ad ad

कारोबार


उडान खुल्ने भएपछि पर्यटन व्यवसायीको ध्यान चिनियाँ र भारतीय पर्यटकमा

उडान खुल्ने भएपछि पर्यटन व्यवसायीको ध्यान चिनियाँ र भारतीय पर्यटकमा

वसन्त अर्याल
साउन ६, २०७७ मंगलबार १२:३३,

सरकारले भदौ १ देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।

पर्यटन आवागमनको मुख्य आधार उडान भएकोले हवाइ सेवा सुचारू भएसँगै छिमेकी मुलुकबाट ठूलै संख्यामा पर्यटक भित्र्याउन सकिने आँकलन उनीहरूले गरेका हुन्। 

नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत शर्मा गुरागाईंले सरकारले उडान खोल्ने ‘राम्रो निर्णय’ गरेको बताए।

पर्यटन व्यवसायीका छाता संगठनले पनि आफ्नाे माग सरकारले सुनेको बताएका छन्। तर विदेशी पर्यटकलाई कोभिड १९को नेगेटिभ रिपोर्ट ल्याए १४ दिन क्वारेन्टिनमा राख्नु नपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूकाे भनाइ छ।

‘उताबाट नेगेटिभ रिपोर्ट ल्याएर आउने पर्यटकलाई दुई तरिकाले व्यवस्थापन गर्दा राम्रो हुन्छ’, गुरागाईंले नेपालखबरसँग भने, ‘हिमाल आरोहण गर्नेलाई पीसीआर नेगेटिभ भए क्वारेन्टिनमा राख्नुपर्दैन। काठमाडौं, पोखरा, चितवनजस्ता सहरी क्षेत्रमा घुम्ने पर्यटकका लागि २/३ दिन क्वारेन्टिनमा राखेर घुम्न दिनुपर्छ।’

ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदी पनि विदेशी पर्यटकलाई पीसीआर सर्टिफिकेट नेगेटिभ ल्याएपछि क्वारेन्टिनमा बसाउने व्यवस्था आवश्यक नभएको बताउँछन्।

‘विदेशी पर्यटकलाई पीसीआर सर्टिफिकेट नेगेटिभ आएपछि घुम्न दिनुपर्छ। क्वारेन्टिनको व्यवस्था गर्नुहुँदैन’, सुवेदीले भने, ‘क्वारेन्टिनमा राख्यो भने कोही आउन तयार हुँदैनन्। उडान खोलेर क्वारेन्टिनमा राख्ने भए यसको अर्थ छैन।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खोल्ने निर्णय गरेको छ। उडान सञ्चालन कसरी गर्ने भन्ने विषयमा प्रोटोकल (कार्यविधि) बनाउने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले कोभिड १९ नेगेटिभको प्रमाण पत्र ल्याए पर्यटकलाई नेपाल घुम्न दिइने बताइसकेका छन्।

‘अब हामीले मास (धेरै संख्यामा) होइन, गुणस्तरीय पर्यटक ल्याउनेतर्फ सोच्नुपर्छ’, मन्त्री भट्टराईले भने, ‘कोभिडको अवस्थामा नेगेटिभ रिपोर्ट ल्याउनेलाई घुम्न दिने प्रोटोकल बन्दै छ।’

उनले पर्यटक आउँदा कि रिपोर्ट ल्याएर आउनुपर्ने कि नेपाल आएर कोभिड चेक गरी नेगेटिभ रिपोर्ट आउनुपर्ने बताए।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले अन्तर्राष्ट्रिय उडान खुले पनि ‘फुल फेज’मा भने नखुल्ने बताए।

‘पहिलो चरणमा हामीले २० देखि २५ प्रतिशत मात्रै अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा रहेका छौँ’, उनले भने, ‘बाँकी प्रोटोकल नियमित उडान तालिकाको विषयमा मन्त्रालय छलफलमै रहेको छ।’

