ad ad

कारोबार


अटो सोमा एकैपटक ८ ब्रान्ड सोकेस गर्दै सीजी मोटर्स, कुन कम्पनीका कस्ता? (भिडिओ)


नेपालखबर
भदौ १० , काठमाडौँ

नाडा अटो सोमा सीजी मोटर्सले मात्रै ८ वटा ब्रान्डको सोकेस गर्दै छ।

चौधरी ग्रुपअन्तर्गतको कम्पनीले पहिलो पटक ३ वटा नयाँ ब्रान्ड नै अटो सोमा प्रस्तुत गर्नलागेको हो।

नेपालको अटोमोटिभ बजारमा अझै सुधार आएको छैन। अटो मोबाइल क्षेत्रमा विद्युतीय गाडी मात्रै ‘सर्भाइभ’ गर्न सक्ने अवस्थामा छ।

कोभिड महामारीअघि जति गाडी आउँथ्यो त्यसको २५ प्रतिशत कम नै गाडी आइरहेको व्यवसायी बताउँछन्। बजारमा बिक्री हुनेमा अधिकांश विद्युतीय गाडी नै छन्। 

‘अहिले नेपालीले पेट्रोल गाडी खरिद गर्न छाडिसके। नाडा अटो सोमा विद्युतीय गाडीको बुकिङ र बिक्री बढी हुनेछ’, सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाल भन्छन्, ‘नाडामा हुने बुकिङले नेपालको अर्थतन्त्रको अवस्थालाई समेत इंगित गर्नेछ।’

सीजी मोटर्सले अहिले धेरै ब्रान्ड होल्ड गरिरहेको छ। चाँडै ३१ लाख मूल्यबराबरका सबकम्प्याक्ट एसयूभीदेखि १ करोड ५० लाखसम्मका गाडी बिक्री गर्ने कम्पनी बन्दै छ। 

‘नेपाली ग्राहकले खरिद गरिरहेका विद्युतीय गाडीका सबै रेन्ज सीजी मोटर्ससँग उपलब्ध हुँदै छन्’, उनी भन्छन्, ‘सीजी मोटर्समा आउँदा विभिन्न मूल्य र ब्रान्डको विकल्प ग्राहकलाई दिन सक्छौँ।’

नाडा अटो सोमा कम्पनीले नेटाको एक्स मोडल लन्च गर्दै छ। जुन ३ भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ। सीजी मोटर्सले हाल नेटा भी मोडल बिक्री गर्दै आएको छ। 

त्यसैगरी, आयनको वाई मोडल नेपालमा बिक्री वितरण गर्दै आएको कम्पनीले नाडा अटो सोमै प्रिमियम एसयूभीको रुपमा भी मोडल सार्वजनिक गर्दै छ। बजारमा सार्वजनिक गर्दै छ। 

सीजी मोटर्सले प्यासेन्जर भेहिकलको लागि २० ठाउँमा चार्जिङ स्टेसन विस्तार गरिसकेको छ। अबको २ महिनामा अर्को २० ठाउँमा थप गर्दै छ। राजमार्गको हरेक ५०–६० किलोमिटरपछि एउटा चार्जिङ स्टेसन राख्ने योजना छ। कम्पनीले ५ वटा विद्युतीय गाडी बिक्री गर्दा एउटा चार्जिङ स्टेसन राख्ने लक्ष्य राखेको अग्रवाल बताउँछन्। 

‘कमर्सियल र प्यासेन्जर भेहिकलमा २०० बढी चार्जिङ स्टेसन छन्’, उनी भन्छन्, ‘चालू आर्थिक वर्षमा २५० स्थानमा थपसँगै नेपालको २० ठाउँ र काठमाडौं उपत्यकाको ३ ठाउँमा सर्भिस सेन्टर स्थापना गर्छौँ।’ 


 
३ वटा नयाँ ब्रान्ड
नाडा अटो सोमा एकै घरानाका ३ वटा नयाँ ब्रान्ड सोकेस गरिँदै छ। चौधरी ग्रुपका निर्वाण चौधरीले अटोमोबाइल्सको व्यवसायमा हात हालेसँगै आक्रामक रुपमा प्रस्तुत भएका छन्। 

नेटा ब्रान्डबाट अटो बजारमा प्रवेश गरेको सीजीले अहिलेसम्म ८ सय नेटा बिक्री भइसकेको जनाएको छ। 

कम्पनीले नाडा अटो सोमा ३ वटा मोडल सोकेस गर्दै छ भने अर्को नयाँ ब्रान्ड स्मार्टको थापाथलीमा सोरुम स्थापना गरिरहेको छ। कम्पनीका अनुसार केही समयपछि स्मार्टका मोडल पनि बजारमा ल्याउने तयारी छ। 

कम्पनीले एक्स्पेङ ब्रान्डमा जी ६ मोडल लन्च गर्दै छ। जुन १९० किलोवाटको मोटर भएको सुविधायुक्त गाडी हो। ४३५ किमि रेन्ज रहेको गाडीको नाडाबाट बुकिङ लिन सुरु गर्ने कम्पनीको भनाइ छ। 

चीनको प्रिमियम ब्रान्डको रुपमा देखिएको अवतार ब्रान्ड पनि सीजीले सार्वजनिक गर्दै छ। १ करोड ४५ लाख पर्ने गाडी नाडा अटो सोमा सार्वजनिक गर्नेछ। अवतार ११ मोडल कम्पनीले नेपालमा ल्याइसकेको छ। 

यसबाहेक विद्युतीय पिकअप गाडीको रिभाडा ब्रान्ड पनि सार्वजनिक गर्दै छ। गिल्ली अटोमोबाइल्सको उत्पादनको रिभाडा ग्राहकको छनोटमा पर्न सक्ने कम्पनीको विश्वास छ। 

कमर्सियल गाडीका २ ब्रान्ड
नेपालको कमर्सियल बजार हेर्दा सबैभन्दा बढी किङलङ र केवाईसीका विद्युतीय गाडी नै आयात भएका छन्। सीजी मोटर्सले ११ सिटेदेखि २५ सिटेसम्म कमर्सियल भ्यान वा बस प्रयोग गरिरहेको छ। नाडा अटो सोमा विभिन्न मोडल प्रदर्शनीमा राख्ने कम्पनीको तयारी छ।  

‘पेट्रोल डिजेलको तुलनामा विद्युतीय सार्वजनिक यातायात सञ्चालन खर्च कम लाग्छ। मर्मतसम्भार खर्च कम छ’, अग्रवाल भन्छन्, ‘काठमाडौंमा माइक्रो सञ्चालन हुँदा ५ देखि ६ हजारको डिजेल खर्च हुन्थ्यो। अहिले विद्युतीय गाडी सञ्चालन हुँदा ५०० देखि ७०० को बत्तीले पुगेको छ।’

विद्युतीय माइक्रोको खरिद मूल्य पनि कम, सञ्चालन खर्च ९० प्रतिशतसम्म सस्तो पर्ने र बैंक तथा वित्तीय संस्थाबाट ७० देखि ८० प्रतिशतसम्म ऋण पाइँदा ग्राहकले पनि राम्रो लाभ लिएको कम्पनीको भनाइ छ।  

दुईपांग्रेमा हिरोका नयाँ मोडल थपिने
सीजी मोटर्स आधिकारिक बिक्रेता भएसँगै पहिलो पटक हिरो ब्रान्ड नाडा अटो सोमा प्रस्तुत हुँदै छ। नेपालमै एसेम्बल उद्योग स्थापना गरी बिक्री सुरु कम्पनीले स्कुटर र मोटरसाइकल सोकेसमा राख्नलागेको छ।

कम्पनीका एक्सपल्स २००, स्प्लेन्डर र स्कुटरमा जुम ११० रहेका छन्। कम्पनीले एक्सपल्स ४ लाख ६० हजार र जुम स्कुटर २ लाख ५३ हजारमा बिक्री गरिरहेको छ। 

नाडा अटो सोमा २ वटा मोडल थप्ने कम्पनीको तयारी छ। 

‘हिरोको एक्सएमआर र एक्स्ट्रिम १५६ नाडा अटो सोमा आउने पक्का छ’, सीजी मोटर्सका प्रकाश देवकोटाले भने। 

भिडिओ

भदौ १०, २०८१ सोमबार ९:३०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .