि मानवीय क्रियाकलापका कारणले आकाश खुल्न नसकेको बताए।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले नियमित उडान हुन नसक्दा यात्रुले टिकट रद्द गराएको बताए।
‘उडान कति बेला हुन्छ निश्चित नै हुँदैन’, कर्णले भने, ‘टिकट काटिसकेका यात्रुको पैसा फिर्ता गरिरहेका छौँ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन कम्तीमा ३ हजारदेखि ३५ सय मिटर भिजिबिलिटी हुनुपर्छ। तर कुइरो, डढेलोसँगै हावा हुरीको कारण उडान रद्द भइरहेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब १ वर्ष भयो। विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिकमा सीमित थियो।
अहिले आन्तरिक उडान समेत हुनसकेका छैनन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले करिब एक हप्तादेखि पोखरामा उडान प्रभावित भएको बताए।
‘धेरै विमानस्थलमा डढेलोले उडान प्रभावित भएको छ तर पोखराजस्तो दिनभर नै उडान नभएको अवस्था छैन’, भुलले भने, ‘पोखरामा डढेलोसँगै नदीबाट कुइरो निस्किँदा उडान हुनसकेका छैनन्।’
अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सेती नदी छ। बिहानीपख नदीबाट बाफ निस्किएर उडान प्रभावित भइरहेको प्राधिकरणले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि छेउछाउमा अग्ला डाँडा भएकाले आईएफआर अर्थात् उपकरणको सहायताले अवतरण गराउन नसकिएको भुलले बताए।
‘पोखरा विमानस्थलमा आइएफआर उडान हुने गरे पनि डाँडा अग्ला हुँदा सामान्यतया ५ हजार मिटर भिजिबिलिटी हुनुपर्छ’, उनले भने, ‘अहिले कम्तीमा ३ हजारसम्म उडान गर्न सकिए पनि भिजिबिलिटी अपुग हुने गरेको छ।’
पोखरामा इस्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) भए पनि उडान गर्न नसकेको प्राधिकरणको भनाइ छ।
धूलो र धूवाँको कारण भिजिबिलिटी कम हुँदा केही देशले अप्राकृतिक वर्षा गराएर आकाश खुल्ला गराउँछन्। तर नेपालमा अहिलेसम्म उक्त प्रविधिको प्रयोग भएको छैन।
‘तत्काल हामीले केही गर्न सक्ने ठाउँ छैन। वर्षात् भए वातावरण सफा हुन्थ्यो। त्यसपछि मात्रै नियमित उडान गर्न सक्छौँ’, भुलले भने, ‘प्राकृतिक रुपमा वर्षात् कुर्नुबाहेकको विकल्प छैन।’
Shares
प्रतिक्रिया