ad ad

कारोबार


सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन : अर्थमन्त्री पौडेल

सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन : अर्थमन्त्री पौडेल

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १९:१३, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिवद्धता जनाएका छन्।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताए। 

अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गरे।

साथै, राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको उनको जिकिर थियो।

‘अहिलेको सरकार समस्याको आगो ताप्नका निम्ति बनेको सरकार होइन। यो सरकार समस्याको आगो निभाउने र समस्या समाधान गर्नको निम्ति बनेको सरकार हो। राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको छ। अब यो संसदमा स्थायीत्व र स्थिर सरकारको सन्देश दिन सक्ने सरकार यही हो  यो भन्दा अर्को सरकार हुन सक्दैन,’ उनले भने। 

अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन, पुँजीगत खर्च र राजश्व लगायतका सूचकहरु घटेको अवस्था रहेको पनि उल्लेख गरे। अर्थतन्त्रका सूचकहरु मात्रै नभएर मानिसहरुको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने उनको भनाइ थियो। 

बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौति रहेको उनले बताए।

‘बजारमा माग र उत्पादन, पुँजीगत खर्च घटेको र राजश्व घटेको अवस्था छ। त्यो भन्दा पनि मानिसहरुको मन टुटेको अवस्था छ। बैंकमा तरलता छ ब्याजदर घट्दै गएको छ तर ऋण लिन जाने मानिसहरू छैनन्,’ पौडेलले भने, ‘उद्योगीहरू नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा हुनुहुन्छ। निजी क्षेत्रका यी सबै समस्यालाई समाधान गर्न सकिन्छ भन्ने आत्मविश्वास नजगाई नहुने अवस्थामा आईपुगेका छौं।’

उनले अघि थपे, ‘निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार हो। निजी क्षेत्रको आत्मविश्वास कसरी बढाउने भन्नेमा सरकारको ध्यान केन्द्रित छ। तपाईहरुले सरकार प्रति आशा, भरोसा र विश्वास गर्नुस्। निजी क्षेत्रका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहल कदमी लिन्छ। निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कन सक्छ भन्ने विश्वास लिनुस्। सरकार सबैको अभिभावक हो। अभिभावकको भुमिका सरकारले निर्वाह गर्छ। सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .