ad ad

कारोबार


पश्चिम सेती र सेती नदी-६ को डीपीआर तयार, अन्तिम प्रतिवेदनपछि पीडीएको प्रक्रिया अघि बढ्ने

पश्चिम सेती र सेती नदी-६ को डीपीआर तयार, अन्तिम प्रतिवेदनपछि पीडीएको प्रक्रिया अघि बढ्ने

रासस
असार ६, २०८१ बिहिबार १३:५२, काठमाडौँ

भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीका अनुसार एनएचपीसीले बुधबार डीपीआरको मस्यौदा बुझाएको हो।  

“परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डीपीआरको मस्यौदा बुझाएको छ। यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया (कमेन्ट) दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डीपीआर तयार हुनेछ”, सहसचिव अधिकारीले भने।

अन्तिम डीपीआर तयार भएपछि परियोजना विकास सम्झौता (पीडीए) प्रक्रिया अघि बढ्नेछ।
     
सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको एसआर–६ आयोजनाको विस्तृत परियोजना अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न २०७९ भदौ २ गते लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भइ वि.सं. २०७९ कात्तिकमा सर्वेक्षण अनुमतिपत्र जारी भएको थियो।

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र डीपीआर तयार गरी लगानी बोर्डको कार्यालयमा पेस गर्ने गरी उक्त सम्झौता भएको थियो।

त्यसअघि, २०७९ जेठ २३ गते बसेको लगानी बोर्डको ५१औँ बैठकले यी दुई आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । त्यस्तै २०७९ साउन २३ गते बसेको लगानी बोर्डको ५२औँ बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।
     
परियोजनाको अन्तिम डीपीआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिनेछ। त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन निर्माण, वित्तीय स्रोतको उपलब्धतालगायतका विषयमा पनि डीपीआरले मार्गदर्शन गर्नेछ । डीपीआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पीडीए हुनेछ ।

यसअघिको अध्ययनअनुसार सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार तीन सय २० मिलियन अमेरिकी डलर र चार सय ५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .