विश्व बैंकले गरेको नेपालको चालू आर्थिक वर्षको वृद्धिदर प्रक्षेपण नमिल्ने राष्ट्रिय तथ्याङ्क विभागले दाबी गरेको छ।
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २ दशमलव ८ प्रतिशतभन्दा माथि जान नसक्ने अनुमान गरेको दुई दिनपछि विभागले उक्त अनुमानित दरको दोब्बर वृद्धि हासिल हुने जनाएको हो।
हरेक वर्ष आर्थिक वर्ष सकिन करिब ३ महिना बाँकी हुँदा तथ्याङ्क विभागले विश्लेषणात्मक प्रक्षेपण गर्दै आएको छ। सोहीअनुसार विभागले हालसम्मको विवरण संकलन गरेर आर्थिक वृद्धिदर प्रक्षेपण सार्वजनिक गर्नुपर्ने भए पनि कोरोना संक्रमणले गर्दा उक्त प्रक्षेपण सार्वजनिक गर्ने काम अन्योलमा परेको छ।
तर पनि नेपालको आर्थिक वृद्धिदर विश्व बैंकले भनेभन्दा बढी हुने देखिएको विभागले दाबी गरेको छ। विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार कोरोनाको जति प्रभाव परे पनि नेपालको आर्थिक वद्धिदर ४ देखि ५ प्रतिशतको हाराहारीमा हुनेछ।
नेपालले आफ्नो लक्ष्य ८ दशमलव ५ प्रतिशतेको राखेको छ। तर लक्ष्यको करिब आधा वृद्धिदर कायम हुने र विश्व बैंकको प्रक्षेपणभन्दा दोब्बर हुने उनले दाबी गरे।
नेपालको अर्थतन्त्रमा कोरोना प्रभाव मुख्यतः पर्यटन क्षेत्रमा परेको र यस क्षेत्रको अर्थतन्त्रमा योगदान करिब ५ प्रतिशत मात्रै रहेकोले यो वृद्धिदर ठूलो रुपले नघट्ने आँकलन उनले गरे।
महानिर्देशक श्रेष्ठले भने, ‘नेपालको प्रमुख योगदान गर्ने क्षेत्र कृषि हो। यसको योगदान करिब ४० प्रतिशत रहेकोले गर्दा यसमा कोरोनाको प्रभाव सामान्य मात्रै परेको तर पनि कोरोनाको प्रभाव अरु दुई महिना लम्बिने हो भनेचाहिँ कृषि पनि निकै खस्किन सक्छ। यसको विश्लेषण छुट्टै गर्नुपर्ने हुन्छ।’
विशेषतया पर्यटन नै मुख्य अर्थतन्त्र भएको मुलुकको हकमा भने विश्व बैंकको प्रक्षेपण सही पनि हुनसक्ने उनले बताए। विश्व बैंकको प्रक्षेपण विगतमा पनि नमिल्ने वा बढी हुने गरेको थियो।
विश्व बैंकले नमूना सर्वेक्षणमार्फत आर्थिक वृद्धिदरको प्रक्षेपण गर्छ तर तथ्याङ्क विभागले भने कोर तथ्याङ्कमार्फत विश्लेषण गर्ने भएकोले विश्व बैंकको प्रक्षेपण कुनै मुलुकमा मिल्ने र कुनै मुलुकमा नमिल्ने हुने गरेको विभागको भनाइ छ।
विश्व बैंकले कोरोनाको प्रभावले यो वर्ष नेपाललगायत दक्षिण एसियाका अधिकांश देशको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ८ प्रतिशतबीच रहने बताएको छ।
आइतबार बैंकले ‘साउथ एसिया इकोनोमिक फोकस’ नामक रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टमा दक्षिण एसियाको अर्थतन्त्र आगामी दिनमा बिग्रिँदै जाने बताएको छ।
जसअनुसार आगामी वर्षहरुमा समेत अर्थतन्त्र सम्हाल्न गाह्रो पर्ने बताएको छ। रिपोर्टमा आगामी वर्ष २०२१ मा आर्थिक वृद्धिदर १ दशमलव ४ देखि २ दशमलव ९ प्रतिशतको बीचमा रहने प्रक्षेपण समेत गरेको छ।
त्यसपछिको वर्षमा भने केही सुधार भएर सन २०२२ मा २ दशमलव ७ देखि ३ दशमलव ६ प्रतिशतको बीचमा रहने भनिएको छ।
नेपालले यो वर्ष ८ दशमलव ५ प्रतिशतको लक्ष्य राखिरहँदा विश्व बैंकले ६ महिनाअघि मात्र नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। यो रिपोर्ट आइसकेपछि अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलाई माथ खुवाउने गरी जसरी पनि ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुने दाबी गरेका थिए।
यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.५ प्रतिशत मात्रै वृद्धि हुने जनाएको छ। कोषका अनुसार विश्व महामारी कोरोनाभाइरसको कारण आर्थिक वृद्धिदरमा असर पुग्नेछ। तर सन् २०२१ मा भने ५ प्रतिशत वृद्धि हासिल हुने अनुमान उसको छ।
भर्खरै सार्वजनिक ‘वर्ल्ड इकोनोमिक आउटलुक’ रिपोर्टमा आईएमएफले यस्तो अनुमान गरेको हो। कोषका अनुसार नेपाल समेत सूचीकृत उदाउँदो र विकासोन्मुख एसिया अर्थतन्त्रले यो वर्ष १ प्रतिशत र अर्को वर्ष ८.५ प्रतिशत वृद्धि हासिल गर्नेछ।
प्रतिक्रिया