ad ad

कारोबार


हवाइ उडान ‘केही दिन’ पर सार्दै मन्त्रालय, भदौ १ कै तालिकामा उड्न कम्पनीहरु तयार

हवाइ उडान ‘केही दिन’ पर सार्दै मन्त्रालय, भदौ १ कै तालिकामा उड्न कम्पनीहरु तयार

वसन्त अर्याल
साउन २३, २०७७ शुक्रबार १०:३९,

सरकारले आउँदो भदौ १ देखि लामो दूरीका यातायात र हवाइ उडान खोल्ने निर्णय गरे पनि कोरोनाको संक्रमण दर वृद्धिसँगै यी विषय अन्योलमा परेका छन्।

पछिल्लो समय उपत्यकासँगै मुख्य सहरमा कोरोनाको संक्रमण दर उच्च हुनथालेपछि सरकारले लामो दूरीका यातायात र हवाइ उडान केही दिन पछि धकेल्ने विषयमा छलफल अघि बढाएको छ।

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडानमा लगाइएको प्रतिबन्ध भदौदेखि खोल्ने निर्णय गरेको थियो।

तर अब यसअघि तोकिएको मितिमा उडान खोल्न चुनौती थपिएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले केही दिन पर सार्ने विषयमा छलफल गरेका छन्। तर सरकारले कुनै निर्णय भने गरिसकेको छैन।

‘पछिल्लो समय कोभिड १९ को संक्रमण फैलिएसँगै हवाइ उडान के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल प्रसाद भट्टराईले नेपालखबरसँग भने, ‘अहिले कुनै निर्णय नभइसकेकाले उडान समय सर्छ कि सर्दैन भन्न सकिँदैन।’

उनले हवाइ उडानसम्बन्धी अन्तिम निर्णय सीसीएमसीमार्फत मन्त्रिपरिषदले गर्ने बताए।

मन्त्रालयले हवाइ उडानसम्बन्धी प्रोटोकल (कार्यविधि) बनाइरहेको मन्त्रालयका अर्का सहसचिव बुद्धिसागर लामिछानेले भदौ १ बाट उडान हुनुपर्छ नै भन्ने नभएको उल्लेख गरे।

‘मन्त्रालयले बनाइरहेको प्रोटोकल भदौ १ गतेबाटै उडान हुन्छ वा गर्नुपर्छ भनेर आउँदैन’, उनले उडान कार्यविधिबारे प्रस्ट्याउँदै भने, ‘उडान केही दिन पछि सरे पनि प्रयोगमा आउने प्रोटोकल बनाउँछौँ।’

मन्त्रालयले भदौ १ देखि उडान भए आन्तरिक तथा अन्तर्राष्ट्रिय २५ देखि ३० प्रतिशत मात्रै हुने जनाएको छ।

कम्पनीहरुले भाडा तोक्न थाले
हवाइ सेवा कम्पनीहरुले भने भदौ १ देखि नै उडान गर्ने योजना सार्वजनिक गरी प्याकेज तथा भाडादर घोषणा गरेका छन्। वायुसेवा कम्पनीले यात्रु भएको ठाउँमा सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उडानको लागि तयार रहेको बताइरहेका छन्।

‘हामीले भदौ १ देखि उडान गर्ने योजना बनाएका थियौँ। कोरोना संक्रमण बढेसँगै अन्योल बढेको छ’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘अहिले त भदौ १ नै उडान हुने भनिएको छ उडान नहुने भए सीसीएमसी वा मन्त्रिपरिषदले गर्ला।’

यति एयरलाइन्सले भदौ १ देखि उडान गर्नको लागि तयार रहेको तथा आफ्ना योजना सार्वजनिक गर्न बिहीबारको लागि तय भएको कार्यक्रम समेत स्थगित गरेको छ।

सरकारले बिहीबारबाट कोरोनाको जोखिम बढेको भन्दै जोरविजोर प्रणाली लागू तथा केही ठाउँमा निषेधाज्ञा जारी गरेपछि एयरलाइन्स कम्पनी अन्यौलमा परेका छन्।

बुद्ध एयरले भदौ १ देखि उडान गर्ने भनी एकतर्फी भाडादर समेत तोकिसकेको छ। कम्पनीले विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले समेत अहिलेको परिस्थितिमा लामो दूरीका यातायात र हवाइ उडान खुल्ने सम्भावना तत्काल नबनेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए।

खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्नेक्रममा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्ने बताएका थिए।

‘हामी सबै जनाको सल्लाहअनुसार निर्णय गर्नेछौँ। कतिपयले सधैँ बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ’, खतिवडाले भने, ‘यसबारे सीसीएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्नेछ र मन्त्रिपरिषद्मा पेश गर्नेछ।’

मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा अलपत्र परेका र उद्धार गर्नुपर्नेलाई ल्याउने तर तत्काल नआए पनि हुनेलाई केही समय धैर्य गर्न र परिस्थिति अति सहज हुँदासम्म पर्खिन आग्रह समेत गरेका थिए।

त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि दुई दिनअघि पत्रकार भेटघाट कार्यक्रममा कोरोना अहिलेसम्म नियन्त्रित नै रहेको बताएका थिए। उनले पनि पहिलेकै जस्तो सोलोडोलो लकडाउनमा जान नसकिने भन्दै भदौ पहिलो साता अब के गर्ने भन्ने योजना बनाएर आवश्यक निर्णय लिने बताएका थिए।

नेपालमा पछिल्ला केही दिनयता सक्रिय संक्रमितको संख्या बढिरहेका छन्। १ हप्ताअघि ४ हजार ७ सयसम्ममा झरेको सक्रिय संक्रमित दर फेरि बढेको हो। बिहीबार मात्रै यो दर ६ हजार नाघिसकेको छ।

याे पनि: 
बुद्ध एयरले सार्वजनिक गर्‍यो सात सहरको एकतर्फी भाडादर, कहाँको कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .