ad ad

कारोबार


लामो दूरीको यातायातको लागि छुट्टै कार्यविधिः ५० प्रतिशत यात्रु, ५० प्रतिशत बढी भाडा

लामो दूरीको यातायातको लागि छुट्टै कार्यविधिः ५० प्रतिशत यात्रु, ५० प्रतिशत बढी भाडा

वसन्त अर्याल
भदौ ३०, २०७७ मंगलबार १२:२६,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने भएको छ। मन्त्रालयले शुक्रबारसम्म लामो दूरीको यातायात सञ्चालन कार्यविधि बनाउने बताएको हो।

लामो दूरीको लागि कार्यविधि छुट्टै बने पनि सिट क्षमताको ५० प्रतिशत यात्रु बोकी ५० प्रतिशतसम्म बढी भाडा लिने व्यवस्था यथावत् रहने मन्त्रालयकी सहसचिव प्रमिला वज्राचार्यले नेपालखबरलाई जानकारी दिइन्।

‘हामीले व्यवसायीलाई छलफल गर्न भनेका छौँ। सोहीअनुसार तयारी पनि गरिरहेका छौँ’, यातायात महाशाखाकी प्रमुख समेत रहेकी वज्राचार्यले भनिन्, ‘५० प्रतिशत यात्रु बोक्ने गरी थप ५० प्रतिशत भाडा लिने व्यवस्था कायम हुन्छ।’

चैत ११ को लकडाउनपछि लामोदूरीको यातायात ठप्प छ। असार २५ देखि लकडाउन खुकुलो बनाउँदै सरकारले छोटो दूरीको सार्वजनिक यातायात चल्न पाउने व्यवस्था गरेको थियो। निषेधाज्ञा नभएको जिल्लामा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन्।

कोभिड १९ को जोखिम कायमै रहेको भन्दै सरकारले छोटो दूरीको यातायात साधनले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको थियो। यसमा यातायात व्यवसायीले थप ५० प्रतिशतसम्म भाडा लिनसक्ने व्यवस्था गरेको थियो।

मन्त्रिपरिषदले असोज १ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि कुन मोडालिटीमा गर्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ। मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने तर ५० प्रतिशत यात्रु र थप भाडाको व्यवस्था यथावत् राखिने बताएको छ।

‘लामो दूरीको लागि छुट्टै कार्यविधि आवश्यक छ। बीचमा यात्रु हाल्न पाउने कि नपाउने, यात्रुलाई खानाको व्यवस्था कसरी गर्ने भन्ने विषयमा कार्यविधि बन्छ’, वज्राचार्यले भनिन्।

उनले लामो दूरीका गाडीले ५० प्रतिशत यात्रुभन्दा बढी राख्न नपाउने र बीच बाटोमा यात्रु थप गर्न नपाउने गरी कार्यविधि बन्ने जानकारी दिइन्।

यातायात व्यवसायी भने अब यातायात कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफलमा छन्। अहिले सामान्य अवस्था नभएको र यात्रुको चाप बढी हुने हुँदा कसरी व्यवस्थापन गर्ने मुख्य पाटो रहेको व्यवसायीले बताएका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले ५० प्रतिशतको मापदण्डमा आफूहरु सवरी सञ्चालन गर्न तयार रहेको बताए।

‘अहिले मुख्य कुरा यात्रुको सुरक्षा हो’, कर्माचार्यले भने, ‘यातायात व्यवस्था विभागले यसअघि बनाएको कार्यविधिअनुसार सञ्चालन गर्नुपर्छ।’

उनले अहिले सार्वजनिक सवारीमा भरी यात्रु राखेर हिँड्नु जोखिम हुने बताए।

‘सवारी चालक, सहचालकसहित यात्रुको स्वास्थ्य जोखिममा राखेर हिँड्नुहुँदैन। आधा सिट क्षमताअनुसार नै यात्रा गर्नुपर्छ’, कर्माचार्यले भने।

सार्वजनिक यातायात एकपटक सञ्चालनमा अएपछि पुनः बन्द नहोस् भन्नको लागि सुरक्षा विधि अपनाउनु आवश्यक रहेको यातायात व्यवसायीको भनाइ छ।

उनीहरुले ६ महिनादेखि रोजीरोटी बन्द भएको भन्दै असोज १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थिए। सरकारले अनुमति नदिए पनि सबै गाडी सडकमा उतार्ने चेतावनी दिएका थिए।

सरकारले यातायत व्यवसायीलाई बैंकको किस्ता तिर्ने समय सारे पनि यातायात मजदुरको लागि कुनै राहतको प्याकेज ल्याएको थिएन्।

दुर्घटना र स्वास्थ्य जोखिमको अनुगमनः ट्राफिक प्रहरी
ट्राफिक प्रहरीले हरेक वर्ष यात्रुको सहताको लागि भन्दै दशैमा यात्रु साहायाता कक्ष स्थापना गरेको हुन्छ र चेक जाँच कडा बनाउँछ । यो वर्षको दशैमा भने ट्रफिक प्रहरीलाई सावरी दुर्घटना न्युनिकरणसंगै कोभिड १९ को जोखिको समेत अनुगमन गर्नुपर्नेछ।

ट्राफिक महाशाखाका प्रमुख भिम ढकालले सवारी दुर्घटना र कोभिड १९ को स्वस्थ्य मापदण्ड पालना सम्बन्धी अनुगमनमा बढी ध्यान दिनुपर्ने बताए।

‘सवारी दुर्घटना सहित यात्रु साहायता कक्ष मार्फत यात्रुलाई सेवा दिने गर्दै आएका थियौं,’ ढकालले भने ‘यो वर्ष कोभिडको जोखिम थमिएको छ। सवारी साधनले सरकारले बनाएको मापदण्ड पालना गर्यो गरेन कडा अनुगमन हुन्छ।’

उनले सामाजिक दुरी कायम नगर्ने जो कोहिलाई कारबाही गरिने बताए।

‘अहिले जोर विजोर प्रणाली छ। यो व्यवस्था उल्लंघन गर्ने दैनिक १ हजार बढी सवारी कारबाहीमा परेका छन्। लामो दूरीको यातायातमा पनि सरकारी मापदण्ड पालना गराउन लागि पछौं,’ ढकालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .