राष्ट्र बैंकले घरजग्गा खरिद गर्नेहरुलाई सहज बनाउने भएको छ।
त्रैमासिक मौद्रिक समीक्षामार्फत आम्दानीको ७० प्रतिशत किस्ता घरजग्गा खरिद गर्न प्रयोग गर्न दिने भएको हो।
हाल मासिक १ लाख आम्दानी भएकाले ५० हजार किस्ता दिने गरी घर जग्गा खरिद गर्न पाउँछन्। राष्ट्र बैंकको नयाँ व्यवस्थाले १ लाख आम्दानी गर्नेले ७० हजार मासिक किस्ता तिर्न सक्ने गरी आफ्नो सम्पत्ति जोड्न सक्ने भएका हुन्।
शुक्रबार जारी गरिएको मौद्रिक नीतिको तेस्रो समीक्षामा उल्लेख गरिएको छ, ‘ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनेछ।’
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा खरिद गर्नेलाई सहज बनाउने गरी राष्ट्र बैंकको नीति आएको बताए।
‘राष्ट्र बैंकले उपभोक्ताको सहजताको लागि गरेको व्यवस्था स्वागतयोग्य छ’, लोहनी भन्छन्, ‘डेभलर्पसको लागि लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउनुपर्ने माग थियो। अहिले सम्बोधन भएन।’
राष्ट्र बैंकको नीतिले हाउजिङ, अपार्टमेन्ट, प्लट बिक्रीमा केही सहज हुने उनी बताउँछन्।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिले डेभलपर्सहरुको माग समेत सम्बोधन गर्ने लोहनीको विश्वास छ।
Shares
प्रतिक्रिया