नेपालमा १० देशबाट मोटरसाइकल तथा स्कुटर भित्रिने गरेका छन्।
स्विट्जरल्यान्डदेखि अस्ट्रेलियासम्मका देशबाट नेपालमा दुईपांग्रे सवारीसाधन भित्रिएका हुन्।
यहाँ भित्रिने अधिकांश ब्रान्ड भारतीय बजारबाटै आयात हुन्छन्। नेपालमा तयारी अवस्थाका हुन् वा नेपालमै ल्याएर एसेम्बलिङ गर्ने ब्रान्ड उत्पादक कम्पनीबाटै सीकेडीको रुपमा भित्रिने गरेका छन्।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म ८१ हजार ७१० पेट्रोल इन्जिनका मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।
जसमा भारतीयसँगै चाइना, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फिनल्यान्ड, इन्डोनेसिया, मलेसिया, तान्जानिया, ताइवानबाट मोटरसाइकल भित्रिएका छन्।
८ महिनामा ८० हजार ७६३ वटा भारतीयबाटै आयात भएका छन्। नेपालमा बिक्री हुने सुजुकी, यामाहा जापानिज ब्रान्ड भए पनि भारतकै प्लान्टबाट आयात हुन्छन्।
भारतीय ब्रान्ड बजाज, टीभीएस, हिरो, होन्डाको दबदबा बढी छ। ताइवानबाट प्रिमियम बाइक हार्टफोर्ड, थाइल्यान्डबाट जीपीएक्सका विभिन्न मोडल भित्रिने गरेका छन्। पेट्रोल इन्जिनका दुईपांग्रेमा चिनियाँ उपस्थिति एकदमै कमजोर छ। मोटरहेड, जेनोट लगायत ब्रान्डको उपस्थिति छ।
विद्युतीय दुईपांग्रेमा चिनियाँ ब्रान्ड
नेपालमा भित्रिने विद्युतीय दुईपांग्रे मोटरसाइकल, स्कुटर र साइकलमा भने चिनियाँ उपस्थिति बलियो छ।
८ महिनामा १४ सय ९७ वटा विद्युतीय मोटर रहेका साइकल भित्रिएकोमा १४६६ चीनबाट मात्रै भित्रिएका छन्।
चीनबाट २ पांग्रे विद्युतीय स्कुटरका ब्रान्ड बढी नै भित्रिएका छन्। फागुनसम्म कुल ४ हजार ३०४ वटा विद्युतीय स्कुटर तथा मोटरसाइकल भित्रिँदा चीनबाट ३ हजार १०२ वटा आएका छन्।
गत वर्षसम्म भारतीय विद्युतीय दुईपांग्रेको उपस्थिति न्यून रहेकोमा अहिले बढ्दै गएको छ। भारतबाट १ हजार १२८ वटा स्कुटर तथा मोटरसाइकल भित्रिएका छन्।
नेपालमा एमभी दुगड ग्रुपले बिक्री गर्ने जिसिस्ट इलेक्ट्रक ब्रान्ड इन्डोनेसियाबाट आयात हुन्छ। ८ महिनामा कुल ७२ वटा इलेक्ट्रिक दुईपांग्रे नेपाल भित्रिएका छन्। त्यस्तै यूएईबाट २ वटा मोडल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
Shares
प्रतिक्रिया