चौधरी ग्रुपद्वारा सञ्चालित सी.जी. फुड्स पार्क, भैंसेपाटीमा आज अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरिएको छ।
दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको ग्रुपले जनाएको छ।
फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेको ग्रुपको भनाइ छ।
त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएका थिए। त्यसपछि आक्रमणकारीहरू त्यहाँबाट पछि हटेको र त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको बताइएको छ।
‘देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ । यस घटनाको हामी भर्त्सना गर्दछौँ’, ग्रुपले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्याउन सक्नेतर्फ सचेत रहन हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँछौँ।’
घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न ग्रुपले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ। साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि ग्रुपले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
Shares
प्रतिक्रिया