ad ad

कारोबार


काठमाडौंका मुख्य सडकमा सकियो ‘ओभरले’, चाबहिल र पुतलीसडकमा निर्माण सामग्री अभाव

काठमाडौंका मुख्य सडकमा सकियो ‘ओभरले’, चाबहिल र पुतलीसडकमा निर्माण सामग्री अभाव

वसन्त अर्याल
जेठ ५, २०७७ सोमबार ७:५३,

काठमाडौंका मुख्य सडकमा ओभर–ले गर्ने काम सकिएको छ। लकडाउनकै बीच तीव्र गतिमा काम भएपछि करिब ४० किमि सडकको ओभरले तथा मर्मतसम्भार सकिएको हो।

तर पछिल्लो समय निर्माण सामग्री अभाव भएपछि चाबहिल–गौशाला खण्ड र पुतलीसडक भने लथालिंग अवस्थामै हुनपुगेका छन्। चाबहिल र पुतलीसडक खण्डमा निर्माण सामग्रीको अभावले काम अघि बढाउन नसकिएको काठमाडौं सडक डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयले आफ्नो मातहत पर्ने ४१ किमि सडक असार मसान्तभित्र ओभर–ले काम सक्ने लक्ष्यसाथ काम गरिरहेको छ।

‘नारायण गोपाल चोकदेखि गंगालाल हस्पिटलसम्म करिब १ किमि लम्बाइ र १३ मिटर चौडाइ भएको सडकमा ओभर–ले आइतबार सकिएको छ’, सडक विभागअन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले भने, ‘सोमबार र मंगलबारमा न्युरो हस्पिटल र वसुन्धरा खण्डको १ किमिसँगै यो वर्षको ओभर–लेको काम सम्पन्न हुन्छ।’

कार्यालयले लकडाउनलाई अवसरको रुपमा लिई निर्माणको कामलाई तीव्र पारेको हो। काठमाडौंका मुख्य सडकमा लेन, जेब्राक्रसिङलगायत पेन्टिङका काम समेत गरेर सडक आकर्षक बनाएको छ।

‘हाम्रो ओभर–लेको काम लगभग सकिएको छ। १०/१२ दिनपछि सडक रङरोगनका काम पनि हुन्छ। चालू आर्थिक वर्षमा धेरै सडक आकर्षक हुन्छन्’, नेपालीले भने।

लकडाउनले धैरै काम बन्द हुँदा पनि काठमाडौंको सडक ओभर–ले को काम नरोकेको उनले बताए। कोरोनाबाट सुरक्षा अपनाई कार्यालयले कामलाई निरन्तरता दिएको उनको भनाइ छ।

उनले भने, ‘लकडाउनको बीचमा ओभर–लेबाहेक कोटेश्वर–भक्तपुर सडक खण्डमा ओभरलोडले गर्दा निस्केका टुटिल्का मिलाउने काम पनि गर्यौं।’

यसकारण अड्कियो पुतलीसडक र चाबहिल–गौशालाको काम
चाबहिल–गौशाला सडकखण्डमा कहिले मेलम्ची त कहिले पुराना खानेपानीका पाइपले सडक खनिँदा वर्षाैँदेखि धूलाम्मे र हिलाम्मे रहँदै आएको छ।

भौतिक पूर्वाधार मन्त्रालय र खानेपानी मन्त्रालयले समन्वयमा संयुक्त टेण्डर निकाली खानेपानी र सडक दुवै निर्माणको ठेक्का दिएका थिए।

सोसँगै सडकमा खानेपानी पाइपको काम सकिएर कालोपत्रे सुरु हुनै लागेको थियो तर निर्माण सामग्री भएन। सामग्री लिन काभ्रे गएका टिप्परलाई त्यहाँको स्थानीयले अवरोध गरेपछि यी सडकको काम रोकिएको कार्यालयको भनाइ छ।

1Chabahil SankhuRoad Main image

कार्यालयले धादिङ लगायतका ठाउँबाट भए पनि सामग्री ल्याएर पिच गर्ने विकल्प खोजी गरे पनि नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्नको लागि सडक खन्न सुरु ग¥यो तर काम सकेन। सोही कारण सडक पिच हुन नसकेको नेपालीले बताए।

निमार्ण व्यवसायीले कहाँबाट पास ल्याउने भन्ने नै टुंगो नभएको भन्दै निर्माण सामग्री लिन गएका गाडीमा स्थानीयले तोडफोड समेत गरेको गुनासो गर्दै आएका छन्।

मन्त्रिपरिषदले निर्माणका कार्य अघि बढाउन दिने र जिल्ला प्रशासन कार्यालयले सहयोग गर्ने निर्णय पनि गरेको थियो। तर स्थानीयले विरोध गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सहयोग नगरेपछि सडक निर्माणमा त्यसको असर परेको छ।

पुतलीसडकमा भने उचित ढलको निकास नहुँदा सधैँ वर्षातको समयमा सडकभरी ढल फुटेर पानी बग्दै आएको छ।

पुतलीसडकमा भने उचित ढलको निकास नहुँदा सधैँ वर्षातको समयमा सडकभरी ढल फुटेर पानी बग्दै आएको छ। काठमाडौं सडक डिभिजन कार्यालयले लकडाउनको समयमा ट्राफिक चाप कम भएको भन्दै ढल निर्माण गरी सडक पिच गर्ने तयारीसाथ काम अघि बढायो। तर निर्माण सामग्री भएन।

‘पुतली सडकमा ढलको काम सकिएको छ। अब वर्षातमा समस्या हुँदैन’, कार्यालय प्रमुख नेपालीले भने, ‘पिच गर्नको लागि निर्माण सामग्री छैन।’

उनले तत्काल निर्माण सामग्रीको व्यवस्था हुनसके वर्षात्अघि नै चाबहिल–गौशाला र पुतली सडकखण्ड पिच गर्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .