ad ad

कारोबार


पहिरोले टुट्यो उपत्यका जोड्ने सडक सम्बन्ध, दसैँमा हिँड्ने राजमार्ग कहिले खुल्छन्?

मुख्य राजमार्गको ५७ ठाउँमा सडक अवरुद्ध, ५ वटा ठूला पुल बगे
पहिरोले टुट्यो उपत्यका जोड्ने सडक सम्बन्ध, दसैँमा हिँड्ने राजमार्ग कहिले खुल्छन्?

वसन्त अर्याल
असोज १३, २०८१ आइतबार १४:३३, काठमाडौँ

सबैभन्दा बढी यात्रुको चाप हुने समयमा राजमार्ग अवरुद्ध बनेका छन्। 

आइतबार दिउँसोसम्म मुख्य राजमार्गको ५७ ठाउँमा सडक अवरुद्ध भएको छ।  

सडक विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यका जोड्ने कुनै पनि सडक अझै खुल्नसकेको छैन। प्राकृतिक विपत्तिले २ दिनदेखि देशको राजधानी जोड्ने सबै सडक अवरुद्ध गरेको हो। 

पूर्वबाट आउने बीपी राजमार्ग सबैभन्दा बढी ठाउँमा क्षति भएको छ भने मुख्य राजमार्गको रुपमा रहेको त्रिभुवन राजपथअन्तर्गत धादिङको झ्याप्ले खोलामा लेदोले बाटो खुल्नसकेको छैन। 

शनिबारबाट बिहानैबाट काठमाडौं जोड्ने सबै सडक बन्द भएका थिए। अन्य सडक खुल्न समय लागे पनि त्रिभुवन राजपथ आइतबार साँझसम्म खुल्ने सडक विभागले जनाएको छ। 

सडका विभागका महानिर्देशक रामहरी पोखरेलले बागमती प्रदेशका सबैभन्दा सडक र पुलमा बढी क्षति पुगेको बताए। सुनकोसी नदीले धेरै ठाउँमा क्षति पुर्‍याएको उनको भनाइ छ। 

‘काठमाडौं जोड्ने त्रिभुवन राजमार्ग आइतबारबाटै सञ्चालनमा ल्याउँछौँ’, महानिर्देशक पोखरेलले भने, ‘धादिङको झ्याप्लेखोलामा पहिरो हटाउने समयमा पुरिएको गाडी भेटिएपछि ढिलाइ भइरहेको छ।’

यसको विकल्पको रुपमा धार्के सीतापाइलाको बाटो हुँदै केही गाडी उपत्यका आवतजावत गरेका छन्। 

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले पनि मुख्य राजमार्ग अझै खुलाउन नसकिएको बताए। 

‘सडकमा पहिरो पन्छाउँदै जाँदा पुरिएको अवस्थामा गाडी भेटिएको छ’, उनले भने, ‘यसले पहिरो पन्छाउन ढिलाइ भएको हो। साँझसम्म बाटो खुलाउने प्रयास जारी छ।’

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान खसेको पहिरोका कारण दमौली -डुम्रे  सडकखण्ड अवरुद्ध छ। तस्बिर : रासस

कुन–कुन सडक कहाँ–कहाँ अवरुद्ध छन्?
देशभरका ५७ वटा सडक अझै अवरुद्ध छन्। काठमाडौं उपत्यका जोड्ने राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएका हुन्। 

बीपी रामार्गको बर्दिबास–सिन्धुली–खुर्कोट– धुलिखेल सडक खण्डको काभ्रे जिल्लास्थित भ्याकुरेमा शनिबार बिहानदेखि अवरुद्ध छ। त्यस्तै काभ्रेकै चर्सया, ममति खोला, कालढुंगा, बोक्सी कुना, नार्के पुल, काभ्रे भञ्जाङ, पिनथलि बेसी, भिंडी बेसी, डाला बेसी, चौकी डाँडामा रोकिएको छ। 

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सिम्ले, धकलाङ, कोदारी, दोलाघाट चौतारीको सडक बन्द छ। सिन्धुपाल्चोकै सिर्सिरे, लिपिङ पुल बगाएको छ। 

त्रिभुवन राजपथ हेटौंडा–भैँसे–पालुङ– नौबीसे–काठमाडौं पनि अवरुद्ध छ। धादिङको झ्याप्ले खोलामै अवरोध छ।

मध्यपहाडी राजमार्गअन्तर्गत ओखलढुंगाको भँडारे खोलाभन्दा माथि रोकिएको छ। सिन्धुलीको हर्जेनी, बलेनी, सालघारी, कुखुरेटार, ल्याउ खोला, फिक्कल, रामेघापको खैरेनी घाट, लुभु खोला अवरुद्ध भएको छ। 

पूर्वमा मेची राजमार्गको चारआली–फिदिम सडकको फिदिममा सडक अवरुद्ध भएको छ। भेडेटार रवि राँके सडकको पाँचथर मैदानेमा रोकिएको छ। मिर्चैया कटारी घुर्मी सडकअन्तर्गत उदयपुरमा चनौटेदेखि घुर्मीसम्म बन्द भएको छ। तमोर करिडोरको चतरा पुलदेखि वराहक्षेत्रसम्म जाने सडकमा पहिरो गएको छ। 

उदयपुरको फोक्सिङटारमा पहिरोले लाहान–गाइघाट–महुरे सडक रोकिएको छ। 

बीपी राजमार्गमा भास्सिएको सडक

ललितपुरको ग्वार्को–लुभु– लाकुरीभन्ज्याङ सडकको लाकुरी भञ्ज्याङ मानेदोभानमा रोकिएको छ। पश्चिममा डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको रामबजारमा रोकिएको छ। सालझण्डी–सन्धिखर्क–ढोरपाटनको अर्घाखाँची घोलाडाँडामा रोकिएको छ।

सडक विभाग यान्त्रिक महाशाखा प्रमुख भुवन अधिकारीले सडक पहिरो गएको ठाउँमा उपकरण पुगेको बताए। 

‘सबैभन्दा बढी क्षति बीपी राजमार्गमा गएको छ। पहिरो गएको ठाउँमा उपकरण पुगिसकेका छन्’, उपमहानिर्देशक अधिकारीले भने, ‘१–२ दिनभित्र अधिकांश पहिरो हटाइसक्छौँ। तर सडक नै भासिएको, खोलाले बगाएको ठाउँमा धेरै समय लाग्छ।’

उनले साना नदीमा ढुंगा राखेर भए पनि गाडी गुड्नसक्ने अवस्था बनाए पनि सुनकोसीमा कसरी व्यवस्थापन गर्ने भन्ने छलफलमै रहेको बताए। 

सोमबारसम्म अधिकांश सडकको पहिरो हटेर गाडी गुड्नसक्ने अवस्था बनाउने उनले बताए। 

काभ्रेपलाञ्चोकका सडक हेर्ने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले विभिन्न खण्डमा बीपी राजमार्गको डेढ किलोमिटर सडक नै नरहेको बताए। 

‘साँझसम्म काभ्रेको भकुन्डेबेसीसम्म बाटो खोल्न सकिन्छ’, योगेशले भने, ‘अन्य ठाउँको विस्तृत तथ्यांक नै आएको छैन। सोमबारसम्म क्षति संकलन गरी अवरोध हटाउन सुरु गर्छौँ।’

५ वटा ठूला पुल बगे
शुक्रबार र शनिबार ५ वटा पुलमा क्षति पुगेको छ। मेचीराजमार्गको हेवा खोलामा बेली ब्रिज बनाएको ४९ मिटर लामो पुल अत्यधिक वर्षाका कारणले आएको भीषण बाढीले पुल नै बगाएको छ। 

सुनकोसी नदीले स्टिल टसको १०० मिटर लामो पुल बनाएको छ। नदीमा बढेको वहावले एउटा पुल स्पान बगेको छ। सडक डिभिजन इलामअन्तर्गत आरसीसीको निर्माणाधीन ३५ मिटर लामो पुल पूरै बगाएको छ। 

हुलाकी राजमार्गअन्तर्गत झापामा बिरिङ खोलामा अत्यधिक वर्षाको कारणले दायाँतर्फको सडकसँगै पुलमा क्षति पुर्‍याएको छ। उक्त पुल ३१८ मिटर लामो थियो। 

धरानमा निर्माणाधीन लहान–गाइघाट–सोलुको सुनकोसी नदीले पुल बगाएको छ। पुलको आधा भाग बगाएको सडक विभागले जनाएको छ। 

असार र साउनमा आएको बाढीले ६ वटा नदी बगाएको थियो। मध्यपहाडी राजमार्गको ओयाम खोला, फाल्मे खोला, नुवा खोली, हेवा खोला इकुवा खोला र सुधा खोलका पुल बगेका थिए। 

यता पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौतीदेखि रोशीसम्मका खोलामा रहेका ७ वटा पुल बगाएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .