ad ad

कारोबार


‘पूर्ण क्षमतामा यात्रु बोक्न पाउने नियमले गाउँ–गाउँमा कोरोना पुग्ने खतरा’

‘पूर्ण क्षमतामा यात्रु बोक्न पाउने नियमले गाउँ–गाउँमा कोरोना पुग्ने खतरा’

वसन्त अर्याल
असोज २७, २०७७ मंगलबार ८:२९,

पछिल्लो समय सहरमा बढ्दै गएको कोभिड १९ संक्रमण दशैंको समयमा गाउँ–गाउँसम्म पुग्ने जोखिम बढेको छ।

यसअघि सार्वजनिक यातायातमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने निर्णयबाट सरकार पछि हटेसँगै थप जोखिम बढ्ने भएको हो।

सार्वजनिक यातायातमा पूर्णक्षमता विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारकै पूर्वनिर्णयको विरुद्ध हो। विश्व स्वास्थ्य संगठनले कोभिडबाट बच्न सामाजिक दूरी आवश्यक भएको बताउँदै आएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयसँगै सार्वजनिक यातायातमा सामाजिक दूरी कायम हुने सम्भावना टुंगिएको छ भने जोखिम बढेको छ।

सरकारले यातायात व्यवसायीको दबाबमा आएर पूर्णक्षमतामा यात्रु बोक्न दिने निर्णय गरेको हो। यातायात व्यवसायीले दशैंमा यात्रु नै नहुने भन्दै अग्रिम टिकट काट्न समेत तयार छैनन्। यात्रुको चाप नभएको अवस्थामा पनि सामाजिक दूरी कायम नगरी यात्रा गर्न दिनु सहरमा फैलिएको कोरोना गाउँ–गाउँसम्म पुर्याउनु भएको जनस्वास्थ्यविद् बताउँछन्।

यात्रुको अभावमा व्यवसायीले सबै बस सञ्चालन गर्न नसकेको बताउँदै आएका छन्। ५० प्रतिशत मात्रै यात्रु बोक्ने अनुमति हुँदा पनि यात्रु नपाएको गुनासो गर्ने व्यवसायीले शतप्रतिशत यात्रु कसरी पाउँछन्?

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अधिकांश यात्रु लकडाउनअघि वा लकडाउनको समयमा आफ्नो गाउँ फर्किएकाले यो दशैंमा यात्रुको चाप नहुने बताउँछन्।

‘अहिले चलिरहेको बसमा नै यात्रु पाउन सकिरहेका छैनौँ’, कर्माचार्यले नेपालखबरसँग भने, ‘दशैँको लागि यात्रु थप भए बस थप्न सक्छौँ। अहिले धेरै बस खाली नै बसेका छन्।’

सरकारले असोज १ देखि लामो दूरीका यातायातले ५० प्रतिशत थप भाडा लिई ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने निर्णय गरेको थियो। सोमबार (हिजो)को मन्त्रिपरिषदको निर्णयले पूर्णक्षमतामै यात्रु बोक्न पाउने र पुरानै भाडादर कायम हुने निर्णय गरेको छ। यसले यात्रुको भाडा घटे पनि स्वास्थ्य मापदण्ड उल्लंघन भएको छ।

जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले पूर्ण क्षमतामा यात्रा गर्न दिने निर्णय गलत भएको बताए। सरकारले गरेको निर्णय स्वास्थ्य मापदण्डविपरीत भएको उनको भनाइ छ।

‘सार्वजनिक यातायातमा पूर्ण सिट क्षमतामा चल्न दिने निर्णय गलत हो’, पाण्डेले नेपालखबरसँग भने, ‘एउटै परिवारकालाई सँगै बस्दा समस्या हुँदैन। फरक–फरक परिवारका एकै ठाउँमा बस्दा सुरक्षित हुँदैन।’

गाउँका वृद्ध उच्च जोखिममा
युवाहरु अवसरको लागि सहर पस्दा नेपालका अधिकांश गाउँमा वृद्धवृद्धाको बाहुल्य छ। सहरमा बसोबास गर्दै आएका युवा दशैं मनाउन गाउँ जाने गर्छन्। दशैंमा ठूला मानिसबाट टीका जमरासहित आशीर्वाद लिन यो वर्ष पनि गाउँमा जाने सम्भावना उतिकै छ।

अहिले काठमाडौं उपत्यकासहित मुख्य सहरमा कोभिड १९ को संक्रमित बढिरहेका बेला दशैंमा गाउँ–गाउँमा कोरोना पुग्न कसरी रोक्ने भन्ने विज्ञले चिन्ता जनाइरहेका छन्। तर गाउँ जानको लागि प्रयोग हुने सार्वजनिक यातायात पूर्ण सिट क्षमतामा सञ्चालन हुँदा कोरोना गाउँसम्म पुग्ने निश्चितजस्तै रहेको छ।

सरकार तथा विज्ञले गाउँमा गएर क्वारेन्टिनमा बस्न आग्रह गरे पनि दशैं आफन्तहरु भेला हुने चाड भएकाले क्वारेन्टिनमा बस्ने सम्भावना कम छ। अधिकांश त गाउँ गएको १ हप्ताभित्रै सहर फर्किनुपर्ने बाध्यता हुन्छ। यसो हुँदा कोरोना फैलिन सहयोग पुग्छ।

कोभिडको संक्रमण बढिरहेको र हस्पिटलमा बेड पाउन मुस्किल भइरहेको अवस्थामा वृद्धावस्थामा रहेका तथा दीर्घरोगीलाई कोरोना भए ज्यान जोगाउन मुस्किल हुने विज्ञहरुले बताइरहेका छन्।

दशैँमा के गर्ने ?
सरकार तथा जनस्वास्थ्यविद सकेसम्म दशैंमा जहाँ छौँ, त्यहीँबाट दशैँ मनाउन सबैलाई आग्रह गरिरहेका छन्। कोभिड १९ का कारण सहरमा कामविहीन भएका गाउँमा जोहो हुनेलाई यातायात सहजीकरण गर्नुपर्ने रवीन्द्र पाण्डे बताउँछन्।

‘सहरमा जागिर नपाएका गाउँमा जोहो हुने, शैंक्षिक संस्था बन्द रहेको अवस्थामा विद्यार्थी वा गाउँमा गएर लामो समय बस्नेलाई दशैंमा जान सहजीकरण गर्नुपर्छ’, जनस्वास्थ्यविद पाण्डेले भने, ‘सहरमा व्यवसाय वा जागिर गरिरहेका गाउँमा टीका लगाएर आइहाल्नेहरु यो बेला गाउँ जानुहुँदैन।’

उनले आफन्तसँग भेटघाट पछि पनि गर्न सकिने भन्दै आफ्नोसँगै आफन्तलाई कोरोनाबाट जोगाउन यात्रा गर्न नहुने बताए। अत्यावश्क भएर यात्रा गर्नुपरे स्वास्थ्य सुरक्षा पालना गर्न उनको आग्रह छ।

पाण्डेले सुझाव दिँदै भने, ‘सार्वजनिक यातायातमा सकेसम्म आफ्नो परिवारको बाहेक अरुसँग नबसौँ। हावा आउजाउको लागि गाडीका सिसा÷भेन्टिलेटर खुल्लै राखौँ। एन ९५ मास्कसँगै फेस भाइजरको प्रयोग गरौँ। यात्रामा बाहिरको खान नखाऔं आफैँले खाना लिएर जाऔँ।’

गाउँमा गएपछि कम्तीमा १० दिन क्वारेन्टिन बस्नुपर्ने सुझाव दिन्छन् उनी। पाण्डेले भने, ‘आफ्ना बुबा आमा/हजुरबा-हजुरआमासँग टाढै बसौँ। १० दिनसम्म ज्वरो आउने, रुघा खोकी लाग्ने, श्वासप्रश्वासमा कुनै समस्या आएन भने मात्रै परिवारसँग घुलमिल होऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .