ad ad

कारोबार


एक महिनामै १ अर्ब रकममाथिको बिमालेख सरेन्डर, एलआईसीकै ५१ करोड माथि

एक महिनामै १ अर्ब रकममाथिको बिमालेख सरेन्डर, एलआईसीकै ५१ करोड माथि

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १३:३०, काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो महिना साउनमै १ अर्ब रकम माथिको बिमालेख सरेन्डर भएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरुबाट १ अर्ब रकम माथिको बिमालेख सरेन्डर भएका हुन्। 

बिमा प्राधिकरणका अनुसार बिमितले सिमित अवधिका लागि खरिद गरेको बिमालेख बीचमै त्याग्न सक्ने व्यवस्था छ। आवश्यक कारण देखाई बिमाबापतको तीन किस्ता रकम बुझाएको खण्डमा बिमितले बिमालेख सरेन्डर गर्न सक्छन्। बिमितले किस्ता तिर्न नसक्ने अवस्था खुलाएर आवेदन दिएमा तीन किस्ताबापतको रकम आएपछि बिमा कम्पनीहरुले बिमालेख सरेन्डर गराउँछन्।  

यसरी साउन महिनामा बिमालाई बीचमै त्याग्ने बिमितको संख्या बढेको हो। साउन महिनामा कुल १ अर्ब ५४ करोड ११ लाख रुपैयाँबराबरको बिमालेख बिमितले त्यागेका हुन्। 

यो महिना सबैभन्दा धेरै एलआईसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) को बिमालेख सरेन्डर भएका छन्। 

व्यवसायका आधारमा अगाडि रहेको यो कम्पनीको जारी बिमालेख संख्या पनि अरुभन्दा बढी छ। यो कम्पनीको साउन महिनामा ५१ करोड ३४ लाख रुपैयाँ बराबरको बिमालेख सरेन्डर भएका छ।

योबाहेक नेपाल लाइफ इन्स्योरेन्सको ४८ करोड ४१ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको छ।  

योबाहेक राष्ट्रिय जीवन बीमा कम्पनीको ७ करोड ८७ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ३८लाख, मेट लाइफको ४ करोड ४९ लाख, एशियन लाइफको १३ करोड ५५ लाख रुपैयाँबराबरको बिमा सरेन्डर भएको छ। 

प्राधिकरणका अनुसार सबैभन्दा थोरै बिमा सरेन्डर सन नेपाल लाइफ इन्स्योरेन्सको छ। सन् २०१७ मा स्थापना भई सञ्चालनमा आएको यस कम्पनीको साउन महिनामा ५७  लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको छ। 

बिमा कम्पनीहरुका लागि सरेन्डर संख्या बढ्नु राम्रो मानिँदैन। बीचमै बिमालेख त्याग्दा बिमा कम्पनीहरुले थप आर्थिक भार व्यहोर्नुपर्छ। 

सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीमध्ये सबैभन्दा ठूलो एलआईसीको सबैभन्दा धेरै बिमालेख त्याग भएको हो भने सबैभन्दा कान्छो कम्पनी सन नेपाल लाइफको सबैभन्दा थोरै बिमालेख सरेन्डर भएको छ। 

यीबाहेकका आईएमई लाइफ इन्स्योरेन्सको २ करोड, रिलायबल नेपाल लाइफको १ करोड २१ लाख, सिटिजन लाइफको १ करोड ५९ लाख,सूर्यज्योति लाइफको ५ करोड ८५ लाख, सानिमा लाइफको २ करोड ६६ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएका हुन्।

हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफको भने क्रमश: ७ करोड ७ लाख र १ करोड ५ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .