ad ad

कारोबार


सोमबारको हवाइ टिकट पाउन मुस्किल, पाए पनि दोब्बर भाडा

सोमबारको हवाइ टिकट पाउन मुस्किल, पाए पनि दोब्बर भाडा

नेपालखबर
असोज १३, २०८१ आइतबार १७:१३, काठमाडौँ

सोमबारको लागि काठमाडौंबाहिर आन्तरिक उडान गर्ने हवाइ अकुपेन्सी शतप्रतिशत भरिएको छ।

बाढी पहिरोको कारण सडक यातायातका साधन चल्न नसकेपछि हवाइ यातायातको अकुपेन्सी भरिएको हो। 

बिहीबारबाट सडक यातायात र हवाइ यातायात दुवै अवरोध भएको थियो। शनिबार साँझ आन्तरिक उडान सुरु भएसँगै आइतबार र सोमबार हवाइ उडानको चाप बढेको छ। सोमबार अधिकांश गन्तव्यमा यात्रुलाई टिकट पाउनै मुस्किल परेको हो। 

बुद्ध एयरका सेल्स हेर्ड रुपेश जोशीले सोमबारको लागि यात्रुलाई टिकट पाउन मुस्किल बनेको बताए। 

‘हामीले पूर्णरुपमा उडान गर्दा पनि यात्रुको मागअनुसार टिकट उपलब्ध गराउन सक्ने अवस्था छैन’, जोशीले भने,‘बाढी पहिरोले गर्दा सबै यात्रु हवाइ यात्रातर्फ आकर्षण भएका देखिन्छन्।’

२ दिनको पूर्णरुपमा सबै यातायात बन्द भएकाले सोमबारसम्म उडान यात्रुको व्यवस्थापन गर्न अप्ठ्यारो परेको बताए। 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले कुनै पनि गन्तव्यको टिकट बाँकी नरहेको बताए। उनले विमानस्थलमा उडान चाप अत्यधिक भएकाले थप गर्नसक्ने अवस्था नरहेको बताए। 

‘त्रिभुवन विमानस्थलमा अत्यधिक चाप देखिएको छ। सोमबारको लागि यति एयरलाइन्सका ७० उडान छन्’, बर्तौलाले भने, ‘उडान थप गरे पनि चापले सकिँदैन।’

कम्पनीहरुले विभिन्न गन्तव्यमा १–२ उडान थप गर्दा पनि अधिकतम भाडा लिने गरेका छन्। यात्रु नहुँदा ६–७ हजारमै धनगढी उडान भर्ने एयरलाइन्सले १७ हजार रुपैयाँ राखेका छन्। 

काठमाडौंदेखि धनगढी उडान गर्दा एउटा श्रीएयरलाइन्सको मात्रै टिकट खाली छ। कम्पनीले एकतर्फीको भाडा १७ हजार तोकेको छ। बिहान ११:३५ को उडान छ।

भैरहवामा बुद्ध एयरको एक उडान बाँकी छ। २ः०५ बजेको उडान भाडा ६५ सयदेखि ८ हजार ५६४ रुपैयाँसम्म छ।

मंगलबारको लागि भने हवाइ टिकट उपलब्ध छन्। सोमबारबाट त्रिभुवन राजमार्ग, पृथ्वीराजमार्ग चल्ने भएकाले हवाइ उडानको चाप कम हुने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .