ad ad

कारोबार


उद्घाटन भयो नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क

द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यो परियोजना सफल हुनेछ : चिनियाँ राजदूत
उद्घाटन भयो नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क

नेपालखबर
भदौ १२, २०८१ बुधबार १४:२३, काठमाडौँ

चीन–दक्षिण एसियाली राष्ट्रहरुको गरिबी निवारण तथा साझेदारी विकास केन्द्रको नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको आज उद्घाटन गरिएको छ। चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पार्कको उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसले नेपालको जनसंख्याको ठूलो हिस्सालाई समेटेको बताइन्।

उनले भनिन्, “जलवायु परिवर्तन, खाद्य सुरक्षा र दिगो कृषि विकासका चुनौतीहरु यस परियोजनामार्फत समाधान हुनेमा हामीले विश्वास लिएका छौँ।”

चितवन कृषि तथा वनविज्ञान विश्वविद्यालयका कृषि विज्ञहरुसँग मिलेर नेपालमा धान उत्पादन र उपज बढाउने उद्देश्यले वैज्ञानिक अनुसन्धान र प्रयोगहरु गर्न सहयोग गरेकोमा उनले धन्यवाद व्यक्त गरिन्।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन–दक्षिण एसियाली देश गरिबी निवारण तथा सहकारी विकास केन्द्र अन्तर्गत नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको उद्घाटन गरिएको बताए। उनले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय कंग्रेसको प्रतिवेदनमा उल्लिखित निर्देशन कार्यान्वयन गर्ने ठोस कार्य भएको प्रष्ट्याए। 

सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा चीन र नेपालका नेताहरूबीच भएको सहमतिसँग पनि यो परियोजनाले मेल खाएको उनको भनाइ थियो।

उनले भने, “दुई देशबीच र स्थानीय स्तरमा व्यापार, जीविकोपार्जन सुधार, युवा आदानप्रदान र अन्य क्षेत्रमा आदानप्रदान र सहयोग प्रवर्द्धन गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यो परियोजना सफल हुनेछ।”

राजदूत चेनले आगामी पाँच वर्षमा नेपाल र चीन दुवैको संयुक्त प्रयासबाट नेपालको धान उत्पादन प्रविधिमा उल्लेख्य बृद्धि हुने विश्वास व्यक्त गरे। उनले चीन–नेपाल मित्रता थप प्रगाढ हुने र ती प्रयासबाट नेपाली जनता लाभान्वित हुने विश्वास व्यक्त गरे।

समारोहमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शारदा थपलिया, चोङकिङ कृषि समितिको तर्फबाट चोङकिङ कृषि तथा ग्रामीण समितिका उपनिर्देशक वाङ सिजी, चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयका निर्देशक जोउ झिकियाङ लगायतले परियोजनाको महत्वका बारेमा बोलेका थिए। 

परियोजनाले नेपालमा हाइब्रिड धानको उत्पादन बढाउने र धान खेती, पशुपालन, माछापालन र हरितगृहमा सहकार्यलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । चीनमा उत्पादित वर्णशंकर (हाईब्रिड) धानका जातहरुलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक एवं चिनिया विश्वविद्यालयका प्राध्यापकहरुको सहकार्यमा यहाँ अनुसन्धान गर्ने लक्ष्य लिइएको छ।

धानका जातहरुको परीक्षण गरी धानको उत्पादकत्व बढाउन र समग्र कृषिको आयात प्रतिस्थापन गर्न परियोजना सफल हुने लक्ष्य लिइएको सो अवसरमा जानकारी गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .