प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडले औपचारिक रुपमा कारोबार सुरु गरेको छ।
प्रभु बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बुधबार एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्।
सो कार्यक्रममा उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे।
उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजीबजारको विकासमा केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउने शुभकामना व्यक्त गरे। कार्यक्रमका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको बताए।
प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
बुद्धनगर – १०, नयाँबानेश्वर काठमाडौंमा केन्द्रीय कार्यालय रहेको कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ छ।
Shares
प्रतिक्रिया