‘उकुसमुकुस भएका भारतीय र चिनियाँ पर्यटक ह्वात्तै बढ्छन्’
लकडाउनले उकुसमुकुस भएका भारतीय र चिनियाँ पर्यटक ह्वात्तै आउने व्यवसायीले दाबी गरेका छन्।

गोल्यान ग्रुपका अध्यक्ष तथा पर्यटन व्यवसायी पवन गोल्यानले जनवरीदेखि भारतीय र चिनियाँ पर्यटक ताँती लाग्ने बताए। उनले लकडाउनका कारण उकुसमुकुस भएका पर्यटक नेपाल आउने सम्भावना बढी रहेको दाबी गरे।

‘अब चीन र भारतका मानिसहरु १६/२० घण्टाको फ्लाइट लिएर युरोप, अमेरिका घुम्न जाँदैनन्’, गोल्यानले भने, ‘उनीहरुको अब एसिया बढी घुम्छन्। एसियाभित्र दुवई, थाइल्याण्ड, मलेसिया हो। त्यसपछि आकर्षण भनेको नेपाल नै हो। त्यसको फाइदा हामीले उठाउनुपर्छ।’

उनले भारत र चीनबीच तनाव भइरहेको अवस्थामा चिनियाँहरु भारत जान नरुचाउने र भारतीयहरु चीन जान नरुचाउने भएकाले नेपाल पहिलो रोजाइ हुनसक्ने बताए।

बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतले चीन र भारतबाट मात्रै १५ लाख पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरे। उनले कोरोनापछिको पर्यटन क्षेत्रलाई उत्साहका साथ अघि बढाउन सकिने बताए।

‘सरकारले पहिला काठमाडौं, पोखरा र चितवनलाई प्राथमिकता दिई योजना बनाउनुपर्छ’, बस्नेतले नेपालखबरसँग भने, ‘यी तीन क्षेत्रमा सबै पर्यटन व्यवसायीलाई सुरक्षित निर्देशिका पालना गराउनुपर्छ।’

लकडाउन खुलेसँगै आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने र यी क्षेत्र सुरक्षित रहेको सन्देश दिनुपर्ने उनले बताए। त्यसपछि चिनियाँ र भारतीय पर्यटकलाई नेपाल कोरोनाबाट सुरक्षित छ। सबै प्रोटोकल बनाई काम गरिरहेको छ भनेर प्रचार गर्नसके छिमेकी मुलुकबाट पर्यटक ल्याउन सकिने उनको दाबी छ।

उनले भनेजस्तै कोरोनाका कारण बाहिर निस्किन नपाएका चिनियाँ र भारतीय नागरिक ल्याउनसके नेपालको पर्यटन उद्योग छिट्टै पुनरुत्थान हुने निश्चित छ।

पर्यटन उद्योगीहरुले पनि सुरक्षाको विधि अपनाउँदै सस्तो प्याकेज घोषणा गर्नुपर्ने बस्नेतको भनाइ छ।

नाट्टाका अध्यक्ष गुरागाईं पनि पहिला आन्तरिक पर्यटन खुला गरेर छिमेकी मुलुकलाई आश्वस्त पार्न सक्नुपर्ने बताउँछन्।

‘उडान खुल्नेबित्तिकै नआउन सक्छन्, त्यसको लागि आन्तरिक उडान खुलेर हामी सुरक्षित छौँ भन्ने सन्देश दिनुपर्छ’, उनले भने।

टानका अध्यक्ष सुवेदी भने तत्कालै छिमेकी मुलुकका पर्यटक आउने मतमा त्यति आशावादी छैनन्। उनले भने, ‘छिमेकी मुलुक भारतमा अझै संक्रमण बढी रहेको छ, तत्काल पर्यटक आउने सम्भावना कम छ।’

यो पनिः
जनवरीदेखि नेपालमा चीन र भारतका पर्यटकको ताँती लाग्छ : पवन गोल्यान (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .