ad ad

कारोबार


यात्रुको पीसीआर रिपोर्ट फरक–फरक आउँदा नेपाल वायुसेवा निगमलाई करोडौँ नोक्सानी

यात्रुको पीसीआर रिपोर्ट फरक–फरक आउँदा नेपाल वायुसेवा निगमलाई करोडौँ नोक्सानी

वसन्त अर्याल
कात्तिक १९, २०७७ बुधबार ७:४९,

एकै व्यक्तिको पीसीआर रिपोर्ट फरक पर्दा वायुसेवा कम्पनीले आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ। अन्तर्राष्ट्रिय हवाइ यातायातका लागि अनिवार्य पीसीआर नेगेटिभ हुनुपर्ने मापदण्ड छ।

मापदण्डअनुसार सबै हवाइयात्रुले ७२ घण्टासम्मको पीसीआर रिपोर्ट देखाई हवाइ यात्रा गरिरहेका छन्। तर नेपालबाट नेगेटिभ रिपोर्ट देखाई गन्तव्यमा पुग्दा पीसीआर पोजेटिभ आउने गरेको छ।

विभिन्न देश तथा विमानस्थलले कोरोना पोजेटिभ भएको व्यक्ति बोकेर आउने एयरलाइन्सलाई प्रतिबन्ध लगाउने गरेका छन्। सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स)ले कोरोना संक्रमित भएका यात्रु बोक्दा हङकङ उडानमा प्रतिबन्ध लागेको छ।

हङकङले नेपाल एयरलाइन्समार्फत आएका यात्रुमा कोरोना देखिएको भन्दै पहिलोपटक अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो। लकडाउनका कारण लामो समय चार्टर्ड उडानमा मात्रै भर परेको निगमले हप्तामा नियमित ३ उडान हुने गन्तव्यमा प्रतिबन्ध लाग्दा करोडौँ गुमाएको छ।

तर एकपटक प्रतिबन्ध लाग्दा धेरै चासो नदिँदा निगमले २ वटा हङकङ उडान गरेपछि फेरि प्रतिबन्ध लागेको छ। हङकङले अक्टोबर २० देखि नोभेम्बर ३ सम्मका लागि दोस्रोपटक उडान प्रतिबन्ध लगाएको हो।

हङकङपछि दुवईको अन्तर्राष्ट्रिय विमानस्थलले समेत नेपाल वायुसेवा निगमले बोकेका यात्रुमा कोरोना देखिएको भन्दै सचेत हुन पत्र पठाएको छ। एयरलाइन्सले बारम्बार कोरोना संक्रमति ल्याए उडान प्रतिबन्धै लगाउनसक्ने उल्लेख गरेको छ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले भने एयरलाइन्सको कुनै कमजोरी नभएको बताए। उनले उड्डयन प्राधिकरण तथा नेपाल सरकारले बनाएको मापदण्ड पूर्ण पालना गरी उडान गरिरहेको बताए।

पौडेलले यात्रुको लापरबाही र ल्याबको कमजोरी हुनसक्ने बताए। नेपाल एयरलाइन्सले सरकारले तोकोका सबै ल्याबको रिपोर्टलाई मान्यता दिएको छ।

‘यात्रुहरु विदेश जाने भनेपछि कोरोना टेस्ट गराएर पार्टी वा घुम्न हिँड्दा हामीलाई समस्या भएको छ’, महाप्रबन्धक पौडेलले नेपालखबरसँग भने, ‘यात्रुसँगै ल्याबको कमजोरी पनि हुनसक्छ।’

पौडेलले संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयलाई हवाइ उडान प्रतिबन्ध लाग्नुको कारण यात्रु र ल्याबको कमजोरी रहेको जानकारी गराएका छन्।

जनस्वास्थ्यविदहरुले नेपाल सम्बन्धित देश तथा विमानस्थललाई हाम्रो कमजोरी सुधार गर्दै लैजान्छौँ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउँछन्। एयरलाइन्स कम्पनीले मात्रै सक्दैन भने सरकारको तर्फबाट प्रतिबद्धता जनाउने र आफ्ना कमजोरी सच्याउँदै उनीहरुको भनाइ छ।

नेपालमा नेगेटिभ विदेश पुग्दा कसरी पोजिटिभ?
जनस्वास्थ्यविद रविन्द्र पाण्डेले यसका विभिन्न पाटा रहेको बताए। उनले पीसीआर रिपोर्ट परीक्षण गर्ने समयसम्मको मात्रै ग्यारेन्टी गरेको हुने र त्यसपछि व्यक्तिले गरेका कार्यले नेपालमा र विदेशमा रिपोर्ट फरक आएको हुनसक्ने बताए।

बाहिर जानको लागि पीसीआर टेस्ट गराए भए पनि ३ दिनसम्म कोरोना नदेखाउन सक्छ। यस्तो अवस्थामा नेपालमा पीसीआर नेगेटिभ आउने गन्तव्यमा पुगेपछि पोजेटिभ आउने पनि हुनसक्ने उनले बताए।

अर्को अवस्था भनेको विमानस्थलमा सर्ने सम्भावना हुन्छ। त्यसैगरी जहाजभित्रै पनि सर्नसक्छ। विदेशबाट नेपाल आउने जहाजमा पनि उता नेगेटिभ देखिएको काठमाडौं आएर पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएको घटना पनि नभएका होइनन्।

‘चीनले आफ्नो देशमा आउने यात्रुलाई पीसीआर र एन्टीबडी दुवै रिपोर्ट ल्याउन भनेको छ। यो सबैभन्दा सुरक्षित विधि हो। एन्टीबडी टेस्ट गर्दा पहिला संक्रमण भएर ठीक भएको रहेछ भने पनि देखाउँछ। एन्टीबडी भएको मानिसले अरुलाई सार्दैन’, उनले भने।

पाण्डेले यात्रु वा एयरलाइन्सको कमजोरी मात्रै नभई ल्याबको समेत कमजोरी पनि हुनसक्ने बताए। उनले विदेशमा पीसीआर परीक्षणको विश्वसनीयता ९० देखि ९५ प्रतिशतसम्म रहँदा नेपालमा ७० प्रतिशत मात्रै रहेको बताउँछन्। उनले भने, ‘मुख्य तीन कुराले रिपोर्टमा फरक पार्छ। जसमा प्रयोग गर्ने किट, विधि, जनशक्ति नेपालमा कमजोर रहेको देखिन्छ।’

उनका अनुसार पीसीआर टेस्टमा धेरै कुराले प्रभाव पारेको हुन्छ। स्वाब कसरी लिएको छ, स्वाबलाई सुरक्षित राखी ल्याबमा लगेको छ कि छैन, ल्याबमा परीक्षण गर्नुपूर्व तापक्रम मेनटेन गरेको छ कि छैन भन्ने कुराले धेरै फरक पार्ने उनको भनाइ छ। परीक्षण गर्दा पनि साने लापरबाही गर्यो भने गलत रिपोर्ट आउने उनले बताए।

योसँगै कस्तो प्रकारको किट प्रयोग गरेको छ, त्यसमा पनि भरपर्ने उनी बताउँछन्। नेपालमा कुनै ल्याबले राम्रो किट प्रयोग गरिरहेका छन् भने कुनैले सस्तो खालको किट प्रयोग गरिरहेका छन्। ल्याबमा एकरुपमा छैन। त्यहाँको जनशक्तिमा एकरुपता छैन।

यस्ता समस्या समाधानको लागि सरकारले नियमित अनुगमन गरी विश्वसनीयता बढाउनुपर्ने उनको भनाइ छ।

हवाइ यात्रा गर्दा कसरी सुरक्षित रहने?
अन्तर्राष्ट्रिय संघ/संस्थाले हवाइ यात्रा सुरक्षित हुने बताइरहे पनि सुरक्षा मापदण्ड नअपनाए जोखिम बढ्ने पाण्डे बताउँछन्।

उनले सबैभन्दा मुख्य कुरा सरकार तथा एयरलाइन्सले बनाएको मापदण्ड पालना गर्ने नै रहेको बताए। सामान्य मास्कको सट्टा एन ९५ मस्क नै उपयुक्त हुन्छ। स्यानिटाइजर आफै बोक्ने गर्नुपर्छ। फेससिल्ड लगाउने गर्नुपर्छ। छोटो दूरीको यात्रामा भए केही पनि नखाने र लामो दूरीको यात्रा हो भने एकदमै छिटो खाने गर्नुपर्छ। मास्क जति धेरै समय खोल्यो कोरोना सर्ने जोखिम त्यति धेरै हुने बताउँछन्।

उनको सुझावअनुसार जहाजमा शौचालय प्रयोग गर्दा, कुनै डण्डी वा सिट छोइसकेपछि हात स्यानिटाइज गर्नुपर्छ। जहाजमा दूरी कायम गर्ने सम्भावना कम हुन्छ। जहाजमा सिटको डिजाइन जस्तो छ त्यति नै दूरी रहेको हुन्छ। जहाज खानै रहेको भए दुई जना एकै ठाउँ नबसेकै राम्रो हुन्छ। कसैलाई रुघाखोकी लागेको छ भने निको भएपछि मात्रै यात्रा गर्नु सबैको लागि राम्रो हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .