ad ad

कारोबार


दसैंमा पनि यात्रुले भरिएनन् जहाज, भाडामा भने प्रतिस्पर्धा

दसैंमा पनि यात्रुले भरिएनन् जहाज, भाडामा भने प्रतिस्पर्धा

वसन्त अर्याल
कात्तिक ९, २०७७ आइतबार ७:२८,

कोरोनाको महामारीका बेला अन्य यात्राभन्दा सुरक्षित हुने विश्वास गरिएको हवाई यात्रामा पनि यात्रु नभएको वायुसेवा कम्पनीहरुले गुनासो गरेका छन्।

सहज अवस्थामा सप्तमीपछि हवाई यात्रामा एकदमै चाप हुने भए पनि यो वर्ष भने उक्त संख्यामा एकदमै कमी आएको उनीहरुले बताएका छन्। सामान्य अवस्थाको तुलनामा हवाई भाडा समेत कम रहेको र छोटो अवधिमै सुरक्षित यात्रा गर्न सकिने व्यवसायीले बताउँदै आए पनि यात्रु भने बढ्न सकेका छैनन्।

सडक मार्गबाट अघिल्ला वर्षको तुलनामा काठमाडौं उपत्यका छाड्नेको संख्या एक चौथाई मात्रै रहेका यातायात व्यावसायी तथा ट्राफिक प्रहरीले बताउँदै आएका छन्।

एयरलाइन्स कम्पनीले दशैंको समयमा समेत विमान भरिने गरी यात्रु नपाएको बताएका छन्।

यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले ८० देखि ९० प्रतिशतसम्म यात्रु पाएको बताए।

‘विगतका दसैंमा काठमाडौं उपत्यका छाड्दा जहाज अकुपेन्सी फूल हुँदैन भन्ने चिन्ता हुँदैन्थ्यो,’ प्रवक्ता बर्तौलाले भने, ‘यो वर्ष दसैंमा पनि यात्रु खोज्नुपर्ने अवस्था आयो।’

पहिले यात्रुले अग्रिम टिकट बुकिङ गर्थे तर यो वर्षको दसैंमा  जानै परे पनि १/२ दिन अघिमात्रै टिकट बुकिङ गर्ने गरेका छन्।

‘उपत्यका अथवा शहरबाट गाउँ जानेको संख्या नै कम रहेको छ। झन् शहर फर्कने त १०/२० प्रतिशत अकुपेन्सी पाउन मुस्किल रहेको छ। टीकाको दिन शहर फर्कन अलि बढी बुकिङ भएको छ,’ बर्तौलाले भने।

नेपालमा आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा भएको बुद्ध एयरले दसैंमा यात्रु पाउनै मुस्किल रहेको बताएको छ।

‘सप्तमीसम्म त अलिअलि यात्रु पाएका थियौं। सप्तमीपछि त यात्रु पाउनै मुस्किल भएको छ,’ बुद्ध एयरका बजार प्रबन्धक रुपेश जोशीले भने, ‘त्यो पनि एकतर्फी काठमाडौँबाट जाने मात्रै हुन, फर्कने यात्रु त नगन्य रहेका छन्।’

हवाई कम्पनीले दसैंको समयमा सार्वजनिक सडक यातायातभन्दा हवाई यातायात सुरक्षित हुने बताउँदै आएका थिए। हवाई कम्पनीले दसैंपछिको प्रि–बुकिङ पनि राम्रो नभएको बताएका छन्।

यति एयरलाइन्सले दैनिक २० उडान र बुद्ध एयरले ३५ उडान गरेको दाबी गरेका छन्। हवाई व्यवसायीले दसैंमा यात्रु नहुनुको कारण लकडाउनको समयमा अधिकांस आफ्नो घरमै रहेको र सरकारले सकेसम्म यात्रा नगर्न अनुरोध रहेको बताएका छन्।

अहिले दसैंपछिको प्रि–बुकिङ खासै राम्रो नभए पनि गाउँ गएका अधिकांश दशैं वा तिहारपछि शहर फर्कने हुँदा हवाई यात्री बढ्ने कम्पनीले विश्वास गरेका छन्।

हवाई भाडामा प्रतिस्पर्धा
हवाई कम्पनीले काठमाडौं–पोखरा १९ सय ९५ मै उडान गरिरहेका छन्। सामान्य अवस्थामा ८ हजार हवाई भाडा रहने काठमाडौं–धनगढी श्री एयरलाइन्सले ४२ सयमा र बुद्ध एयरले ४५ सयमा उडान गरेका छन्।

हवाई भाडामा एयरलाइन्सबीच प्रतिस्पर्धा हुँदा यात्रुको लागि भने फाइदा भएको छ। गत वर्षको दशैंमा ८ हजारसम्म भाडा रहेको काठमाडौं–विराटनगर अहिले २६ सयमै यति एयरलायन्स र बुद्ध एयरले उडान गर्दै छन्।

त्यसैगरी भैरहवाको भाडा पनि २६ सय रहेको छ। त्यसैगरी नेपालगन्जमा श्री एयरलाइन्सले ३५ सय र यति र बुद्धको ४ हजारमा उडान गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .