कोरोनाकालमा नराम्रोसँग थला परेको नेपालको पर्यटन क्षेत्र बल्ल जुर्मुराएको छ। पर्यटक आवागमनको अवस्था हेर्दा यो क्षेत्र अब कोभिड महामारीअगाडिको अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ।
नेपालमा गएका ४ महिनामा ४ लाख पर्यटक भित्रिएका छन्। अहिलेकै दरमा पर्यटक आगमन वृद्धि हुँदै जाने हो भने २०२४ सबैभन्दा बढी पर्यटक भित्रिने वर्ष हुने प्रक्षेपण नेपाल पर्यटन बोर्डले गरेको छ। बोर्डका अनुसार, २०२४ मा १३ देखि १४ लाख पर्यटक भित्रिन सक्नेछन्।
अध्यागमन विभागको तथ्यांकअनुसार, पछिल्ला ६ वर्षको अप्रिल महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी पर्यटक यसैपालि भित्रिएका छन्।
२०१९ को अप्रिलमा नेपालले १ लाख ९ हजार ३ सय ९९ जना विदेशी पर्यटकलाई स्वागत गरेको थियो, त्यतिबेलासम्मको सर्वाधिक आँकडा थियो।
यस वर्षको अप्रिल महिनामा त्यो संख्या बढेर १ लाख ११ हजार ३ सय ७६ पुगेको छ। २०२३ को तुलनामा यो वृद्धि १२.७६ प्रतिशत हो भने कोभिड महामारीअघिको सामान्य अवस्थाभन्दा १.८१ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ।
लकडानउका बीच २०२० मा १४ जना मात्रै भित्रिए भने २०२१ मा २२ हजार ७३६ पुगेका थिए। २०२२ मा ६१ हजार ५८९ र २०२३ मा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।
२०२० मा कोभिड महामारीको कारण ठप्प भएको पर्यटन क्षेत्रले अहिले विश्वव्यापीरूपमै लय समातेको छ।
वसन्त ऋतु हिमाल आरोहण र ट्रेकिङको मौसम पनि हो। त्यसैले धेरै विदेशी पर्यटक नेपालमा साहसिक गतिविधि र प्राकृतिक सौन्दर्यमा रमाउन यही मौसममा आइपुग्छन्।
अहिले हिमाल आरोहणका लागि ९ सय १३ आरोहीले अनुमति लिएका छन्। जसमध्ये सगरमाथा चढ्न चाहने ३ सय ९० जना छन्।
त्यसबाहेक लोत्सेमा १ सय ३० जना र अमादब्लममा ९६ जनाले आरोहण अनुमति लिएका छन्। जेठको मध्यसम्म हिमाल आरोहणमा जाने धेरै हुन्छन्। अरू गतिविधिको तुलनामा हिमाल आरोहणमा आउने पर्यटकले खर्च बढी गर्छन्।
दोस्रोमा अमेरिकी र चिनियाँ प्रतिस्पर्धा
कोभिड माहामारीको ३ वर्ष चिनियाँहरू विदेश घुम्न निस्किएनन्। २०२४ मा चिनियाँ पर्यटकको संख्या बढे पनि पुरानै अवस्थामा फर्किन भने सकेको छैन।
यो वर्ष अप्रिलमा सबैभन्दा बढी पर्यटक भित्रिनेमा भारत रहेको छ, जहाँबाट ३० हजार १ सय ५८ पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै अमेरिकाबाट ९ हजार ९ सय ४७ र चीनबाट ९ हजार ७ सय ५० पर्यटक भित्रिएका छन्।
तीबाहेक बेलायतबाट ५ हजार ३ सय ९१, अस्ट्रेलियाबाट ४ हजार १ सय १० पर्यटक नेपालमा रमाउन आएका छन्।
यस्तै बंगलादेशबाट गत महिनामा ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५, जर्मनीबाट ३ हजार २ सय ७०, रुसबाट २ हजार ९ सय ७७ र मलेसियाबाट २ हजार ३ सय १० पर्यटक भित्रिए।
अघिल्लो महिना (मार्च)मा १ लाख २८ हजार १६७ रहेको छ। जसमा भारतबाट ३० हजार ६९८, चीनबाट १२ हजार ९३ र अमेरिकाबाट १० हजार ७६३ जना पर्यटक भित्रिएका थिए।
फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्। जसमा भारतबाट २५ हजार ५७८, चीनबाट ९ हजार १८० र अमेरिकाबाट ९ हजार ८९ पर्यटक भित्रिएका छन्।
जनवरीमा सबैभन्दा कम पर्यटक भित्रिएका थिए। ७९ हजार १०० पर्यटक भित्रिँदा भारतबाट २४ हजार १ सय ३९, चीनबाट ७ हजार २ सय ६७ र अमेरिकाबाट ७ हजार ४७ पर्यटक भित्रिए।
कोभिड महामारीपछि २०२२ मा नेपालमा चिनियाँ पर्यटक एकदमै कम रहेका थिए। २०२३ मा भारत, अमेरिकापछि चिनियाँ पर्यटक भित्रिएका छन्।
२०२३ मा ३१.५२ प्रतिशत भारतीय पर्यटक आउँदा, अमेरिकी ९.८८ प्रतिशत र चिनियाँ ५.९९ प्रतिशत भित्रिएका थिए।
पछिल्लो ४ महिनामा चीनबाट ३८ हजार २ सय ९० पर्यटक भित्रिएका छन्। ३६ हजार ८४७ पर्यटक भित्रिएका छन्।
जीडीपीमा पर्यटन क्षेत्रको योगदान सबैभन्दा बढी
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रले सबैभन्दा बढी योगदान दिने उल्लेख गरेको छ।
कार्यालयका अनुसार कुल मूल्यअभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धिजस्ता कारणले चालू आर्थिक वर्षमा यस क्षेत्रको मूल्यअभिवृद्धिमा उल्लेख्य सुधार हुने आकलन छ।
गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत रहको थियो।
त्यसअघि आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर जम्मा १२.५६ प्रतिशत मात्रै रहेको थियो।
राष्ट्र बैंकका अनुसार पछिल्लो ८ महिनाको तथ्यांकअनुसार पर्यटकको आवगमन बढ्दा सेवा खाताअन्तर्गत भ्रमण आय ४२.१ प्रतिशतले वृद्धि भएको छ।
८ महिनामा ५१ अर्ब ३९ करोड भ्रमण आयबाट आम्दानी भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३६ अर्ब १६ करोड रहेको थियो ।
Shares
प्रतिक्रिया