ad ad

कारोबार


नेपालमा अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने

नेपालमा अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने

वसन्त अर्याल
साउन १, २०७७ बिहिबार १०:४८,

अन्तर्राष्ट्रिय उडान तत्काल सुरु नहुने भएको छ। नेपालले नियमित उडान सुरु गर्न लकडाउनअघि व्यावसायिक उडान भइरहेका देशले अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने हुन्छ।

तर त्रिभुवन विमानस्थलबाट नियमित उडान भइरहेका अधिकांश गन्तव्यमा नियमित उडानको लागि प्रतिबन्ध कायमै भएकाले नेपालले चाहेर मात्रै अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने देखिएको हो।

नेपालले साउन ७ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ। त्यसपछि पुनः म्याद थप हुने सम्भावना बढी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

‘अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने सम्भावना छैन’, मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले नेपालखबरसँग भने, ‘नेपालले मात्रै अन्तर्राष्ट्रिय उडान गर्छु भनेर हुँदैन। त्यसको लागि सम्बन्धित देश पनि नियमित उडान गर्न तयार हुनुपर्छ।’

विश्व स्वास्थ्य संगठनले कोभिड १९ को संक्रमण हवाइ यातायातको माध्यमबाट छिटो फैलिने निष्कर्षपछि नेपाल सरकारले ०७६ चैत ९ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि चार्टर्ड उडान भने गरिरहेको छ।

नेपालले सुरुमा नेपालमा अलपत्र परेका पर्यटक उद्धारको अनुमति दिएको थियो। त्यस्तै जेठ ३२ देखि विदेशमा अलपत्र नेपालीको उद्धार कार्य सुरु भएको थियो। मन्त्रालयले पछिल्लो समय साउन ६ गतेसम्म उद्धार उडानको तालिका सार्वजनिक गरेको छ। तर नियमित उडान कहिले खुल्ने निश्चित छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालबाट नियमित उडान भइरहेका अधिकांश देशले अन्तर्राष्ट्रिय उडानको लागि तयार नभएको बताएका छन्।

‘कतारले पहिलेदेखि अन्तर्राष्ट्रिय उडान खोलेको थियो। अहिले यूएईले पनि अन्तर्राष्ट्रिय उडान खोल्ने पत्र प्राधिकरणमा आएको छ’, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘यसबाहेक नेपालबाट नियमित उडान हुने अधिकांश गन्तव्यमा अझै खुलेको छैन।’

उनले पनि नेपालले नियमित उडान गर्छु भने पनि धेरै गन्तव्य मुलुक अझै तयार नभएको बताए।

‘धेरै मुलुकले अन्तर्राष्ट्रिय उडानको लागि तयारी गर्दै छन्। कसैले अहिले ट्रान्जिटको लागि मात्रै खोलेका छन् भने केहीले सीमित देशको लागि मात्रै नियमित उडान खोलेका छन्’, क्षेत्रीले भने।

त्यस्तै नेपाली वायुसेवा प्रदायक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सबै गन्तव्य मुलुक तयार नभएको बताएका छन्।

‘नेपालले उडान खोले पनि हाम्रो अधिकांश गन्तव्य मुलुकले नियमित उडान खुलेका छैनन्’, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हामी उडान गर्न तयार भएर मात्रै हुँदैन।’

छिमेकी मुलुक भारतले समेत कोभिड १९ को जोखिम रहेको भन्दै जुलाई ३१ सम्म अन्तर्राष्ट्रिय व्यावसायिक उडान नगर्ने बताएको छ।

कोभिड १९को जोखिम रहेको भन्दै अधिकांश देशले अगस्टसम्म विदेशी नागरिकका लागि प्रतिबन्ध लगाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार लकडाउनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान भर्दै आएका थिए।

यसमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सबैभन्दा बढी गन्तव्यमा उडान गर्दै आएका छन्।

हिमालय एयरलाइन्सले ३ वटा ३२० र एक ३१९ न्यारोबडीमार्फत दुवई, रियाद, आबुधाबी, दमाम, ढाका, दोहा, क्वालालम्पुर र बेइजिङमा नियमित उडान गर्दै आएको छ।

नेपाल एयरलाइन्सले दुई ए३३० वाइडबडी र दुई ए ३२० न्यारोबडीमार्फत भारतको दिल्ली, मुम्बाई, बैंगलरु, दोहा, हङकङ, क्वालालम्पुर, नारिता, दुवई, बैंककमा नियमित उडान गर्दै आएको छ।

त्रिभुवन विमानस्थलबाट लकडाउनअघि भारत, चीन, बंगलादेश, हङकङ, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, कुवेत, दक्षिण कोरिया, कतार, जापान, ओमान, सिंगापुर, टर्की, थाइल्यान्ड, भुटानमा नियमित उडान भइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .