ad ad

कारोबार


तीन सय विद्युतीय बस खरिदको ‘स्पेसिफिकेसन’ तयार, चाँडै टेन्डर गर्छौँ : मन्त्री नेम्वाङ

तीन सय विद्युतीय बस खरिदको ‘स्पेसिफिकेसन’ तयार, चाँडै टेन्डर गर्छौँ : मन्त्री नेम्वाङ

वसन्त अर्याल
भदौ १५, २०७७ सोमबार ९:७,

सरकारले विद्युतीय बस सञ्चालनको लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्पेसिफिकेसनको काम सकेर टेन्डरको लागि तयारी गरिरहेको जनाएको हो।

सरकारले तीन सय विद्युतीय बस सञ्चालन गर्ने भन्दै ३ अर्ब बजेट समेत छुट्याएको थियो। सुरुमा साझा यातायातलाई विद्युतीय बस खरिद र सञ्चालनको लागि भन्दै ३ अर्ब उपलब्ध गराइएको थियो। तर साझाले स्पेसिफिकेसन बनाउँदै गर्दा केही विवाद भएपछि सरकारले ३ अर्ब पुनः फिर्ता लिई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बस खरिद गर्ने जिम्मा सुम्पिएको हो।

भौतिकमन्त्री वसन्त कुमार नेम्वाङले विद्युतीय बस खरिदको लागि टेन्डर प्रक्रियाको आन्तरिक काम सुरु भएको जानकारी दिए।

‘मन्त्रिपरिषदले मन्त्रालयलाई विद्युतीय बस खरिद गर्न जिम्मा दिएसँगै हामीले त्यसको अध्ययन गरी स्पेसिफिकेसन बनाउन समिति बनाएका थियौँ’, मन्त्री नेम्वाङले नेपालखबरसँग भने, ‘समितिले तयार पारेको स्पेसिफिकेसनमा छलफल चलिरहेको छ।’

नेम्वाङले कोभिड १९ को कारण द्रुतगतिमा काम गर्न नसके पनि अब छिट्टै टेन्डर आह्वान गर्ने बताए।

‘कोभिडको अवस्थाले हामीले छिटो काम गर्न सकेका छैनौं तर अब विद्युतीय बस खरिदको काम रोकिँदैन। टेन्डरको लागि आवश्यक तयारी भइरहेको छ। छिट्टै टेन्डर निस्किन्छ’, उनले भने।

यो पनि-
एक्कासि रोकियो साझाको तीन सय बिजुली बस खरिद, अध्यक्ष भन्छन्ः दुःखी छौं

मन्त्री नेम्वाङले भौतिक मन्त्रालय यातायात महाशाखाकी प्रमुख सहसचिव प्रमिला वज्राचार्यको संयोजकत्वमा समिति गठन गरेका थिए। उक्त समितिले विद्युतीय बससम्बन्धी स्पेसिफिकेसनको सूचना जारी गरेको थियो। जसमा भारत, चीन, युरोपका थुप्रै कम्पनीले आफ्ना बसको स्पेसिफिकेसन मन्त्रालयमा बुझाएका थिए। समितिले उक्त स्पेसिफिकेसन अध्ययन गरी रिपोर्ट तयार पारेको छ।

‘स्पेसिफिकेसनसम्बन्धी रिपोर्ट तयार पारी मन्त्रीज्यूलाई बुझाइसकेका छौँ’, समिति संयोजक तथा मन्त्रालयकी सहसचिव वज्राचार्यले भनिन्, ‘स्पेसिफिकेसन तयार गर्दा धेरैभन्दा धेरै प्रतिस्पर्धा होस् भन्ने किसिमले तयार पारेका छौँ।’

‘हामीले कुनै एउटा कम्पनी वा मोडललाई मात्रै मिल्ने गरी स्पेसिफिकेसन तयार बनाएका छैनौँ’, उनले भनिन्, ‘हामीले तयार पारेको स्पेसिफिकेसनमा चिनियाँ, भारतीय, युरोपियन वा अमेरिकन जुनसुकै कम्पनीले पनि प्रतिस्पर्धा गर्न पाउँछन्।’

उनले बढीभन्दा बढी प्रतिस्पर्धा होस् भन्ने ध्यानमा राखी स्पेसिफिकेसन तयार पारेको दाबी गरिन्।

वाग्मती प्रदेशले पनि विद्युतीय बस खरिद गर्दै
वाग्मती प्रदेशका सांसद दिपक निरौलाको संयोजकत्वमा गठित समितिले २०७६ चैतमा विद्युतीय सवारी सञ्चालन गर्ने स्पेसिफिकेसन तयार पारेको थियो। सोहीअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले स्पेसिफिकेसनअनुसार विद्युतीय बसको मूल्य माग गरेको छ।

यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव बहादुर भण्डारीले स्पेसिफेकसनअनुसारको मूल्य कति पर्छ, त्यो माग गरिएको बताए।

‘हामीले तयार पारेको स्पेसिफिकेसनअनुसार मूल्य माग गरेका छौँ। बस कम्पनीले पेश गर्ने मूल्यअनुसार ४० देखि ५० विद्युतीय बस खरिद गर्ने योजनामा छौँ’, उनले भने, ‘कुन बसको मूल्य कति पर्छ भन्ने स्पष्ट भएपछि त्यहीअनुसार टेन्डर प्रक्रियामा जान्छौँ।’

निर्देशनालयले दुई प्रकारका बसको लागि स्पेसिफिकेसन माग गरेको छ। ड्राइभरबाहेक ३४ जना यात्रु सिट भएको र २६ सिट भएको गरी स्पेसिफिकेसन माग गरिएको छ।

दुवै बसमा माइनस ५ डिग्रीदेखि अधिकतम ५० डिग्री तापक्रम र ३ हजार मिटर अल्टिच्युडमा चल्नसक्ने विद्युतीय बस हुनुपर्ने उल्लेख गरेको छ। ३४ सिट क्षमताको विद्युतीय बसको मोटर पावर १९५ किलोवाटभन्दा बढीको हुनुपर्ने र २५ सय एनएम टर्क जेनेरेट गर्नुपर्ने शर्त राखेको छ भने २६ सिट भएका विद्युतीय बसको १५० किलोवाट मोटर पावर र १७ सय एनएम टर्क जेनेरेट गर्नुपर्ने शर्त उल्लेख गरिएको छ।

बसमा प्रयोग हुने ब्याट्री लिथियम आयोन फोस्फेट हुनुपर्नेछ। ठूलाबसको ब्याट्रीको क्षमता २५० किलोवाट घण्टा, एक पटक फुल चार्ज गर्दा २०० किमिभन्दा माथि गुड्ने र साना बसको ब्याट्री क्षमता १६५ किलोवाट घण्टा र एकपकट चार्ज गर्दा २०० किमि नै गुड्नुपर्नेछ।

ठूला बसको स्पिड प्रतिघण्टा कम्तीमा ६५ किमि र साना बसको ८० किमि प्रतिघण्टा हुनुपर्नेछ। बसको वारेन्टी कम्तीमा ६ वर्ष वा ३ लाख किमि गुड्नसक्नेसम्मको हुनुपर्छ।

गाडीको चेसिस÷फ्रेम सरचना लामो समय टिक्ने, नेपालको जस्तो सडक वा ठाउँमा चलेको सर्टिफिकेट पाएको बस हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .