हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दह्रिलो हुने भएको छ।
सीजी मोटर्ससँगको साझेदारीसँगै कम्पनीले नेपालमा आफ्नो व्यवसाय आक्रामक रुपमा अघि बढाउने भएको हो।
सीजीसँगको सहकार्यमा एसेम्बली प्लान्टको उद्घाटन गरेको कम्पनीले बजार विस्तारदेखि नयाँ उत्पादन ल्याउनेसम्मका योजना अघि सारेको छ।
हिरो मोटोकर्पले आइतबार नै आफ्नो आक्रामक व्यापार योजना घोषणा गरेको छ। कम्पनीले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सपल्स २०० ४भी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कुटर समेत बजारमा ल्याएको छ।
अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फेसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिनेछ।
यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ।
हिरोको नेपाल साझेदार सीजी मोटर्सले पनि बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दै छ।
सीजीसँगको सहकार्यबारे हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘नवीनता र प्रविधिको मूल मन्त्रलाई आत्मसात् गर्दै हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ।’
उनले यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण भएको बताए।
‘यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ’, उनले थपे, ‘सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ।’
साझेदार सीजी मोटर्ससँगै कम्पनी नेपालकेन्द्रित हुनुले नेपालप्रतिको हिरो मोटोकर्पको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने उनको भनाइ छ। नेपाललाई उनले कम्पनीको महत्त्वपूर्ण बजारका रुपमा प्रस्तुत गरे।
त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण भएको बताए।
‘हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ’, उनले भने, ‘हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ।’
अब सीजी मोटर्स देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुने बताए।
नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा छ। यसले उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्ने उनको भनाइ छ।
साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू निर्बाध रूपमा सम्बोधन गरिएको सुनिश्चित गर्ने चौधरीले बताए।
सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ। साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने जनाएको छ।
हिरो मोटोकर्प सन् २०१४ मा नेपालमा प्रवेश गरेको थियो। कम्पनीका सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरू नेपालमा रुचाइएका छन्।
कम्पनीका लागि एसियामा नेपाल एक प्रमुख बजार हो।
Shares
प्रतिक्रिया